नयाँदिल्ली : भारतमा सामूहिक बलात्कारको सिकार भएकी एक छात्राका केटासाथीको अन्तर्वार्ता प्रसारण गर्ने हिन्दी भाषाको ‘जी न्युज च्यानल’माथि भारतीय प्रहरीले शनिबार अदालतमा मुद्दा दायर गरेको छ । प्रहरीका अनुसार अन्तर्वार्ताका कारण पीडितको पहिचान खुल्ने र यसबाट पीडितको परिचय गोप्य रहनुपर्छ भन्ने कानुनी व्यवस्था उल्लंघन भएको छ ।
अन्तर्वार्ता प्रसारण हुँदा केटासाथीको अनुहार राम्ररी देखाइएको थिएन । उनले डिसेम्बर १६ को रात आफ्नी प्रेमिकामाथि सामूहिक बलात्कार हुँदाको क्षणबारे समेत जानकारी दिएका थिए । सिनेमा हेरी सार्वजनिक बस चढेर घर फर्किने क्रममा उनकी केटीसाथी माथि बसभित्रै सामूहिक बलात्कार भएको थियो । बलात्कारपछि सिकिस्त भएकी उनको सिंगापुरमा उपचारकै क्रममा निधन भएको थियो ।
प्रहरी प्रवक्ता राजन भगतले भारतको अपराध संहिताको दफा २२८ (क) अनुसार जी न्युजमाथि मुद्दा दायर गरिएको र यो दफाले बलात्कारको घटनामा पीडितको पहिचान खुलाउन नहुने व्यवस्था गरेको जानकारी दिए । तर, ‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट’ले भने मुद्दा दायर नगर्न प्रहरीसँग आग्रह गरेको छ । (एएफपी)
प्रतिक्रिया