राष्ट्रपति फर्किंदा दलहरु झन् टाढा

काठमाडौं, १५ पुस । सहमतीय प्रधानमन्त्री चयन गर्न छैठौँपटक पाँचदिने म्याद थपेर भारत भ्रमण गएका राष्ट्रपति डा. रामवरण यादव शनिबार स्वदेश फर्कंदासम्म पनि दलहरूबीच सहमति हुन सकेन । राष्ट्रपति यादव शनिबार स्वदेश फर्कंदा दलहरू पहिले भएका सहमतिबाट पनि पछि हटेर पुरानै अवस्थामा फर्केका छन् ।

६ बुँदे लिखित धारणा राखेर दलका नेताहरूलाई दबाब दिँदै राष्ट्रपति भारत गएका थिए । उनी फर्कंदा सत्तारुढ दलहरू पुन: संविधानसभा पुन:स्थापनाको अडानमा फर्केका छन् भने विपक्षी दलहरू आन्दोलनको मनस्थतिमा पुगेका छन् । पुन: एकपटक दलहरूलाई सहमतिका लागि दबाब दिएर नयाँ कदम चाल्ने मनस्थितिमा राष्ट्रपति रहेको शीतलनिवास स्रोतले बताएको छ ।
सत्तारुढ एमाओवादी वैशाखमा निर्वाचन गराउने पक्षमै नरहेको निष्कर्षमा पुगेका प्रतिपक्षी दलहरू राष्ट्रपतिले फेरि म्याद थप्नुको औचित्य नभएको बताउन थालेका छन् । सत्तारुढ एमाओवादी र मधेसी मोर्चा संविधानसभाको पुन:स्थापना गर्नुपर्ने पुरानै अडानमा फर्किएका छन् । राष्ट्रपति भारत गएयता दलहरू एकपटक पनि औपचारिक संवादमा बसेका छैनन् ।
यसअघि नयाँ चुनाव र सहमतीय प्रधानमन्त्रीमा अनौपचारिक सहमतिमै पुगिसकेको बताइरहेका दलहरूबीच अहिले अविश्वास झन् बढेको छ । निर्वाचनका संवैधानिक अवरोध हटाउने र सहमतिमा प्रधानमन्त्री चयन गर्ने विषयमा तीन प्रमुख दलका नेताबीच अनौपचारिक सहमति भइसकेको थियो । तर, राष्ट्रपति यादव फर्कंदा सहमतिमा प्रगति हुनुको साटो सत्तारुढ र विपक्षी दलहरूबीच पुरानै विवाद सुरु भएको छ ।
छैठौंँपटक दिएको समयभित्र पनि सहमति नभए के गर्ने भन्ने विषयमा राष्ट्रपति अन्योलमा छन् । भारत जानुअघि दलका नेताहरूसामु लिखित मन्तव्य राख्दै राष्ट्रपति यादवले आफ्नो भूमिकाबारे स्पष्ट धारणा लिएर आउन दलका नेताहरूलाई आग्रह गरेका थिए । सहमति हुनै नसके राष्ट्रपतिले चाल्ने लोकतान्त्रिक कदम के हुनसक्छ, त्यो पनि सुझाउन उनले नेताहरूलाई आग्रह गरेका थिए ।
विघटित संविधानसभाको बहुमतको आधारमा राष्ट्रपतिले प्रधानमन्त्री चयन गर्नुपर्ने अन्यथा आफूहरू आन्दोलनमा जान बाध्य हुने विपक्षीहरूको निष्कर्ष छ । ‘राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि आह्वान गरेपछि त्यसैलाई साथ दिँदै निकासका लागि आन्दोलन स्थगित गरेका थियौँ,’ एमाले सचिव शंकर पोखरेलले सौर्यसँग भने, ‘निकास नआउने यही प्रक्रिया निरन्तरता दिनुको अर्थ छैन, अब विघटित संविधानसभाको गणितीय आधारमा सापेक्षिक सहमतिको प्रक्रियामा अघि बढ्नुपर्छ ।’
सत्तारुढ एमाओवादीले भने भट्टराई नेतृत्वको सरकारलाई सहमतीय स्वरूप दिनुपर्ने, नभए सत्तारुढ मोर्चाबाटै नयाँ प्रधानमन्त्री चयन गर्नुपर्ने र त्यसो हुन नसके संविधानसभा पुन:स्थापना गर्नुपर्ने पुरानै अडान दोहोर्‍याएको छ । एकपटक दलका नेताहरूसँग अब चाल्ने कदमबारे छलफल गरेर अघि बढ्ने मनस्थितिमा राष्ट्रपति पुगेको शीतल निवास स्रोतले बताएको छ । ‘फेरि एकपटक दलका नेताहरूलाई बोलाएर आफूले चाल्नुपर्ने कदमबारे राष्ट्रपतिले साध्नुहुनेछ,’ स्रोतले भन्यो, ‘अझै पनि सहमति नभए केही न केही त गर्नै पर्ने हुन्छ ।’

प्रतिक्रिया