देशभर तीन चलचित्र

काठमाडौं : शुक्रबार रिलिजको परम्परा धान्दै आज तीन नेपाली चलचित्र सार्वजनिक प्रदर्शनमा आउँदै छन् । चलचित्र हुन् ‘धरतीपुत्र’, ‘सुनगाभा’ र ‘आफ्नै मनलाई  सोधिहेर’ । यी तीन चलचित्र देशभर एकअर्कामा भिड्ने भएका छन् । ‘धरतीपुत्र’मा अमर ओलीको निर्देशन रहेको छ भने सुनगाभाका निर्देशक सुवर्ण थापा हुन् त्यस्तै ‘आफ्नै मनलाई सोधिहेर’ रमेशदर्पण पोखरेलको निर्देशनमा तयार भएको छ ।
नेताहरू सामाजिक जिम्मेवारी बिर्सिएर भ्रष्टाचारमा मात्रै लिप्त हुँदा बेरोजगारी समस्याले कसरी जरो गाड्छ र युवाहरू कसरी कुलतमा फस्छन् भन्ने कथावस्तु समेटेर चलचित्र निर्माण भएको छ– ‘धर्तीपुत्र’ ।
दिलीप रायमाझी, सुनील थापा, शूरवीर पण्डित, प्रेम खड्का, सञ्चिता गुरुङ, उषा खरेल, विक्रान्त बस्नेत, रेसम फिरिरी, विनय लामा आदिको अभिनय चलचित्रमा रहेको छ । केही महिना अगाडी नै प्रदर्शनमा आउने भनेर प्रचार–प्रसार गरिएको यस चलचित्रले बल्ल प्रदर्शनको पालो पाएको छ । चलचित्र प्रेम खड्का, सागर क्षेत्री र सीता क्षेत्रीले निर्माण गरेका हुन् ।
नेताहरूको आश्वासनमा परेर भौँतारिएका युवाबीच जब नेताको गलत चरित्रको पर्दाफास हुन्छ तब ती युवाशक्ति नेताहरूविरुद्ध कसरी खनिन्छन् भन्ने कथावस्तुलाई सन्देशमूलक ढंगले प्रस्तुत गरिएको निर्देशक ओलीले जानकारी गराए । अहिलेसम्म नेपाली चलचित्रमा प्रयोग भएको भन्दा फरक विषय चलचित्रको कथामा उडाइएकोले पनि आफ्नो चलचित्रले व्यवसाय गर्ने दाबी निर्देशक ओलीले गरे । अहिलेसम्म नेपाली चलचित्रमा प्रयोग नगरिएको बन्जी जम्प, प्याराग्ल्याइडिङ र अल्टालाइमा गरिएका द्वन्द्वसमेत समेटिएको छ ।
सुनगाभा दुई समलिंगी युवतीको प्रेम कथाको विषयमा आधारित चलचित्र हो । निशा अधिकारी र दिया मास्के, सौगात मल्ल, वसुन्धरा भुसाल र लक्ष्मी गिरीलगायतले चलचित्रमा प्रमुख भूमिका निर्बाह गरेका छन् । विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलहरूमा सहभागिता जनाइसकेको यस चलचित्रले क्युएफएक्स, बिग, केएलटावरलगायत स्टेशनहरू पाएको छ । अधिकांश प्राविधिक टोलीफ्रान्सेली रहेको यो चलचित्रको छायाँकार सारा कोर्नू हुन् भने संगीत सिल्भाामोरिजे र कुटुम्ब ब्यान्डको रहेको छ । चलचित्रलाई नेपालमा आइकोर फिल्मस् र नरेन्द्र महर्जनले वितरण गर्न लागेका हुन् ।
यस्तै ‘आफ्नै मनलाई सोधी हेर’ आरती इन्टरनेसनल फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको छ ।  निखिल उप्रेती, सुरज आरडी, राज तिमल्सिना, शोभिता सिम्खडा, जिया केसीलगायतको अभिनय चलचित्रमा रहेको छ । चलचित्रका निर्देशक रमेश
पोखरेल यसै चलचित्र मार्फत निर्देशन डेब्यु गरेका हुन् ।
चलचित्रमा बसन्त सापकोटाको संगीत, रामेश्वर कार्कीको छायांकन , शिव विकको नृत्य निर्देशन रहेको छ भने द्वन्द्व निर्देशन शंकर महर्जनले गरेका छन् । चलचित्र माया प्रेममा आधारित रहेर निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । (सौस)

प्रतिक्रिया