मैले ओथारेका अन्डाहरू

हाम्रा हरेक साँझ सुरा र संगीतको मातमा झुमिरहेका हुन्थे त्यसताक । त्यस साँझ पनि हामी नसामा झुम्दै गीत गाइरहेका थियौँ । अरुण थापा, दीप श्रेष्ठ, राम गुरुङ र म । यत्तिकैमा गोपाल कर्माचार्य पनि आइपुगे । उनका साथमा एउटा सानो केटो पनि थियो, त्यस्तै नौ–दश वर्षको । कर्माचार्यले मलाई भने, ‘बुझ्यौ दिनेश, यो फुच्चे साह्रै राम्रो गाउँदो रहेछ । रत्नपार्कमा गाउँदै थियो, मलाई साह्रै मन पर्‍यो, त्यसैले लिएर आएँ । यसलाई थप प्रशिक्षण दिने हो भने मुलुककै राम्रो गायक हुने सम्भावना देख्छु म त । त्यसैले तिमीले यसको जिम्मा लिइदिनुपर्‍यो ।’ दुब्लो–पातलो बान्कीको त्यो बालक देख्दै मायालाग्दो थियो । स्वभाव पनि विनयशील अनि आज्ञाकारी टाइपको ।

‘तिम्रो नाम के हो बाबु ?’ उसले सहजै उत्तर दियो– रामकृष्ण ढकाल । थातथलो र पारिवारिक अवस्थाबारे जानकारी लिएपछि उसलाई एउटा गीत गाउन भनेँ । उसले पनि गाइहाल्यो, नारायणगोपालको स्वरमा रहेको यो गीत– ‘मलाई छोडी मेरो छाया कतै ढलेछ…।’ यति मीठो गायो नि, हामी त लट्ठै पर्‍यौँ । गीतका मोडहरूमा कतै पनि उसको घाँटीले अप्ठेरो महसुस गरेको थाहा भएन । उसको विवरण डायरीमा नोट गरिहालेँ । सोचेँ– साँच्चै नेपालले एउटा असल गायकी प्रतिभा पाउने भयो ।
२४/२५ वर्षको लक्काजवान थिएँ म पनि त्यस बेला । दार्जिलिङमा स्नातक सकेर काठमाडौं आएको । यहाँ आएर पनि संगीतमा विशारद गरेँ । संगीत शिक्षकका रूपमा जिन्दगी डोहोर्‍याइरहेको थिएँ, पाटनमा डेरा थियो । कोठामा एक्लै बस्थेँ, वरिपरिका वाद्यवादन सामग्री नै मेरा साथी । गोपालले रामकृष्ण जिम्मा लगाएपछि अबचाहिँ ऊ नै मेरो साथी भयो । प्राय: मैसँग रहन थाल्यो । उसलाई प्रशिक्षण दिन थालेँ । गाउँबाट भर्खरै सहर छिरेको केटोले संगीतको व्याकरण त कसरी जानेको होस् र † तर, स्वरको मूच्र्छना र सुर भने प्रकृतिले नै दिएजस्तो लाग्थ्यो उसलाई । मेहनत पनि राम्रै गर्‍यो, अनुशासित थियो । सिकाएको कुरा छिट्टै टिपिहाल्थ्यो । शब्दको भाव पनि चाँडै अनुभूत गर्ने ताकत उसमा थियो । मकहाँ आउँदा संगीतका ७० प्रतिशत गुण त ऊसँग जन्मजातै थिएजस्तो लाग्छ अहिले सम्झँदा । भलै संगीतको आधारभूत व्याकरण मैले नै सिकाएँ । हरेक मान्छेसँग आत्मगत गुण निहित हुन्छन् तर ती गुणले उपयुक्त वातावरण नपाएसम्म फक्रने अवसर पाउँदैनन् । कुखुरीले अन्डालाई ताप दिएर ओथारेजस्तै । अन्डामा चल्लालाई जन्मदिने गुण नभए कुखुरीले तातो दिएर मात्रै हुँदैन । त्यसै गरी अन्डा गतिलो भए पनि कुखुरीले तातोपन दिन सकेन भने पनि त्यहाँ चल्लो कोरलिँदैन । रामकृष्ण गायनको गुण र सामथ्र्य भएको एउटा अन्डा थियो, मैले बाहिरबाट तातो दिएर कोरलेको मात्र हुँ । हात समातेर हार्मोनियम बजाउन सिकाएँ । संगीतका आधारभूत सिद्धान्तबारे ज्ञान दिएँ । उसले गाएको पहिलो रेकर्डेड गीतको शब्द अनि संगीत पनि मेरै हो, ‘हाम्रो सुन्दर संसार थियो, हुरी आई उडाइदियो, अब हाम्रो माया आकाश धर्ती भो..†’
०००
करिब दुई दशकअघिको नेपाली सांगीतिक फाँट निकै फस्टाएको थियो । एक अर्थमा त्यसलाई नेपाली संगीतको स्वर्णकाल भन्दा पनि फरक पर्दैन । म पनि म्युजिक टिचिङ छाडेर प्रज्ञा प्रतिष्ठानमा जागिर खान थालेको थिएँ । नयाँनयाँ सांगीतिक प्रतिभा आउने क्रम जारी थियो । तीमध्ये थुप्रै गुणस्तरीय पनि थिए । रामकृष्णले गायनमा आफ्नो स्थान बनाइसकेका थिए । त्यति बेला नै यम बराल पनि मेरो सम्पर्कमा आए । उनी पनि मेरै विद्यार्थी । स्वर एकदमै मीठो छ, ट्युनिङ मिलेको । उनको गायकीले मलाई तान्यो । उति बेला हरेक नयाँ गायक वा संगीतकारको ध्यान रेडियो नेपालतिर हुन्थ्यो, भ्वाइस टेस्टका लागि । यम बराललाई पनि भ्वाइस टेस्टका लागि मैले नै पहिलोचोटि रेडियो नेपाल लिएर गएँ । त्यसमा पास भएपछि उनका लागि एउटा गीत तयार गरिदिएँ । उनले गाएको र चर्चा कमाएको पहिलो गीत ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा’ मा मैले संगीत दिएको हुँ ।
त्यसैताका सत्यराज आचार्य पनि मेरो कोठामा आउने गर्थे । उनका पिता भक्तराज आचार्य मेरा साथी हुन् । उनले ‘दिनेश अंकलको कोठामा जाने गर, उनीसँग बाजा सिक्नु’ भनेर पठाएका रहेछन् । उनलाई हार्मोनियम बजाउन सिकाएँ, भ्वाइस टेस्टका लागि रेडियो नेपाल पनि लिएर गएँ । उनी मेरो भतिजाका साथी पनि हुन् । सत्य मकहाँ सिक्न आउँदा उनका भाइ स्वरूपराज सानै थिए ।
शास्त्रीय संगीतमा राम्रो स्थान बनाएकी लोचन भट्टराई पनि मसँग संगीत सिक्थिन् । सांगीतिक पृष्ठभूमि राम्रो भएकी जेन्युन गायिका हुन् उनी । प्रगतिशील गायनबाट आएकाले उनलाई शब्दहरूको राम्रो ज्ञान थियो, तार्किक क्षमता पनि । त्यसै बेला आएका अर्का राम्रा गायक हुन्, यम बराल । वरिष्ठ संगीतकार नातिकाजीले उनलाई निकै रुचाएका थिए ।
०००
नेपाली सांगीतिक फाँटमा रमाउँदै गर्दा १६ वर्षअघि म हङकङ उडेँ । हङकङमा नेपालीहरूका लागि आइडीको व्यवस्था भयो । मेरो बुबा हङकङको आर्मी हुनुहुन्थ्यो । आइडी पाइने भएपछि ६ महिनाको बिदा लिएर सन् ११९६ को मार्चमा परिवारसहित गएँ म । सुरुमा निकै अत्यासलाग्दो भयो त्यहाँको बसाइ । आफू हराएजस्तो महसुस हुन थाल्यो । मान्छेको सबैभन्दा ठूलो सम्पत्ति पहिचान र आत्मसम्मान रहेछ । नेपालमा पैसा नभए पनि पहिचान थियो, साथीभाइ थिए । तर, भोकका अगाडि प्रतिष्ठा हार्दाे रहेछ । त्यहाँ पुगेको डेढ महिनापछि सेक्युरिटी गार्डमा काम गरेँ । त्यति नै बेला एउटा कम्पनीमा प्रोपर्टी म्यानेजरको काम मिल्यो ।
पेटको भोक मेटिए पनि संगीतको भोक भने अझ बढ्न थाल्यो । दबिएर बसेका आकांक्षा अनुकूल वातावरण पाउनासाथ बौरिँदा रहेछन् । मलाई फेरि संगीतमै काम गर्ने विचारले घेर्न थाल्यो । विस्तारै हार्मोनियम किनेँ, तबला किनेँ, गितार किनेँ । फुर्सदको समयमा तिनै बाजामा औँला खेलाउँदै संगीतको भोक मेट्न थालेँ । बिस्तारै हङकङमा नेपालीको बसाइ व्यवस्थित हुन थाल्यो । विद्यार्थीका रूपमा केही स्थानीय नेपाली मेरो सम्पर्कमा आउन थाले । पार्टटाइम रूपमा उनीहरूलाई संगीत सिकाउन थालेँ । त्यसपछि आफैँभित्रबाट हराइएको म बिस्तारै फिर्ता हुन थालेँ । जागिरे जीवनले पैदा गरेको विरक्ति बिस्तारै मेटिँदै गयो । एक दिन निर्णय लिएँ, ‘पूर्णकालीन सांगीतिक जीवनमै फर्किन्छु ।’
त्यही निर्णयमा आज मलाई गौरव महसुस छ । नेपालमै नभए पनि अहिले खुसी छु । हिमालयन टोन्स म्युजिक एकेडेमी नामको सांगीतिक स्कुल खोलेर धेरै नेपालीलाई संगीत सिकाएको छु, हङकङमा । विदेशी बालबालिकालाई हाम्रो सारंगीको भाका बुझाउँछु । मादल र डम्फुको तालको पृष्ठभूमि सिकाउँछु । रेसम फिरिरि… पढाउँछु । जति बेला संगीतको विकास नै भएको थिएन, त्यति बेला गाइने दाइहरूले गरेको खबर प्रवाहको इतिहास सिकाउँछु । उनीहरू हाम्रो बाजा बजाउँछन् । नेपाली संगीतको पृष्ठभूमि सुनेर हामीप्रति आस्थाको शिर झुकाउँछन् । म हर्षविभोर हुन्छु ।
०००
देश छोडेको डेढ दशक बढी भइसकेछ । विदेशी भूमिमा पनि पूर्णकालीन संगीतकार हुँ । पाँच सय हाराहारीका गीतमा संगीत भरेको छु । आफ्नै तीनवटा एल्बम निस्किएका छन् । विदेश गएपछि पश्चिमा संगीत पढेँ । बुझ्दै गएपछि आफ्नो देशको अवस्था देखेर टीठ लाग्दै आउने रहेछ । संगीत सिर्जनाको गहिराइमा पुग्ने प्रवृत्ति नेपालमा घट्दै गएको छ । बाजाका ताल सिक्न चाहने कलाकार निकै कम छन् । कम्प्युटर सफ्टवेयरको तालमा गाएर बजारमा ‘हिट’ हुनुमा आनन्दित मान्छन्, अहिलेका कलाकार । संगीतले दिने भाव र भाव दिने संगीत सिर्जनामा कोही लागेको देखिँदैन । भक्कानो फुटाएर रुँदा जसरी पीडा मत्थर हुन्छ, संगीतमार्फत त्यही स्तरको भावतरंग पैदा गर्न सक्ने सामथ्र्य हुनुपर्छ कलाकारसँग । तर, त्यसका लागि गर्नुपर्छ– साधना । तर, हामी सिर्जनातिर अझ खस्कँदो अवस्थामा छौँ । नारायणगोपाल, गोपाल योञ्जनको मृत्युपछि उनीहरूको कला अगाडि बढाउने कलाकारको अभाव छ । नेपालको सांगीतिक फाँटमा अम्बर गुरुङ मात्रै त्यस्ता एक हस्ती बाँकी छन्, जसले संगीतको हरेक विधा
जाने/बुझेका छन् ।

प्रस्तुति : प्रतिमा सिलवाल

प्रतिक्रिया