अग्निनियन्त्रकलाई भुट्नेले भने : “मान्छे मार्नु त मेरो सोख हो”

न्युयोर्क : अमेरिकी सहर न्युयोर्कको नगर वेबस्टरमा एक व्यक्तिले दुई अग्निनियन्त्रकको हत्या गरे । गोली प्रहार गरी अग्निनियन्त्रकको हत्या गरेलगत्तै उनले आत्महत्या गरे । घटनाको अनुसन्धानमा संलग्न प्रहरीले विलियम स्पेंग्लर नाम गरेका ती हत्याराको घरबाट एउटा कागजको टुक्रो फेला पारेको छ, जसमा उनले लेखेका छन्, ‘हत्या गर्नु त मेरो सोख हो ।’
आफ्नो घरमा आगो लागेको भन्दै ६२ वर्षीय विलियमले सोमबार अग्निनियन्त्रकलाई सूचित गरेका थिए । घटनास्थल अग्निनियन्त्रक घरमा पस्नेबित्तिकै उनले उनीहरूमाथि गोली प्रहार गरेका थिए । गोली लागेर दुई अग्निनियन्त्रकको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई घाइते भएका थिए । त्यसलगत्तै आफ्नै टाउकोमा गोली प्रहार गरी उनले आत्महत्या गरेका थिए ।
घटनाको अनुसन्धानका क्रममा जलेको घरबाट विलियमले लेखेको नोट फेला परेको हो । तर, नोटमा अग्निनियन्त्रकको हत्या गर्नुको कारणबारे थप जानकारी भने नदिइएको बताइएको छ । नोटमा उनले थप लेखेका छन्, ‘कतिजना छरछिमेकलाई जलाएर खरानी बनाउन सक्छु भन्ने थाहा पाउन मैले आफूलाई तयार पार्नुपर्छ ।’ उनको नोट दुई अथवा तीन पन्ना लामो भएको प्रहरीले जनाए पनि यसलाई सार्वजनिक गरेको छैन ।
उनको घरबाट प्रहरीले एक मृतव्यक्तिको अवशेषसमेत फेला पारेको छ । अवशेष कसको हो भन्ने यथार्थ बाहिर आइनसकेको भए पनि आफ्नै बहिनीको हत्या गरी उनले घरभित्र शव लुकाएको हुनसक्ने आशंका गरिएको छ ।
प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी आक्रमणकारीको घरबाट लिखित नोटसहित तीनवटा बन्दुक फेला पारेको छ । साथै, विलियमले छेउका घरमा समेत आगो ठोस्ने प्रयास गरेको जानकारी दिइएको छ ।
यसअघि पनि उनी कैयौँ आपराधिक क्रियाकलापमा संलग्न भएको अनुसन्धानका क्रममा पाइएको छ । सन् १९८० आफ्नै हजुरआमाको हत्या गरेका उनलाई १७ वर्ष जेल सजाय दिइएको थियो । वेबस्टरका प्रहरी प्रमुख गेराल्ड पिकरिङले अग्निनियन्त्रकलाई मार्ने उद्देश्यले नै विलियमले आगलागीको पासो थापेको जानकारी दिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनैले प्रहरी तथा अग्निनियन्त्रकमाथि गोली बर्साएको पुष्टि भएपछि थप अनुसन्धान थालिएको हो ।
आगलागीको सूचना पाएलगत्तै घटनास्थल पुगेका अग्निनियन्त्रकले एउटा कार तथा निजको घरमा आगो लागिरहेको देखेका थिए । आगो निभाउन जुट्नासाथ उनीहरूमाथि अकस्मात् गोली प्रहार भएको थियो । त्यसलगत्तै प्रहरीले घटनास्थलमा सुरक्षा घेरा लगाएको थियो र त्यहाँका बासिन्दालाई अन्यत्र सारेको थियो । (एजेन्सी)

प्रतिक्रिया