८१ अभियुक्तबाट ३३ करोड

काठमाडौं, १५ पुस । अदालतबाट दोषी ठहर भएका तर फरार रहेका अभियुक्तलाई सिआइबी धमाधम पक्राउ गरेपछि राजस्वमा भारी वृद्धि भएको छ । सिआइबीको तथ्यांकअनुसार पक्राउ अभियान सुरु गरेपछि ३३ करोड ३३ लाख ४६ हजार पाँच सय ५५ रुपियाँ ४८ पैसा राजस्व असुली भएको छ ।

सिआइबीले फरार अभियुक्तलाई पक्राउ गर्ने अभियान २०६७ बाट सुरु गरेको हो । यसबीचमा सिआइबीबाट ८१ फरार अभियुक्त पक्राउ परे । पक्राउ पर्ने सबैले भुक्तान गर्ने कैद सजाय जोड्दा एक सय पाँच वर्ष दुई महिना ११ दिन पुग्छ ।
पक्राउ परेकामध्ये भ्रष्टाचार र ठगी मुद्दाका फरार अभियुक्तको संख्या अत्यधिक छ । यी मुद्दाका मात्रै ४५ फरार अभियुक्त पक्राउ परेका छन् । बाँकी सरकारी कागजात किर्ते, वन्यजन्तु, भन्सार चोरी, जबरजस्ती करणी, वैदेशिक रोजगार ठगी, चोरी, राजस्व चुहावटलगायत मुद्दाका छन् ।
सिआइबीका अनुसार भ्रष्टाचार र ठगी मुद्दामा फरार भई पक्राउ परेका अभियुक्तमध्ये सबै नै आर्थिक अपराधमा संलग्न थिए । विशेषगरी उनीहरूले बैंक र सहकारीलाई दुरूपयोग गरी आर्थिक अपराध गरेका थिए । सिआइबीका डिएसपी कृष्ण महतले पनि पक्राउ परेका अधिकांश फरार अभियुक्त बैंक तथा सहकारीका नाममा हुने आर्थिक अपराधमा संलग्न भएको बताए । उनले भने, ‘सामान्यतया अन्य अपराधमा संलग्न हुनेलाई अदालतको फैसला नभएसम्म पुर्पक्षका लागि थुनामा राखिन्छ तर आर्थिक अपराधमा संलग्न हुनेहरू धरौटीमा छुट्छन् । मुद्दा फैसलामा उनीहरू दोषी ठहरिन्छन् तर आत्मसमर्पण गर्दैनन् । बरु फरार हुन्छन् ।’
सिआइबीकै डिएसपी ईश्वरबाबु कार्कीका अनुसार आर्थिक अपराधमा संलग्न हुनेहरू अदालतबाट दोषी ठहर भएपछि पनि फरार बन्नु विगतदेखिकै ‘ट्रेन्ड’ हो । उनी भन्छन्, ‘अदालतको फैसलापछि घटना बिस्तारै सेलाउँदै जान्छ, सरोकारवालाले पनि बिर्संदै जान्छन् । यो बुझेका आर्थिक अपराधीहरू अदालतमा आत्मसमर्पण गर्दैनन्, बरु फरार हुन्छन् । यसो हुँदा जरिवाना र कैद सजायबाट बचिने भ्रम उनीहरूमा हुन्छ ।’
आर्थिक कारोबार भएकै ठाउँमा आर्थिक अपराध हुने भएकाले बैंक तथा सहकारीमा आर्थिक अपराध बढेको डिएसपी कार्कीको भनाइ छ । उनले भने, ‘आर्थिक कारोबार हुने भनेकै बैंक र सहकारीमा हो, स्वाभाविक रूपमा अपराध पनि त्यहीँ हुन्छ ।’
फरार भई पक्राउ परेकाहरू पनि अधिकांश बैंक तथा सहकारीका सञ्चालक र उच्च तहका कर्मचारी छन् । डिएसपी महतले भने, ‘रकम जम्मा हुने स्रोत, त्यसको परिचालन, लगानी तथा बचतलगायत सबै सूचनाको जानकारी हुने व्यक्ति भनेका सञ्चालक र उच्च तहका कर्मचारी नै हुन्, रकम अपचलन गर्ने तरिका र त्यसबाट बच्ने उपाय पनि उनीहरूलाई थाहा हुन्छ, त्यसैले यस्ता अपराधमा उनीहरू नै संलग्न हुन्छन् ।’
फरार अभियुक्त कति छन् भन्ने ठ्याक्कै तथ्यांक नभए पनि आर्थिक अपराधपछि फरार बन्नेको संख्या बढ्दै गएको सिआइबीको ठहर छ । डिएसपी महतले भने, ‘दोषी ठहर भएका अपराधीको संख्या बढिरहेको छ, उनीहरूको संख्या कति छ, त्यसको ठ्याक्कै डाटा भने हामीसँग छैन ।’

प्रतिक्रिया