बलात्कृत छात्राको सिंगापुरमा उपचार

सिंगापुर : भारतमा गत साता सामूहिक बलात्कारमा परेकी छात्रालाई उपचारका लागि सिंगापुर लगिएको छ । भारतमा उपचाररत उनको अवस्थामा सुधार हुन नसकेपछि थप उपचारका लागि उनलाई बिहीबार सिंगापुर ल्याइएको हो । भारतमा उनीमाथिको बलात्कारविरुद्ध देशव्यापी प्रदर्शन जारी रहेका बेला उनलाई सिंगापुर ल्याइएको हो ।
भारत सरकारले बुधबार छात्रामाथिको बलात्कारबारे विशेष छानबिन गर्न आदेश दिएको छ । ३० दिनभित्र छानबिन प्रतिवेदन तयार पारिने र यसैका आधारमा बलात्कारीमाथि कारबाही हुने बताइएको छ । बलात्कारबाट गम्भीर घाइते भएकी ती छात्राको भारतमै शल्यक्रिया गरिएको थियो । तर, स्वास्थ्यमा सुधार नआएपछि उनलाई सिंगापुर ल्याइएको हो । सिंगापुरको एक सुविधासम्पन्न अस्पतालमा उनको उपचार हुने भारतीय दूतावासले जनाएको छ । तर, कुन अस्पतालमा उनको उपचार हुँदै छ भन्ने खुलाइएको छैन ।
बलात्कारमा संलग्नलाई मृत्युदण्ड माग गर्दै भारतमा प्रदर्शन जारी छ । प्रदर्शनका क्रममा एक प्रहरीको मृत्यु भइसकेको छ । त्यसैगरी, सयजना जति घाइते भएको बताइएको छ । क्रिसमसका कारण बलात्कारविरोधी प्रदर्शन तत्काल रोकिएको छ । तर, क्रिसमसअघि भारतीय राज्य तमिलनाडुमा अर्को सामूहिक बलात्कारको घटना भएपछि भारतमा महिलामाथिको हिंसा डरलाग्दो रहेको विश्लेषण गर्न थालिएको छ ।
गत डिसेम्बर १६ मा ती छात्रामाथि राजधानी नयाँदिल्लीमा भएको बलात्कारको विश्वभर भत्र्सना गरिएको छ । केटा साथीसँग रात्रि फिल्म हेरेर फर्किरहेकी उनीमाथि बसभित्रै सामूहिक बलात्कार भएको थियो । उनीमाथि ४० मिनेटसम्म बलात्कार गरेपछि बसबाहिर फ्याँकिएको थियो । उनलाई बचाउन खोज्दा केटा साथीलाई बलात्कारीका तर्फबाट फलामको छडले प्रहार गरिएको थियो । (एजेन्सी)

प्रतिक्रिया