प्रचण्डले राष्ट्रपतिसित बिन्ती बिसाए

Prachandaकाठमाडौं, ६ माघ । पार्टीभित्र अप्ठयारो परेको भन्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमतीय सरकार गठनको म्याद खुला गर्न राष्ट्रपतिलाई दबाब दिएको खुलासा भएको छ । स्रोतका अनुसार उनले राष्ट्रपति डा. रामवरण यादवलाई एक महिना कुर्न आग्रह गरेका छन् ।

विघटित संविधानसभामा प्रतिनिधित्व गरेका दलका नेताहरूको संयुक्त बैठकलगत्तै दाहालले मंगलबार राष्ट्रपति यादवलाई छुट्टै भेटेका थिए । भेटमा उनले निकासका लागि आफ्नो पार्टीको महाधिवेशनसम्म पर्खन आग्रह गरेको स्रोतले बतायो । नवौँ पटकसम्म दिएको समयसीमा असफल भएपछि राष्ट्रपतिले अन्तत: समयसीमा हटाएर आह्वान गरेका छन् ।
दाहालले अहिले नै प्रधानमन्त्रीलाई हटाउँदा पार्टीको महाधिवेशनमा आफूलाई अप्ठयारो पर्ने पिरलो राष्ट्रपतिलाई सुनाएका थिए । ‘महाधिवेशन सकिएपछि भट्टराई सरकारलाई विस्थापन गर्न मलाई कुनै समस्या हँुदैन,’ दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो । मंगलबारको सर्वदलीय बैठक सकिएपछि राष्ट्रपति यादव र अध्यक्ष दाहालबीच करिब १० मिनेट मात्रै छुट्टै भेटवार्ता भएको थियो ।
‘अहिले नै बाबुरामको बहिर्गमनका लागि पार्टीभित्र अप्ठयारो छ । सहमति गर्नुपर्छ भन्नेमा म छु तर त्यसका लागि महाधिवेशनसम्म पर्खनुपर्छ,’ दाहालले भनेका थिए, ‘बाबुराम पनि महाधिवेशनसम्म सरकारमै रहन चाहन्छन् । मलाई पनि त्यसपछि सजिलो हुन्छ । म्याद मात्रै थप्दा राष्ट्रपतिले पनि अपमानित महसुस गर्नुपरेको देखिन्छ ।’ उनले सहमतीय सरकार गठनको आह्वान प्रक्रिया भने जारी राख्न पनि राष्ट्रपतिलाई सुझाएका थिए ।
भट्टराई सरकारको बहिर्गमनका पक्षमा आफू लागे महाधिवेशनमा आफूविरुद्ध आफ्नै सरकार गिराएको अभियोग लाग्नसक्ने भएकाले आफ्नो बाध्यता बुझिदिन राष्ट्रपतिलाई दाहालले आग्रह गरेका थिए । ‘सहमतिको सरकार नबनाई नहुने र बाबुरामलाई नमनाई पनि नहुने अवस्थामा म छु,’ दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
दलहरूबीच सहमति हुनै लागिरहेका बेला भाँड्न खोज्ने विभिन्न पक्षहरू सक्रिय रहेकाले दलहरूबीच सहमति नहुन्जेल समयसीमा नतोक्न आफूहरूले राष्ट्रपतिलाई सुझाव दिएको दाहालनिकट नेता हरिबोल गजुरेलको भनाइ छ । ‘सहमति भयो–भयो भन्ने अवस्थामा पुगेपछि भाँड्न खोज्ने शक्तिहरू पनि सक्रिय हुने रहेछन्,’ गजुरेलले सौर्यसँग भने, ‘त्यसैले अप्ठयारो स्थिति पैदा गराएको हो ।’ उनले त्यस्तै अप्ठयाराका कारण कांग्रेस–एमाले केही दिनलाई पनि सरकारमा आउन नसक्ने भएका र आफ्नो पार्टी सरकारको नेतृत्व छोड्न नसक्ने अवस्थामा पुगेको बताए । ‘भाँड्न खोज्ने शक्तिहरूको क्रियाशीलताकै कारण एउटा गाँठो फुकायो अर्काे गाँठो पर्‍यो,’ गजुरेलले भने, ‘त्यही भएर दलहरूबीच सहमति नहुन्जेल प्रक्रियाको समयसीमा तोक्नुहुँदैन भनेका हौँ ।’
दाहाललाई जवाफमा राष्ट्रपति यादवले दलहरूको अप्ठयारो आफूले पनि बुझेको र दलहरूलाई अप्ठयारो पार्ने आफ्नो नियत नरहेको भन्दै सहमतिको विकल्प नभएकोमा जोड दिएका थिए । ‘म तपाईंलाई अप्ठयारो पार्दिनँ,’ राष्ट्रपति यादवको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर, सहमति नभएर स्थिति प्रतिकूल हुँदै गएको छ, निकासका लागि गम्भीर भएर प्रयास अगाडि बढाउनुहोला ।’
मंगलबार राष्ट्रपति यादवले समयसीमा नतोकी सरकार गठनको आह्वान जारी राखेका थिए । यसअघि उनले ८ मंसिरमा अन्तरिम संविधानको धारा ३८ (१) अनुरूप गरेको आह्वानको नौपटक गरी दुई महिनासम्म समयसीमा थप गरिएको थियो ।

प्रतिक्रिया