अखिलको केन्द्रीय कमिटी भंग गर्ने एमालेको निर्णय

काठमाडौं, २२ पुस । एमालेले पार्टीनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय कमिटी भंग गरी २१औँ राष्ट्रिय सम्मेलन आयोजक कमिटी गठन गर्न निर्देशन दिएको छ । तीन वर्षअघि भएको राष्ट्रिय सम्मेलनदेखि नै गुटबन्दी बढ्दै गएको अनेरास्ववियुको केन्द्रीय कमिटी भंग गरी वर्तमान अध्यक्ष माधव ढुंगेलकै संयोजकत्वमा राष्ट्रिय सम्मेलन आयोजक कमिटी गठन गर्न निर्देशन दिएको हो ।

शनिबार पार्टी मुख्यालयमा बसेको स्थायी समिति बैठकले अखिलको विवाद अध्ययन गर्न सचिव युवराज ज्ञवालीको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदन पारित गरेको छ । ‘अनेरास्ववियुको विवाद समाधान गर्न गठित कार्यदलले दिएको प्रतिवेदन बैठकले स्वीकार गरेको छ,’ कार्यदलका संयोजक तथा पार्टी सचिव ज्ञवालीले सौर्यसँग भने, ‘अब अनेरास्ववियुको विधानले तोकेको प्रक्रियाअनुरूप नै राष्ट्रिय सम्मेलन आयोजक कमिटी बन्नेछ र राष्ट्रिय सम्मेलन हुनेछ ।’ ज्ञवालीले छिटोभन्दा छिटो आयोजक कमिटी गठन गरी राष्ट्रिय सम्मेलन तोकिने जानकारी गराए ।
तीन वर्षअघि पार्टीमा चरम गुटबन्दी भएका बेला दुई प्यानलमा भएको निर्वाचनबाट केन्द्रीय कमिटी निर्वाचित भएदेखि नै अखिलमा तीव्र गुटबन्दी भएको थियो र दुई पक्षबीच झडप हुँदै आएको थियो । विवादकै कारण गत साउनमा तोकिएको विधान अधिवेशन पनि स्थगन भएको थियो । दुवै पक्ष भौतिक आक्रमणमा उत्रिन थालेपछि भदौमा पार्टी सचिव ज्ञवालीको संयोजकत्वमा कार्यदल बनेको हो । कार्यदलले राष्ट्रिय सम्मेलनबाट दुई अंकमा सीमित सानो आकारको केन्द्रीय कमिटी निर्माण गर्न सुझाव दिएको छ । वर्तमान केन्द्रीय कमिटी ३ सय ५४ सदस्यीय छ । अब बन्ने आयोजक कमिटीमा विदेश गएका र अनुशासनको कारबाहीमा परेकाबाहेक वर्तमान केन्द्रीय कमिटीका सबैलाई समेट्ने निर्णय एमालेले गरेको छ ।

प्रतिक्रिया