विभिन्न घटनामा तीनको मृत्यु

झापा, १५ पुस । झापा, भक्तपुर र जाजरकोटमा भएका अलग अलग घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।
झापा जिल्ला आगोले जलेर एक बृद्धाको मृत्यु भएको छ । लखनपुर–३ बस्ने ७२ वर्षीया हेममाया भण्डारीको आज विहान सवा ५ बजे आफ्नै घरको कोठा भित्र जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगो बाल्ने क्रममा भण्डारीको शरीरमा अचानक आगो सल्केर मृत्यु भएको हो ।
उता जाजरकोटको खंलगा–६, रिसाङस्थित बाटोमा हिँडिरहेका रुकुमका ६५ वर्षीय तिखे कुमालको मृत्यु भएको छ । शनिबार बेलुका अचानक चिप्लन गई लड्दा उनको कन्चटमा चोट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुकुम जिल्ला बिजयश्वरी–६ बस्ने ६५ वर्षीय कुमालको घटनास्थलमै मृत्यु भएको हो ।
यता, भक्तपुरको दुवाकोट–२ स्थित इँटाभट्टमा एक बालकको मृत्यु भएको छ । काभ्रे जिल्ला सरसिंहखर्क–४ घर भएका अर्गलाल श्रेष्ठका १ वर्ष ६ महिनाका अमृत श्रेष्ठको इँटा बनाउन खाल्डोमा राखिएको पानीमा डुबेर असक्त भएका थिए । उनको उपचारका लागि भक्तपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

प्रतिक्रिया