मलालाका बुबालाई लन्डनमा जागिर

लन्डन : तालिबानीको आक्रमणमा परी घाइते भएर हाल बेलायतमा उपचार गराइरहेकी पाकिस्तानकी बाल अधिकारवादी १५ वर्षीय मलाला युसाफजाईका बुबालाई पाकिस्तान सरकारले बेलायतमै रोजगारीको प्रबन्ध मिलाइदिएको छ । मलालाको गत महिनादेखि बर्मिङ्घमको क्वीन एलिजावेथ अस्पतालमा उपचार भइरहेको छ । उपचारका क्रममा उनका बुबा पनि त्यहाँ बस्नुपर्ने भएकोले उनलाई लन्डनमै जागिरको प्रबन्ध गरिएको पाकिस्तान सरकारले जनाएको छ ।
प्राप्त समाचारअनुसार उनका बुबा जियाउद्दिन युसाफजाईलाई पाकिस्तान सरकारले वर्मिङ्घममा रहेको पाकिस्तानी कन्सुलेट अफिसमा शिक्षा सहचारीको जागिर दिएको छ । मलालालाई पाकिस्तानमा बालिका शिक्षा र महिला अधिकारका पक्षमा वकालत गरेको भन्दै तालिबानीले अक्टोबर महिनाको पहिलो साता पेसावरमा गोली हानेका थिए । टाउकोमा गम्भीर चोट लागेको उनलाई पाकिस्तानमै उपचार गरिएको थियो । तर, त्यहाँ निको नभएपछि पाकिस्तान सरकारकै खर्चमा उनलाई उपचारका लागि बेलायत लगिएको थियो । गत अक्टोबरमा बेलायत लगिएकी उनको उपचार जारी छ । चिकित्सकका अनुसार बालिकाको स्वास्थ्यमा सुधार आएको छ ।
जियाउद्दिनलाई सुरुमा तीन वर्षको कार्यकाल दिइएको छ । ‘उनको कार्यकालमा अरू दुई वर्ष थपिन पनि सक्छ,’ पाकिस्तानको विदेश मन्त्रालयका एकजना अधिकारीले भने । सानै उमेरदेखि बालिका शिक्षाको वकालत गर्दै आएकी मलालाले सन् २००९ देखि पाकिस्तानमा बालिका शिक्षा र महिलाअधिकारका बारेमा वकालत गर्दै आएकी छिन् । (एजेन्सी)

प्रतिक्रिया