‘भारतीय एजेन्ट’ भन्दा प्रधानमन्त्री त्रसिए

काठमाडौं, १७ पुस । नेपाल प्रेस युनियनले सरकारी स्वामित्वमा रहेको ‘रेडियो नेपाल’मा प्रसारित अन्तरवार्तालाई लिएर प्रधानमन्त्रीले स्पष्टिकरण लिन दिएको निर्देशनप्रति आपत्ति जनाएको छ ।
सोमबार विहान प्रसारण भएको अन्तरसंवाद कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य मनमोहन भट्टराईले प्रधानमन्त्री बाबुराम भट्टराईलाई ‘हिन्दुस्तानका एजेन्ट हुन्’ भन्ने अभिव्यक्ति दिए पछि भट्टराईले स्पष्टिकरण लिन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री भट्टराईको निर्देशनमा पत्रकार प्रमोद दाहाल र रेडियो नेपालका कार्यकारी निर्देशक शुरेस कार्कीसँग स्पष्टिकरण लिएको प्रेस युनियनले जनाएको छ । सो घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उसले जनाएको छ ।
‘कांग्रेस नेता मनमोहन भट्टराईले प्रधानमन्त्रीका बिषयमा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री स्वयम्ले स्पष्टिकरण लिन लगाउनु गम्भीर आपत्तिको विषय हो,’ महासचिव शिव लम्सालद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीले सञ्चार मन्त्रीलाई निर्देशन दिने सञ्चार मन्त्री राजकिशार यादवले सञ्चार सचिव सूर्य सिलवाललाई लिन लगाउने, मुख्य सचिव लीलामणि पौडेलले स्पष्टिकरणका लागि बोलाउने जुन काम भएको छ यो सरासर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधी र लोकतन्त्रका न्यूनतम मूल्य मान्यताको ठाडो उपहास हो ।’
महासचिव लम्सालले प्रधानमन्त्री, सञ्चारमन्त्री, मुख्य सचिव, सञ्चार सचिवलगायतका अधिकारीहरुको लोकतन्त्र र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधी क्रियाकलापको युनियन घोर निन्दा एवं भत्र्सना गर्दछ भनेका छन् ।
‘एउटा व्यवसायिक पत्रकारले लिने अन्तवार्तामा आएका अभिव्यक्ति सम्बन्धित व्यक्तिमा निजी बिचार हुन्,’ विज्ञप्तिमा भनिएको छ । कांग्रेस नेता मनमोहन भट्टराईको बिचारले कसैलाई आघात परे त्यसको प्रतिवाद र खण्डन गर्ने लोकतान्त्रिक अधिकार रहेको प्रेस युनियनले जनाएको छ ।
लम्सालले त्यस्ता गलत कार्य गरेकोमा तत्काल सच्याउन र क्षमा याचना गर्न प्रधानमन्त्री, सञ्चारमन्त्री, मुख्य सचिवलगायत सम्बन्धित व्यक्तिहरुसँग जोडदार माग गरेका छन् ।
‘जनताको सू–सचित हन पाउने हक माथि नै बन्देज लगाउने गरी सरकारबाट भएको यो कुत्सीत कार्यले एउटा अधिनायकवाद र निरंकुश शासन प्रणालीलाई संकेत गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता रबैया बिरुद्ध सम्पूर्ण स्वतन्त्र पत्रकारहरु र लोकतन्त्रवादीहरु एक ढिक्का भई उभिएर जोडदार प्रतिबाद गर्न प्रेस युनियन अपील गर्दछ ।’

यसैबीच, प्रेस चौतारी नेपालले पनि रेडियो नेपालको ‘अन्तरसंबाद कार्यक्रम’को अन्तरवार्तालाई लिएर प्रधानमन्त्रीबाट भएको हस्तक्षेपको विरोध गरेको छ ।
सचिव लक्की चौधरीले आज विज्ञप्ति जारी गरेर सञ्चारकर्मी दाहालसँग सोधिएको स्पष्टीकरणप्रति प्रेस चौतारीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रतिक्रिया