महिनामै एक हजार लाइसेन्समा प्वाल

काठमाडौ, १८ पुस । मादकपदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउने करिब एक हजार चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)मा प्वाल पारिएको छ । मापसे गरी सवारीसाधन चलाउनेलाई अघिल्लो मंसिरदेखि कारबाही गरिँदै आए पनि उल्लेख्य मात्रामा सफलता पाउन नसकेपछि महानगरीय ट्राफिक महाशाखाले ६ मंसिरदेखि लाइसेन्समा प्वाल पार्न थालेको हो ।

महाशाखाका अनुसार पुस पहिलो सातासम्म एक महिनाको अवधिमा नौ सय ५१ वटा लाइसेन्समा प्वाल पारिएको छ । महाशाखाले दोहोर्‍याएर मापसे कारबाहीमा परे पटकैपिच्छे लाइसेन्समा प्वाल पारी अभिलेख राख्ने गरेको छ । पाँचौँपटक कारबाहीमा परिसकेपछि लाइसेन्स रद्द गरिने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार लाइसेन्समा प्वाल पार्न थालेपछि मापसे चालक ह्वात्तै घटेका छन् । लाइसेन्समा प्वाल पारी सोको अभिलेख महाशाखा र सम्बन्धित यातायात कार्यालयमा समेत राख्न थालिएका कारण मापसे चालकको संख्यामा कमी आएको हो । गत वर्षको मंसिरको तुलनामा यस वर्ष मापसे कारबाहीमा पर्नेको संख्यामा करिब तीन हजारले कमी आएको महाशाखाको तथ्यांकले देखाएको छ । महाशाखा प्रवक्ता पवन गिरीका अनुसार मंसिरमा दैनिक चार सय मापसे कारबाहीमा पर्दै आएकामा पुसको पहिलो सातासम्म दैनिक डेढ सयसम्म पक्राउ परेका छन् ।
मापसे चेकजाँचका लागि काठमाडौं, ललितपुर र भक्तपुरमा ३३ वटा चेकप्वाइन्टमा तीन सय ट्राफिक खटिएका छन् । सवारी नियम गम्भीर रूपले उल्लंघन गर्ने चालकको नाम चारित्रिक प्रमाणपत्रमा उल्लेख गर्ने र विदेशमा रहँदा सवारी सुविधाका लागि दिइने ट्राफिकको सिफारिस पत्रमा समेत उल्लेख गर्न थालिएकाले र दोहोर्‍याएर भेटिए लाइसेन्समा प्वाल पार्न लागेपछि मापसे चालक घटेको प्रवक्ता गिरीले बताए । गिरीका अनुसार लाइसेन्स प्वाल पर्ने, एक हजार जरिवानासँगै अनिवार्य कक्षा लिनुपर्ने भएकाले समेत मापसे चालक निरुत्साहित भएका हुन् ।
मापसे कारबाहीका क्रममा ‘आर्थिक अनियमितता’ हुन नदिन महाशाखाले कारबाही विवरण कम्प्युटरमा राख्ने व्यवस्था गरेको छ । मापसे चालकमाथिको कारबाही छिटोछरितो गर्न नियन्त्रणमा लिइएकालाई छुट्टै राख्ने र होल्ड गरिएका सवारीसाधन सुरक्षित राख्ने व्यवस्थासमेत गरिएको महाशाखाले जनाएको छ । मापसेविरुद्धको कारबाहीले दुर्घटना, घरेलु तथा लैंगिक हिंसा, चोरी, डकैती अपहरणजस्ता आपराधिक क्रियाकलापमा समेत कमी आएको महाशाखाले उल्लेख गरेको छ ।

प्रतिक्रिया