बिग्रँदो राजनीतिप्रति राजनीतिक उदासीनता

भागवत् गीतामा कृष्णले म सबै प्राणीको पिता हुँ भनेका रहेछन् । त्यो कतिसम्म सत्य हो कृष्णलाई नजिकबाट जानेका धर्मभीरुले मात्र बताउन सक्लान् । मानवीय सभ्यताबाट च्यूत भएको यस्तो छाडा समाजमा हुर्केबढेकाले कृष्ण को हुन् र कस्ता थिए सायद उनलाई बुझ्न मेरो योग्यताले भ्याउँदैन । दलका नेताहरूले विदेशीका आडमा राष्ट्र र नेपाली जनताका माझमा आफूलाई कृष्णकै अर्को अवतारका रूपमा उभ्याउने चेष्टा मात्र गरेनन् आफूलाई जबर्जस्त सबैको पिता ठान्ने ठूलो भुल गरे । हाम्रा पुर्खाहरूले राष्ट्र र राज्यको कल्पना गरेर त्यतिबेला आफ्नो चरित्रका आधारमा यो देश निर्माण गरे । सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्दै, छिमेकीहरूका बीचमा शान्तिप्रिय नेपाली जनताको देश भनेर चिनाउने काम गरे । बाह्य आक्रमणबाट राष्ट्रलाई जोगाए । विदेशीहरू नेपाल आउँदा आफ्नो र हाम्रो इज्जतको ख्याल गर्ने गर्थे । नेपालका राष्ट्र प्रमुख र नेताहरू विदेश जाँदा त्यही प्रकारको सम्मान पाउने गरेका थिए । पुर्खाले आर्जेको सभ्यता हाम्रो सम्पत्ति थियो । विडम्बना, हाम्रा दलका नेताहरूले त्यो सभ्यता र संस्कारलाई जोगाउनु आवश्यक ठानेनन् ।
नेताहरूले राष्ट्रको समृद्धिसहित जनताको सम्मान हुने र आफूलाई पनि कम सास्ती हुने राजनीतिक व्यवस्था छान्न सकेनन् । आफैँ अस्थिर र तातो तावामा नाच्ने नेताले जनतालाई शान्तिपूर्वक बाँच्न दिँदैन र आफू पनि बाँच्न सक्दैन । यो कुनै कालखण्डको उखान टुक्का होइन, आजको हाम्रो यथार्थ हो । नेपाली जनतालाई छाना, माना र नानालगायतको उचित व्यवस्था नगर्ने विगतका शासकहरूलाई सराप दिएर मात्र अब क्रान्तिकारी बन्न सकिँदैन । छिमेकीले हामीलाई थिचोमिचो गर्ने हुनाले त्यसविरुद्ध बोल्ने राजनीतिक शक्ति र व्यक्तिहरू देशभित्र नेताका रूपमा हलक्कै हुर्कनु र बढ्नु स्वाभाविकजस्तै हो । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरुद्ध लड्न जनतालाई उक्साउने कथित क्रान्तिकारीहरूको हेडक्वार्टर दिल्लीमै भएपछि यो राष्ट्र कति स्वाधीन रहेछ, अथवा भोलि कसरी स्वाधीन रहन सक्ला जनताले नबुझे पनि देशभक्तका रूपमा बाँचेको सानो बौद्धिक तप्काले सायदै बुझेको होला । राजनीतिमा कस्तो चरित्रको मानिस छान्ने भनेर नेपाली जनताले बुझ्न अझै ५० वर्ष लाग्न सक्छ ।
निरन्तर क्रान्ति र परिवर्तनका निम्ति भन्दै निमुखा जनतालाई उचालेर राज्यविरुद्ध लड्न लगाउने नेताहरूको प्रवृत्ति अप्रजातान्त्रिक छ । दिल्लीमा बसेर नेपाली जनताको मुक्ति आन्दोलन चलाउनेहरूले जितेर ल्याएको मूर्त कुरा के हो ? कसैले भन्न सक्दैन । प्रजातन्त्रको ठाउँमा लोकतन्त्र भन्दैमा त्यो क्रान्तिको उपलब्धि हो भन्न मिल्दैन । एमाओवादीका तर्फबाट प्रधानमन्त्री बनेका डा.बाबुराम भट्टराईले नेपालको राज्यसत्ताको चाबी हाम्रो हातमा छैन भन्ने अभिव्यक्ति दिएको र हामीलाई भारतले गृहमन्त्री बनाउन दिएन भनेर प्रचण्ड बानेश्वरमा कुर्लेको धेरै भएको छैन । त्यसो हो भने उपलब्धिविनाको क्रान्ति किन गरिन्छ ? लोकतन्त्रका पहरेदार हामी मात्र हौँ भन्नेहरू यसको जवाफ दिनु आवश्यक ठान्दैनन् । देशलाई सम्हाल्नै नसकिने गरी दलका नेताहरूले संकटको दलदलमा फसाएका छन् । समाज अनुशासित छैन । राष्ट्रका निम्ति केही गर्नका लागि भन्दा पनि आफ्नो मानो जुटाउन पढे लेखेकाहरू कौडीको मूल्यमा बिक्री भएका छन् । राज्यका सबै संरचनाहरू विदेशीबाट प्रभावित हुने गरेका छन् । नेताहरूबीचमै तँ दलाल कि म दलाल भन्ने विवाद भइरहेको छ । राष्ट्रिय राजनीति साँघुरिँदै जातीय र क्षेत्रीय राजनीतिमा खुम्चिदै गएको छ । हाम्रो राष्ट्रिय सुरक्षा अवस्था कमजोर मात्र होइन, निकम्मा बनाइएको छ । विगतदेखि नै शान्ति र द्वन्द्व व्यवस्थापनको नाममा हाम्रो राष्ट्रिय सुरक्षा विदेशीको निगरानीमा राख्ने काम भयो । यति ठूला अपराधविरुद्ध आवाज उठाउन लाज मान्नेहरू राष्ट्रको शान्ति र प्रगतिको गफ गर्दै हिँड्छन् ।
राजसंस्था र राजालाई राष्ट्र र जनताको प्रगतिको बाधक ठानेर यिनको विस्थापन गरियो । राजालाई राष्ट्रिय राजनीतिबाट अलग बस्न भनियो । उनी अलग बस्न सहज रूपमा राजी भए । यो उनको कमजोरी होइन, आफ्नो सहज बहिर्गमनका लागि गरेको त्याग हो भन्दा उनीप्रति न्याय हुनेछ । जनविरोधी तानाशाहले त्यति सजिलै सत्ता र शक्ति छाड्दैनन् । दलका नेताहरू राजसंस्था र राजाले गर्न नसकेका काम गर्न अग्रसर किन हुँदैनन् ? दलका नेताहरूले राष्ट्र र जनताका लागि अयोग्य भनेका राजालाई समाजमा हाई–हाई किन हुँदैछ ? नेताका गालामा चड्कन किन हानिदै छन् । सत्ता र शक्तिले मैमत्त भएका साना ठूला ठालुहरूलाई कुनै परवाह छैन । लोकतन्त्र भनौँ वा प्रजातन्त्र कुरा एउटै हो । हामी नेपाली जनता लोकतान्त्रिक हुन सकेका छौँ ? लोकतन्त्रको मूल्य मान्यता के हो ? यो विषयमा आम नेपाली जनता जानकार छन् ? राष्ट्रको अस्तित्व धरापमा पार्ने पात्रहरू लोकतन्त्रवादी हुन सक्छन् ? तिनीहरूले प्रयोग गर्ने नारा गफ मात्र हुन् भन्ने कुरा प्रमाणित भइसक्यो । उपयोग गर्ने माध्यमलाई दोष दिनु बेकार हो । नेपाली जनता र हाम्रा नेताको योग्यता विदेशीले जाँच्ने मौका पाए । सकारात्मक विचार राख्नेका लागि यो पनि एउटा मौका हो । असफल दलका नेताहरू र आफ्नो स्वार्थपूर्तिका लागि तिनका पछाडि दौडिने कार्यकर्ताहरू मात्र लोकतन्त्रका हकदार र पहरेदार हुन् भन्न थालियो भने राष्ट्रलाई समृद्धिको मार्गमा डोर्‍याउन मुस्किल हुनेछ ।
दौरा सुरुवालको सट्टा धोती लगाएर देश चलाउन पाउनुपर्छ भन्नेहरू र दिल्लीमा बसेर नेपालमा मुक्ति आन्दोलन चलाउनेहरूबीचको एकता कुनै सिद्धान्तमा आधारित छैन र स्वविवेकको पनि होइन । विदेशीहरू हाबी भएको यस्तो कचिङगलको अवस्थामा देशको माया गर्नेहरूले आ–आफ्ना डम्फु बजाइराख्ने हो भने त भन्नु केही छैन । राष्ट्र बर्बादीको डिलमा हाम्रा आफ्नै कारण र कर्तुतले पुगेको हो भन्ने कुरा दलका नेताहरू र तिनका पृष्ठपोषकहरूलाई राम्रोसँग जानकारी छ । तिनीहरूको अबको चिन्ता भनेको राष्ट्र जोगाउने होइन आफूले गलत तरिकाबाट जम्मा पारेको सम्पत्ति र आफ्नो जीवन मात्र जोगाउने हो । राष्ट्रका अगाडि समस्याका चाङ लगाएर देशभित्र अब कसैले सन्तोषले बाँचौँला सोचेका छन् भने त्यो मुर्खता मात्र हो । संकट सिर्जना गर्ने हामी होइनौँ भनेर कसैले उम्कन पाइने छैन । राष्ट्र बर्बाद भइरहँदा मौन बस्नेहरू पनि संकट सिर्जना हुनुका सहायक तत्त्व हुन्, नेपाली जनताको योग्यता भनेको फोस्रा नारामा रमाउने र आफ्नो मत लुटाउने मात्र हो । केही मानिसहरू नेताहरूले जनमतको दलाली र दुरुपयोग गरे भन्दै हिँड्छन् त्यो सत्य होइन । जनमत बुझ्ने भनौँ वा लिने हैसियत भएको जवाफदेही राजनीतिक शक्ति नेपालमा स्थापित भएको देखिँदैन । आफ्नो मतको महत्त्व बुझेका जनता दलालहरूलाई काँधमा बोकेर राष्ट्र र आफ्नो एकसाथ हुन लागेको मृत्युका सामुन्ने यसरी बाँच्न सक्दैनन् ।
राष्ट्रिय एकता र मेलमिलापका आधारमा यो राष्ट्रलाई जोगाउने हो भने नेपालका राजनीतिक शक्तिहरूबीच आपसी एकताको अविलम्ब प्रयास गर्नु बुद्धिमानी हुने देखिन्छ । आमाका गर्भबाटै क्रान्तिकारी भई जन्मेका हौँ भन्नेहरूलाई त छिमेकीले आफूअनुकूल प्रयोग गरेर यो राष्ट्र बर्बाद गर्न सक्यो भने भोलि अर्को कुनै राजनीतिक शक्ति र व्यक्तिहरूलाई प्रयोग गर्न सक्दैन ठान्नु मुर्खता हुनेछ । सबैलाई चेतना भया ।
थयनष्बलष्द्दिण्२थबजयय।अयm

प्रतिक्रिया