“एउटै चित्र एक लाखमा बेचेँ”

बुबाहरू चित्र बनाइरहनुहुन्थ्यो, म छेउमा बसेर हेरिरहन्थेँ । सोच्थेँ, ‘म पनि यत्तिकै जान्ने हुन पाए †’ सानै उमेरदेखि चित्रकलातर्फ रुचि हुँदै गयो मेरो । एक दिन घरमा कुरा राखेँ, ‘म पनि चित्रकलामा लाग्छु नि †’ एक त त्यति बेलाको समाज, त्यसमाथि चित्रकलाका लागि नयाँनयाँ लोकेसनमा पुगिरहनुपर्ने । अनुमति पाउन सजिलो थिएन ।
मेरो बाजे–बराजु जंगबहादुर राणाका लागि चित्र बनाउनुहुन्थ्यो । उहाँहरूले बनाएका चित्र दरबारमा जान्थे । मनमा लागेका कुरा चित्रमा उतार्ने यो कलाले मलाई राम्रै गरी छोइसकेको थियो । कुची समाउन रहर लाग्थ्यो । बुबाआमालाई निकै आग्रह गरेँ । आखिरमा सबैको मन जितेँ, अनुमति पाएँ ।
एकचोटि भक्तपुरमा बसेर चित्र बनाउँदै थिएँ । त्यहाँका पुराना घरलाई क्यानभासमा उतार्दै थिएँ । एउटा विदेशी आएर सोध्यो, ‘आहा † कति राम्रो चित्र, मलाई बेच्नुस् न, कतिमा दिने हो ?’ म त अक्क न बक्क परेँ । कति भनूँ–भनूँ । जे त पर्ला, २ सय भनिदिएँ । उसले किनी पनि हाल्यो । चित्रकलातर्फबाट मेरो जिन्दगीको पहिलो कमाइ त्यही थियो । त्यो पैसाले आमालाई माला किनिदिएँ । आफ्नो चित्र बिकेकोमा साह्रै खुसी लाग्यो ।
सुरुमा घरमै सिकेकी हुँ, आमाले निकै प्रोत्साहन गर्नुहुन्थ्यो । पछि गुरु गोविन्द डंगोलसँग सिकें । एक दिन गुरुले चित्र बनाऊ भन्नुभयो । मैले पहिलोपटक गाईको चित्र बनाएँ । गरु मुस्कुराउनुभयो, ‘ल राम्रो बनायौ ।’ म त फुरुङ्ङै परिहालेँ, केके न भएजसरी रमाएँ ।
त्यो पुरातनवादी समाजमा नारीले चित्रकलामा लाग्ने कुरा नौलो नै थियो । म घरबाहिर गएर काम गरेको देख्दा कुरा काट्नेहरू थुप्रै हुन्थे । केटामान्छेसँग हिँड्नु बिग्रनु मानिन्थ्यो । आर्टमा लाग्ने केटी मान्छे नभएकाले केटासँगै बढी संगत हुन्थ्यो । बिए पढ्न ललितकला क्याम्पस गएँ । त्यहाँ सबै केटा साथी मात्रै । कहिलेकाहीँ हातभरि रंग लतपतिएको हुन्थ्यो । बाहुला सार्नुपर्‍यो भने पनि महिला स्टाफ खोज्दै हिँड्नुपर्ने । शिक्षक पनि सबै पुरुष मात्रै थिए ।
धेरैजसो धार्मिक ठाउँमा आज पनि परम्परागत चित्र छन् । नेवारी समाजमा आगा भन्ने ठाउँ हुन्छ । त्यहाँ महिला जाने अनुमति हुँदैन । एक दिन अध्ययन गर्ने सुरले त्यहाँ भित्र छिरिदिएँ म त । ओहो…† भित्र त हेर्नै नसकिने । आङै सिरिंग हुने खालका नांगा मूर्ति र तस्बीर मात्रै । पहिलोचोटि त्यस्ता चित्र देख्दा डर लागेर आयो मलाई । ठम्याएँ, ‘यही भएर पो हामीलाई पस्न अनुमति नदिइएको रहेछ त ।’
म बढीजसो चित्र गणेशका बनाउँछु, पञ्चतत्त्वमा आधारित । अध्ययन पनि त्यसै विषयमा गरँे । नेपालमा चार विनायकका रूपमा गणेशको पूजा हुन्छ । भारतमा आठ विनायक अनि थाइल्यान्डमा बाह्र विनायक मान्छन् । विश्वका धेरै देशमा गणेश पुज्ने चलन छ ।
अहिलेसम्म बनाएको सबैभन्दा महँगो गणेशको चित्र एक लाख रुपियाँमा बेचेँ । काठमाडौँ महानगरपालिकामा रहेको गणेशको चित्र मैले नै बनाएकी हुँ । एकचोटि कांग्रेस नेता गणेशमान सिंहको तस्बिर बनाएर उहाँलाई उपहार दिएँ । उहाँ त यति खुसी हुनुभयो कि मलाई भोजै खुवाएर पठाउनुभयो । पूर्वराजा ज्ञानेन्द्रलाई पनि उनको तस्बिर बनाएर दिएकी थिएँ । अहिले नेता पुष्पलाल र पत्नी सहानाको चित्र बनाउँदै छु, सकिनै लागेको छ । सशस्त्र प्रहरी कार्यालयले पनि मसँग गणेशको चित्र किन्यो, पैँतीस हजार रुपियाँमा । मलाई साह्रै खुसी लाग्यो । अहिले त उद्योगी, व्यापारी अनि राजदूतहरू पनि आउँछन्, चित्र किन्न । तर सर्वसाधारणहरूलाई चाहिँ अलि महँगो लाग्दो रहेछ । के गर्नु, रंग पनि त महँगै पर्छ नि †
चित्रको अध्ययन गर्न जापान, थाइल्यान्ड, कोरिया, कम्बोडियासम्म पुगेँ । मेरो चित्रमा पानी रंग र बयाकुलिङ रंग प्रयोग हुन्छ । सानी छँदा चित्र बनाउन छटपटिएकी म अहिले त अरूलाई पनि सिकाउन सक्ने भइसकेकी छु । अहिलेसम्म बाह्रवटा स्कुल र क्याम्पसमा सिकाइसकेँ ।
गणेशको वाहन मुसो मानिन्छ । तर गणेशले मुसो मात्र होइन, बाघ पनि चढ्छन् भन्ने मान्यता प्रस्ट्याउने चित्र बनाउँदै छु । नेपालमा लोप हुन लागेका थुप्रै संस्कृतिलाई चित्रमा उतारेकी छु । चाँडै तिनलाई प्रदर्शन गर्ने तयारीमा छु ।
(वार्तामा आधारित)

प्रतिक्रिया