हात्ती सुन्दरी प्रतयोगिता

सौराहा : चितवन राष्ट्रिय निकुञ्जका हात्ती व्यवस्थापन शाखाका प्रमुख रामेश्वर चौधरी बिहीबार निकै चटारोमा थिए । सौराहाको हात्ती प्रजनन शाखामा एकाबिहानै पुगे उनी, पुसको ठिहिर्‍याउने चिसो परबाहै नगरी । सरासर नजिकै रहेको ढुंगहरी खेलातिर लम्किए । जहाँ थिई चितवनकली हात्ती अनि उसका माउते शिवजी चौधरी । चितवन हात्ती महोत्सवअन्तर्गत गत वर्षदेखि थपिएको हात्ती सुन्दरी (ब्युटी कन्टेस्ट) प्रतियोगिताको ताज चितवनकलीको पोल्टामा पार्न उनी यति धेरै खटिएका हुन् । चितवनकली निकुञ्जका तर्फबाट प्रतियोगितामा दाबेदारी प्रस्तुत गर्ने सुरसारमा छे ।
चितवनकलीका अंगअंग सजाउन व्यस्त थिए, केपी आर्ट्सका कालिगढहरू । शिर, सँुड, कानलगायत अंग रातो, पहेँलो, नीलो र सेतो रङ्गले सजाइँदै थिए । थारू र मिथिला कलासंस्कृति झल्कने विभिन्न कृति र लालीगुराँस पनि उसका गहना बनिरहेका थिए । शिरफूल र गाजलले त उसलाई झन् बिछट्टै राम्री बनाइरहेका थिए ।
न्यानोघामसँगै बाघमारा चौरभरि मानिसको भीड छ । हात्ती दौड, गाडा र टाँगा दौड हेरिरहेका छन् दर्शक । एकाएक त्यहाँ चितवनकलीसहित पाँच हात्तीको प्रवेश हुन्छ । सबैको नजर त्यतैतिर मोडिन्छ । अनि सुरु हुन्छ, हात्ती सुन्दरीहरूको क्याटवाक । तरहतरहका सौन्दर्य झल्काउने भावभंगीसहितका पर्फरमेन्स । ‘फाइनल चरणका लागि हात्ती सुन्दरी छनोट गर्न साह्रै गाह्रो पो भयो त †’, नतिजा प्रकाशन समितिका संयोजक ऋषि तिवारी सुनाउँदै थिए । एक सय पूर्णांकका आधारमा हात्तीहरूको सौन्दर्य जाँचको तयारी गरिएको छ । शृंगारपटार, नङ, गाजल, कान तथा सुँडको सजावट र सरसफाइ, माउतेको अनुभव र अनुशासन, ड्ेरसअप, छालाको
चिल्लोपन र उमेरलाई छनोट प्रक्रियाको मुख्य आधार बनाइएको क्षेत्रीय होटल संघका अध्यक्ष नारायण भट्टराईले जानकारी दिए ।
आज शुक्रबार उपाधिका लागि फाइनल भिडन्त हुँदै छ, चितवनकली, युनाइटेड हात्ती सञ्चालन सहकारीका व्यवस्थापक विनोद तिमल्सिनाको पिङ्गकली र राष्टिय प्रकृति संरक्षण कोषको प्रकृतिकलीबीच । १ घन्टाभन्दा बढी लगाएर फाइनलका लागि यी तीन हात्ती सुन्दरी छानिएका हुन् । हात्ती संरक्षणसँगै उनीहरूको स्याहारसुसारमा माउतेहरूमा पनि लगाब आओस् भनेर प्रतियोगिता आयोजना गरिएको होटल संघका महासचिव सुमन घिमिरेले जानकारी गराए ।

प्रतिक्रिया