सन् २०१२ मा पर्यटक आगमन उत्साहजनक नदेखिनुको कारण के होला ?

पर्यटन आगमन उत्साहजनक नहुनुको प्रमुख कारण पर्याप्त पूर्वतयारीविना मनाइएको ‘पर्यटन वर्ष २०११’ राष्ट्रिय अभियान हो । अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रचारप्रसार नै हुन सकेन । पर्यटकको उद्गमस्थलसम्म नेपालको प्रचारप्रसार गर्न बिबिसी, सिएनएनजस्ता सञ्चारमाध्यममा विज्ञापन गर्न सक्नुपथ्र्यो । सार्वजनिक खरिद ऐनलगायत अन्य ऐन कानुनले गर्दा समयमा यो काम हुन सकेन र यसको असर पर्यटक आगमनमा देखियो । अर्को कारण प्रतिस्पर्धा पनि हो । नेपालको प्याकेज महँगो हुँदै गइरहेका कारण पर्यटकले विकल्प खोज्न थालेका छन् । त्यसमाथि भारत, चीन, भुटान, श्रीलंकालगायतले आक्रामक रूपमा आफ्नो मुलुकको मार्केटिङ गर्छन् । थुप्रै देशले २०१२ मै ठूलो धनराशि खर्च गरेर पर्यटन अभियान चलाए । यसको असर नेपालको पर्यटन बजारमा पनि देखियो । एसियाली मुलुकका पर्यटक केही बढे पनि युरोपियन पर्यटक उल्लेख्य रूपमा बढ्न सकेका छैनन् । युरोपियन मुलुकहरूसम्म नेपालको सिधा हवाई सम्पर्क नभएका कारण झन्झटिलो यात्रा गरेर पर्यटक आउन नचाहेका हुन् । हवाई सेवा सहज बनाउन सक्ने हो भने बढी खर्च गर्ने पर्यटक नेपाल ल्याउन सकिन्छ ।

प्रतिक्रिया