कुटाकुट हुँदा एक कैदीको मृत्यु

काभ्रे, १२ पुस । काभ्रे जिल्लाको धुलिखेलस्थित कारागार शाखामा कैद भुक्तान गरिरहेका श्री नेपाल भन्ने कुमार नेपालीको कुटपिटबाट मृत्यु भएको छ ।
आमाको हत्या पछि कर्तव्य ज्यान मुद्दामा जेल परेका तनहुँ जिल्ला पुर्कोट घर भएक हरि सापकोटाको कुटपिटबाट कुमारको मृत्यु भएको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । रसुवा जिल्ला धैवुङ्ग–१, इटरे स्थायी घर भएका १९ वर्षीय कुमारको कुटपिटबाट बुधबार राति मृत्यु भएको थियो ।
कुमारको मृत्यु बारेमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेका नायव निरीक्षक कृष्णजी अधिकारीको संयोजकत्वमा तीन सदस्सिय अनुसन्धान टोली गठन भएको प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकालले जानकारी दिए ।
विभिन्न अपराध गरी ५ वटा मुद्दा लागेका कुमारलाई रसुवा जिल्ला अदालतले २०६८ चैत–१२ गते १ वर्ष ६ महिना कैद र १ लाख ६ हजार ८ सय ३० रुपियाँ जरिवना तोकेको थियो ।

प्रतिक्रिया