म्यानमारमा विद्रोहीमाथि हवाई कारबाहीप्रति आपत्ति

न्युयोर्क : म्यानमार सेनाले मुलुकको उत्तरी राज्य काचिनका सशस्त्र आदिवासी विद्रोहीविरुद्ध हवाई कारबाही तीव्र पारेपछि राष्ट्रसंघ र संयुक्त राज्य अमेरिकाले यसप्रति आपत्ति जनाएका छन् । म्यानमार सरकारले काचिन स्वतन्त्र सेना (केआइए)लाई लक्षित गरी हवाई कारबाही जारी राखिएको बुधबार औपचारिक रूपमा स्वीकार गरेपछि राष्ट्रसंघ र अमेरिकाले यसप्रति आपत्ति जनाएका हुन् ।
हेलिकोप्टर र फाइटर जेट प्लेनमार्फत म्यानमार सेनाले केआइएका लडाकुलाई लक्षित गरी काचीन क्षेत्रमा विगत पाँच दिनदेखि कारबाही जारी छ । चीनसँगको सीमासँग जोडिएको क्षेत्रका विद्रोहीमाथि कारबाही गरिएको हो ।
राष्ट्रसंघ महासचिव बान कि मुनका प्रवक्ताले एक विज्ञप्ती जारी गरी भनेका छन्, ‘(आक्रमणसम्बन्धी) सार्वजनिक भइरहेका रिपोर्टको हामीले अनुगमन गरिरहेका छौँ । महासचिवले म्यानमारका अधिकारीसमक्ष सो क्षेत्रका सर्वसाधारणको जीवन खतरामा पार्ने अथवा सो क्षेत्रमा द्वन्द्व चर्काउने क्रियाकलापबाट पछि हट्न आग्रह गर्नुभएको  ।’ सेना–विद्रोही द्वन्द्वबाट यसअघि नै ठूलो संख्यामा स्थानियवासी विस्थापन भइसकेको र विस्थापितलाई मानवीय सहयोगको आवश्यकता रहेको समेत विज्ञप्तीमा उल्लेख छ । न्यायपूर्ण र दिगो परिणाम निम्त्याउने आधार तयार पर्न महासचिव मुनले सबै पक्षलाई राजनीतिक मेलमिलापका लागि आग्रहसमेत गरेका छन् ।
जारीसैनिक आक्रमणबाट जातीय विवाद अन्त्य हुनुको सट्टा झनै बल्झिने भन्दै महासचिव मुनले आक्रमण तत्काल बन्द गर्न आग्रह गरेका छन् । सन् २०११ को जुनदेखि काचिन प्रान्तमा भिडन्त हुँदै आएको छ । यसबाट करिब ७५ हजार स्थानीयवासी विस्थापित भएको अनुमान गरिएको छ ।
त्यसैगरी अमेरिकाले समेत म्यानमारमा हिंसा भड्किएको भन्दै यसप्रति चिन्ता व्यक्त गरेको छ । वार्तामार्फत समस्या समाधान गर्न उसले दुवै पक्षसँग आग्रह गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी विदेशप्रवक्ता भिक्टोरिया नुल्यान्डले भने, ‘म्यानमारमा हिंसा बढेको अवस्थाले हामीलाई चिन्तामा पारेको छ । हामी बर्मा र काचिन स्वतन्त्र संगठन (केआइएको राजनीतिक विभाग)लाई द्वन्द्व रोकेर वास्तविक वार्ता आरम्भ गर्न आग्रह गर्छौं ।’
यसअघि म्यानमार सरकारले विद्रोहीमाथि हवाई आक्रमण गरिएको अस्वीकार गर्दै आएको थियो । तर, काचिन प्रान्तमा सेनाको आपूर्ति मार्ग रोक्ने विद्रोही लडाकुलाई लक्षित गरी कारबाही जारी राखिएको बुधबार जनाएको थियो । सरकारी सेना र विद्रोहीबीच भिडन्त हुँदा गतवर्ष सो क्षेत्रबाट हजारौँ मानिस विस्थापित भएका थिए । चीनसँगको सीमा नजिकै पर्ने पहाडबाट विद्रोहीहरूलाई धपाउन सेनाले हवाईजहाज प्रयोग गरेको म्यानमारको राज्य सञ्चालित म्यानमार समाचार एजेन्सीले जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया