अमेरिकी प्रतिरक्षामन्त्रीमा हेगेल

वासिंगटन : अमेरिकी राष्ट्रपति बाराक ओबामाले रिपब्लिकन पार्टीका पूर्व सिनेटर चक हेगेललाई नयाँ प्रतिरक्षामन्त्री नियुक्त गर्ने भएका छन् । राष्ट्रपति ओबामाले सोमबार ६६ वर्षीय हेगेललाई वर्तमान प्रतिरक्षामन्त्री लेयोन पनेटाको ठाउँमा मनोनयन गर्ने अमेरिकी आमसञ्चारले पुष्टि गरेका छन् । ओबामाले अमेरिकी गुप्तचर निकाय सिआइए प्रमुखको नाम पनि घोषणा गर्ने अपेक्षा गरिएको छ । सिआइए प्रमुख डेभिड पेट्रियससले राजीनामा दिएपछि माइकल मोरेलले कार्यबाहक निर्देशकको पद प्राप्त गरेका छन् । तर, ओबामाले सिआइए प्रमुखमा जोन ब्रेनानलाई नियुक्त गर्ने बताइएको छ ।
आगामी प्रतिरक्षामन्त्री हेगेल इजरायलप्रति बढी तथा इरानप्रति कम उग्र रहेको आरोप उनकै दलका कतिपयले लगाउने गरेका छन् । हेगेलले भियतनाम युद्धमा भाग लिएका थिए । उनले पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले आरम्भ गरेको इराक युद्ध सञ्चालनप्रति कडा प्रतिक्रिया जनाएका थिए । अमेरिकी संसद्को माथिल्लो सभा सिनेटमा राष्ट्रपति ओबामाको डेमोक्र्याट पार्टीको बहुमत छ । यसकारण उनले मनोनयन गरेका व्यक्ति अस्वीकृति हुने सम्भावना कम छ । (एएफपी)

प्रतिक्रिया