स्वास्थ्यको सरुवा कार्यविधि तयार

काठमाडौं : स्वास्थ्य सेवा क्षेत्रका कर्मचारी सरुवालाई व्यवस्थित र पारदर्शी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘सरुवा कार्यविधि २०६९’ तयार पारेको छ । स्वास्थ्यको सरुवामा वर्षैपिच्छे विवाद आउन थालेपछि मन्त्रालयले कर्मचारी सरुवाका सम्बन्धमा यसअघि गरेको व्यवस्थालाई सरल, पारदर्शी र नियमित बनाउन नयाँ कार्यविधि ल्याउन लागेको हो ।
मन्त्रालय कर्मचारी प्रशासनका अनुसार नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ र नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ ले स्वास्थ्य सेवाका कर्मचारी सरुवाबारे गरेको व्यवस्थालाई अबको कार्यविधिले अझ स्पष्ट, सरल, पारदर्शी र नियमित बनाउनेछ । प्रशासनका अधिकृत मुकुन्द शर्माले मन्त्रीस्तरबाट सरुवा कार्यविधि यसअघि नै पास भइसकेको जानकारी दिँदै केही प्राविधिक त्रुटि भने सच्याउन लागिएको बताए ।
नयाँ कार्यविधिअनुसार सामान्यत: अति दुर्गम क्षेत्रमा लगातार तीन वर्ष सेवा गरेको वा सेवा अवधिभर उक्त क्षेत्रमा ६ वर्ष वा सोभन्दा बढी अवधि सेवा गरेका कर्मचारी मागबमोजिम सरुवा हुन पाउनेछन् । अब आठौँ र सोभन्दा माथिल्लो तहका कर्मचारी तथा एक विभागबाट अर्को विभागमा, केन्द्रीय अस्पताल र केन्द्रीय स्तरका कार्यालयका सबै तहका कर्मचारीको सरुवा मन्त्रालयले मात्र गर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।
विभाग मातहतका अधिकृत छैठौँ र सातौँ तहसम्मका कर्मचारीको सरुवा र एक क्षेत्रीय मातहतका कार्यालयबाट अर्को क्षेत्रीय मातहतका कार्यालयमा चौथो र पाँचौँ तहसम्मका कर्मचारीको सरुवा सम्बन्धित विभागले, सम्बन्धित क्षेत्र मातहतका चौथो र पाँचौँ तहसम्मका कर्मचारीको सरुवा सम्बन्धित क्षेत्रीय स्वास्थ्य निर्देशनालयले, सम्बन्धित जिल्ला मातहतका सहायकस्तर चौथो र पाँचौँ तहका कर्मचारीको सरुवा सम्बन्धित जिल्ला स्वास्थ्य/जनस्वास्थ्य कार्यालयले गर्नेछ । तर, मातहतमा क्षेत्रीय कार्यालय नभएका आयुर्वेद विभाग तथा औषधि व्यवस्था विभागले मातहतका कार्यालयका चौथो र पाँचौँ तहसम्मका कर्मचारीको पनि सरुवा गर्न पाउने व्यवस्था छ ।
मन्त्रालयका सहप्रवक्ता कविराज खनालका अनुसार नयाँ कार्यविधिले दुर्गम क्षेत्रबाट सुगममा कर्मचारी सरुवा गर्दा सरुवा भई आउने र सरुवा भई जानेको अनुपात अनिवार्य रूपमा मिलाई गर्नुपर्ने, यसरी सरुवा गर्दा यातायातको पहुँच, अन्य सार्वजनिक सेवाको सुलभता, आवतजावतको सहजताको र समुदायको प्रकृतिसँग तुलना गरी सुगमबाट दुर्गम र दुर्गमबाट सुगममा सरुवा गर्नुपर्नेलगायत व्यवस्था गरिएको छ । (सौस)

प्रतिक्रिया