भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं, १२ पुस । भारतको पाँचदिने भ्रमणमा रहेका राष्ट्रपति डा. रामवरण यादव भारतीय राष्ट्रपतिलगायत अन्य अधिकारीसँगको भेटवार्तामा व्यस्त छन् । राष्ट्रपति डा. यादवले बुधबार भारतीय समकक्षी प्रणव मुखर्जीसँगको भेटमा मुखर्जीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

भारतीय राष्ट्रपति निवासमा भएको दुई मुलुकका राष्ट्रपतिबीचको भेटवार्तामा राष्ट्रपति डा. यादवले नेपाल भ्रमणको निम्तो दिएका हुन् । जवाफमा भारतीय राष्ट्रपति मुखर्जीले उपयुक्त समय मिलाएर आफू नेपाल आउने जानकारी दिँदै नेपाल भ्रमणमा आउन आफू उत्सुक भएको बताएका थिए । दिल्लीमा रहेका पत्रकार ऋषि धमलाका अनुसार भेटवार्तामा भारतीय राष्ट्रपतिले नेपालको राजनीतिक गतिरोध लम्बिनुको कारण, सहमतिको अवस्था, चुनाव, शान्ति र स्थायित्वको विषयमा चासो व्यक्त गरेका थिए । उनले आफूहरू शान्त र स्थिर नेपालको पक्षमा रहेको भन्दै राजनीतिक दलहरूबीचको सहमतिमा चुनाव हुनुपर्ने धारणा व्यक्त गरेका थिए । राष्ट्रपति डा. यादवले भारतीय समकक्षीसमक्ष दलहरू सहमतिनजिक रहेको र चुनावका विषयमा एकमत रहेको जानकारी दिँदै चाँडै सहमति बन्ने विश्वास व्यक्त गरेका थिए ।
राष्ट्रपति डा. यादवसँग बुधबारै कांग्रेस आईका महामन्त्री जनार्दन द्विवेदीले समेत भेट गरी नेपालको राजनीतिक अवस्था, दलीय सहमति र चुनावलगायत विषयमा चासो राखेका थिए ।
त्यस्तै, राष्ट्रपतिसँग भारतीय विदेशमन्त्री सलमान खुर्सिदले पनि भेटवार्ता गरेका थिए । बुधबार बिहान राष्ट्रपति बसेको ओबराय होटलमै गएर विदेशमन्त्री खुर्सिदले भेटवार्ता गरेका हुन् । भेटमा मन्त्री खुर्सिदले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धका कारण नेपाल मामिलामा भारतको चासो स्वाभाविक रहेको बताएका थिए । उनले पनि नेपालमा दलीय सहमतिमा चुनाव हुनुपर्छ भन्ने भारतको मत रहेको स्पष्ट पार्दै दलहरू मिल्न नसकेकोमा राष्ट्रपतिसँग चिन्तासमेत जनाएका थिए । उनले नेपालको स्थिरतामा भारतको समेत हित जोडिएको बताएका थिए ।
राष्ट्रपतिसँगको भेटपछि विदेशमन्त्री खुर्सिदले नेपालको शान्ति, स्थायित्व, विकास र चुनावमा भारतको चासो रहेको र सोही विषयमा कुराकानी भएको जानकारी दिए । भेटवार्तामा नेपालका तर्फबाट सिँचाइमन्त्री महेन्द्र यादव र राजनीतिक सल्लाहकार हरि शर्मा तथा भारती पक्षबाट विदेशसचिव रञ्जन मथाई र भारतीय राजदूत जयन्त प्रसाद सहभागी थिए । राष्ट्रपतिसँग होटेल ओबरायमै राष्ट्रवादी कांग्रेसका महासचिव डिपी त्रिपाठी र भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका वरिष्ठ नेता सीताराम येचुरीले पनि भेट गरेका थिए ।

प्रतिक्रिया