कृत्रिम गर्भाधानले दूध उत्पादन बढ्यो

नवलपरासी : नवलपरासीमा दुधालु पशुमा कृत्रिम गर्भाधान गराउने संख्याको वृद्धिसँगै दूध उत्पादन बढेको छ । कृत्रिम गर्भाधानले दुधालु पशुले दिने दूधमा वृद्धि हुने चेतना किसानमा बढ्दै गएकाले विगत वर्षको तुलनामा दूध दिने गाईभैँसीमा कृत्रिम गर्भाधान गर्न किसान उत्साही भएका हुन् ।
सुरु–सुरुमा कृत्रिम गर्भाधान गराउन नमान्ने पशुपालक किसान अहिले गाईभैँसीमा कृत्रिम गर्भाधान गराउन आफँै खोज्दै आएको कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत शंकर साहले बताए ।
गाउँगाउँमा अहिले राँगा र साढेको अभाव भएको तथा कार्यालयले निरन्तर रूपमा दुधालु पशुमा कृत्रिम गर्भाधान गराउनेबारे अभियान चलाउँदै आएकाले किसान गाईभैँसीमा कृत्रिम गर्भाधान गराउनमा उत्साही देखिएका हुन् ।त्यसको प्रत्यक्ष प्रभाव दूध उत्पादनमा देखिएको छ भने कृत्रिम गर्भाधानले स्थानीय जातका गाईभैँसीबाट जन्मिने बाच्छी, पाडी उन्नत हुने पशु चिकित्सकहरूले दाबी गरेका छन् ।
घरदैलोमा पशु चिकित्सक पुगेर प्रचारप्रसार गर्दा पनि पशुसेवा केन्द्रमा कृत्रिम गर्भाधान गराउन नआउने किसानबाट अहिले ठाउँठाउँमा कृत्रिम गर्भाधान गर्ने केन्द्र खोल्नका लागि माग बढेको प्रमुख साहले बताए । साहका अनुसार कार्यालयको बजेट र कार्यक्रममै नरहेको अवस्थामा पनि किसानको मागअनुसार स्थानीय साधनस्रोतको व्यवस्थापन गरी चालु आर्थिक वर्ष ०६९/७० मा जिल्लाको स्वाठी, बासा, भुजहवामा प्रजनन केन्द्र थपी रेफ्रीको व्यवस्था गरिएको छ । ‘अहिले पनि किसानको माग पूरा गर्न सकिएको छैन’, प्रमुख साहले भने, ‘जिल्लामा उत्साहजनक रूपमा थपिँदै गएको व्यावसायिक पशु फर्मले गर्दा पनि माग बढेको हो ।’ (सौस)

प्रतिक्रिया