कांग्रेस–एमालेद्वारा अस्वीकार

काठमाडौं, १९ पुस । प्रधानमन्त्रीले विकल्पका रूपमा स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बनाउन सकिने प्रस्ताव गरेलगत्तै बसेको नेपाली कांग्रेस र एमालेको बैठकले सो प्रस्तावलाई अस्वीकार गरेको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाले नेता माधवकुमार नेपालसँग बुधबार स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बनाउन सकिने विकल्प अघि सारेका थिए ।
कांग्रेस मुख्यालय सानेपामा बसेको कांग्रेस र एमालेको शीर्ष बैठकले उक्त प्रस्तावलाई चुनाव र सहमति नगरी सत्ता लम्ब्याउने एमाओवादी षड्यन्त्र भएको निष्कर्ष निकालेको हो । राष्ट्रपतिले सातौँपटक दिएको समय सकिँदासम्म एमाओवादी सहमति जुटाउन अग्रसर नभएको निष्कर्ष निकाल्दै बैठकले दुई दिनमा सहमति नभए आन्दोलनमा जानुपर्ने विषयमा समेत छलफल गरेको छ । कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमै सहमतीय सरकार गठन गरी वैशाखमा चुनाव गर्नुपर्ने पनि दुई पार्टीको माग छ ।
बैठकपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादीले चुनाव र सहमति दुवै नचाहेको भन्दै बाँकी तीन दिनमा खुलस्त छलफल गर्ने बताए । ‘एमाओवादीले चुनाव अल्मल्याउन खोजेको छ,’ नेता नेपालले सञ्चारकर्मीसँग भने, ‘अब बाँकी तीन दिनमा चुनाव र सहमतिको सरकार गठनका विषयमा एमाओवादी र अन्य दलसँग खुलस्त छलफल गर्छौं ।’
वैशाखसम्म चुनाव गर्नुको विकल्प नभएको भन्दै कांग्रेस नेता अर्जुननरसिंह केसीले एमाओवादी नै सहमतिका लागि तयार नरहेको आरोप लगाए । ‘हामीले वैशाखमै चुनाव गर्नुपर्छ भन्दै सहमतिको सरकारमा जोड दिएका छौँ,’ नेता केसीले सौर्यसँग भने, ‘अनेक बहानामा एमाओवादी सहमतिमा बाधक बनिरहेको छ ।’
बैठकमा एमाओवादी सहमतिको बाधक भएकोमा सबैको एकमत रह्यो । एमाओवादी सहमतिका लागि तयार नभएपछि संघर्ष गर्नुको विकल्प नभएकोमा छलफल भएको थियो । यद्यपि, राष्ट्रपतिले दिएको बाँकी दुई दिनको समय–सीमामा अन्य दलसँग छलफल गरी सहमति जुटाउन प्रयत्न गरिने जानकारी केसीले दिए ।
बैठकमा कांग्रेसका तर्फबाट सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए । त्यस्तै, एमालेबाट अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेता सहभागी थिए ।

प्रतिक्रिया