पाकिस्तानी प्रधानमन्त्रीलाई पक्राउ गर्न आदेश

इस्लामावाद : पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री रजा पर्भेज असर्रफलाई पक्राउ गर्न आदेश दिएको छ । ऊर्जासम्बन्धी परियोजनामा भ्रष्टाचार गरेको आरोपमा मुद्दा खेपिरहेका प्रधानमन्त्री असर्रफसहित १६ जनालाई पक्राउ गरी बुधबार अदालतमा उपस्थित गराउन अदालतले मंगलबार निर्देशन दिएको हो ।
‘पक्राउ गर्नुपर्नेको सूचीमा रहेका सबैलाई वरीयताको ख्याल नगरी पक्राउ गर्न मुख्य न्यायाधीशले निर्देशन दिनुभएको छ । पक्राउ पर्नुपर्ने व्यक्ति देशबाट बाहिरिएका खण्डमा नेसनल अकाउन्टेबिलिटीका प्रमुखसहित उनको अनुसन्धान टोलीलाई जिम्मेवार ठहराइने अदालतको आदेशमा जनाइएको छ,’ एक कानुन व्यवसायीले एएफपीलाई भने । यसअघि ऊर्जामन्त्री हुँदा असर्रफले भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर गरिएको थियो ।
सेना र न्यायपालिकाको चलखेल
यसअघि पाकितानका तत्कालीन प्रधानमन्त्री युसुफ रजा गिलानीलाई समेत अदालतले ‘अयोग्य’ घोषणा गरेपछि उनी पदमुक्त भएका थिए । त्यसलगत्तै सत्तारूढ पाकिस्तान पिपल्स पार्टी (पिपिपी)ले असर्रफका पक्षमा संसद्मा बहुमत जुटाएर उनलाई नयाँ प्रधानमन्त्री बनाएको थियो । राष्ट्रपति असिफ अलि जर्दारीमाथि लागेको भ्रष्टाचारको मुद्दा पुन: ब्युँताउन दिएको अदालतको आदेश अवज्ञा गरेर गिलानीले अदालतको मानहानी गरेको फैसला अदालतले सुनाएको थियो । अदालतले दोषी किटान गरेको व्यक्ति प्रधानमन्त्री पदमा रहन नसक्ने जनाउँदै अदालतले उनलाई पदमुक्त गरेको थियो ।
गिलानी र असर्रफ दुवैविरुद्ध अदालनले गरेको फैसलालाई पाकिस्तानमा न्यायपालिका र कार्यपालिकाबीचको द्वन्द्वका रूपमा बुझिएको छ । न्यायपालिकालाई पाकिस्तानी सेनाको साथ रहेको बताइन्छ । पाकिस्तानी सरकारसँग न्यायपालिका र सेना दुवैको सम्बन्ध सुमधुर नरहेको बताइन्छ ।
यसको संकेत प्रधानमन्त्री असर्रफले केही दिनअघि प्रजातन्त्र जोगाउन मुलुकवासीलाई आह्वान गरेर दिएका थिए । प्रजातन्त्रमाथि कोबाट संकट आइलागेको छ भन्ने प्रस्ट नखुलाए पनि उनको संकेत पाकिस्तानी सेनातर्फ रहेको अनुमान धेरैले गरेका थिए । पाकिस्तानमा सेना ज्यादै शक्तिशाली मानिन्छ र मुलुकको प्रतिरक्षा र विदेश नीतिमा सरकारलाई सेनाले डोहोर्‍याउने गरेको विश्वास गरिन्छ ।
अदालतले आदेश जारी गरेपछि प्रधानमन्त्री असर्रफका एक सहयोगीले सेना र न्यायपालिका सरकार गिराउने षड्यन्त्रमा लागिपरेको आरोप लगाएर सरकारसँग सेना र न्यायपालिकाको चिसो सम्बन्ध रहेको प्रस्ट पारेका छन् । प्रधानमन्त्रीका सहयोगी फवाद चौधरीले रोयटर्ससँगको कुराकानीमा पाकिस्तानको सेना र न्यायपालिकाले सरकारविरुद्ध चलखेल गरेको आरोप लगाएका हुन् । (एजेन्सी)

प्रतिक्रिया