गजलमा नयाँ प्रयोग

भनिन्छ, अंग्रेजी कवि जोन किट्सले आफ्नो नाम पानीमा लेखेका छन् । पानीप्रतिको मोहभन्दा पनि जीवन जगतप्रतिको सूक्ष्म दृष्टि चेतनाका कारण त्यस उपाधिले किट्सको सम्मान गरिएको हुन सक्छ । यस्तैमा तरल तत्त्वले अनुप्राणित भई पानी भैँm तरंगित र उद्भासित स्वरमा नेपाली गजल लेखनमा सक्रिय बनी नाम र लेखनमा पानी शब्दलाई प्राञ्जल बनाउने युवा गजलकार जीवनपानीको ‘पानीमुनिको आकाश’ गजलसंग्रह प्रकाशित भएको छ । गजल आपैँmमा शृंगारिक, सौन्दर्यशील र लयात्मक विधा हो तापनि आज रदिफ, काफिया, बहर, तखल्लुसको सूत्रमा जेलिनुभन्दा अन्वेषण र सिर्जनाको परिधिमा नवीन मूल्य सम्प्रेण गर्न सक्नु स्रष्टाको महानता हो । समसामयिक युगमा युवा पुस्ताका जुझारु गजलकार जीवनपानीले नेपाली गजलमा जीवनपानीका फोहोराहरू(०५९), जीवनपानीका सुस्केराहरू(०६१), जीवनपानीका तरंगहरू
(०६३) लेखेर आफ्नो प्रतिभा सार्वजनिक गरेका छन् र यसै क्रममा उनको पानीमुनिको आकाश
(०६९) संग्रहले विज्ञानवादी दर्शनको परिवृतमा अर्थको विरोधाभास, अर्थबहुलता, प्याराडक्स, विपर्यास, विघटनजस्ता अनेकौँ मान्यता प्रतिपादन गरेको परम्पराभन्दा पृथक् संग्रह हो । यस कृतिका गजलहरूले माया प्रीतिभन्दा पृथक् कित्तामा उभिएर पूर्वीय शून्यवादका साथै पाश्चात्य संसारभित्रका माक्र्सवाद, डार्बिनवाद एवं फ्रायडवादका दार्शनिक मूल्यलाई सम्प्रेषण गरेका छन् र यसले गर्दा नेपाली पाठकमा गजल विधालाई बुझ्ने र पढ्ने फरक धारको विकास भएको छ ।
विज्ञान विषयका कुशल शिक्षक जीवनपानी आपैँmले यस संग्रहमा भावको परिधिभित्र प्रविधि र संरचनाको कुशल संयोजन गजल विधा भएको परिभाषित गरेका छन् । आज विज्ञान र ज्ञानको चापमा बाँचेको मानव संसारमा सुगा रटाइजस्तो शास्त्रीय र नीतिशास्त्र मात्र साहित्यको लेखनी होइन, त्यसमा शोधपरकता जरुरी छ । अंगेजी कवि टिएस इलियटले भनेजस्तै स्रष्टाले बनेको भन्दा बाटो बनाएर हिँड्छ भन्ने तर्क स्याङ्जाली गजलकार जीवनपानीको साहित्यिक यात्रामा पनि लागू हुन्छ । सरल, शालीन र सौम्य  स्वभावका जीवनपानीले नेपाली गजलकारितामा विविध गोरेटोको खोजी गरेका छन् ।
आज साहित्यमा परम्पराको एकत्वलाई विच्छेद गर्दै नयाँ केन्द्र जन्माउनु र त्यसमा युटोपियनको चेतना भर्नु स्रष्टाको कुशल शिल्प मानिन्छ । अझ विपरीत गुण तथा स्वभाव बोकेका शब्दलाई एकैस्थानमा जुधाएर अर्थलाई घुलनशील बनाई उच्चाटलाग्दो विशृंखल तहमा पाठकको मानिसकतालाई  पुर्‍याएर रन्थनाउने भंmकार सिर्जना गर्नु आजको लेखनी हो । त्यसमा विम्ब र प्रतीकका गुच्छा बान्की भएर बेरिन पुग्दछ, कतै दर्शन त कतै शैलीको आकर्षकले अभिव्यक्तिमा निखारता आउँछ । त्यस सौन्दर्यको मिठासले पाठक बाहिरी दुनियाँ छाडेर आपैँmमा चकोर हुन्छ र आनन्दमा निर्लिप्त हुन्छ । जीवनपानीले यस संग्रहमा मान्छेका लाचार नियतिलाई मार्मिक रूपमा वर्णन गरेका छन् । त्यसैले गजलकारले विवशताका गाँठा फुकाउँदै गुनासोको रूपमा भन्छन्,
आफ्नो मूल्य बताउने, अब भाउको पालो,
भाउसँग मूल्य सोध्ने, अब साउको पालो ।
समाज परिवर्तनको लागि गरिने विद्रोह र क्रान्तीको आधार र धरातल नभइ अडिन नसक्ने सारवस्तु युवा  गजलकार जीवनपानीले आक्रोश र उत्तेजनाबाट व्यक्त गरेका छन् । कुनै बखत व्यक्तिमा जैविक पक्ष हावी हुन्छ त कुनैबेला मनोविज्ञानका तरंगहरू । यस्तैमा हावा र उत्तेजनामा मग्न भई हुँकार देखाउने युवापुस्ताको मनोविज्ञानलाई समेटिएर भनिएको छ, जस्तै :–
पानीलाई बटारेर, डोरी बाट्छु भन्छ छोरो
आगोलाई उमालेर तातै चाट्छु भन्छ छोरो ।
जीवनपानी प्याराडक्सको शब्दशैय्यामा मच्चिएर आकाशलाई पानीमुनि हेर्न चाहने गजलकारको रूपमा यस कृतिमा स्थापित भएका छन् र त्यसैले उनले यस संग्रहको न्वारन ‘पानीमुनिको आकाश’ भनेर गरेका छन् । सरलतामा रम्नेहरू दर्शनको दोष देखाएर यस कृतिको पठनबाट वञ्चित होलान् तर नेपाली गजलमा विज्ञान र गणितका क्लिष्ट सूत्रलाई प्रयोग गर्ने सन्दर्भमा जीवनपानीको प्रयोग अभिनन्दनीय छ । यस पक्षलाई पछिल्ला पुस्ताले अनुकरण गरी हुर्काउन जरुरी छ ।

प्रतिक्रिया