इरानद्वारा मध्यपूर्वमा नेटो संलग्नताको विरोध

तेहरान : टर्कीको सैन्य सुदृढीकरणका लागि नेटोले क्षेप्यास्त्रनिरोधी अस्त्र उपलब्ध गराउने भएपछि इरानले यसको विरोध गरेको छ । नेटोको सहयोग हासिल गरेपछि टर्कीको सुरक्षा थप संवेदनशील बन्ने भन्दै यसतर्फ सचेत रहन इरानले टर्कीलाई सुझाव दिएको छ ।
इरानका प्रतिरक्षामन्त्रीले शनिबार एक समाचार एजेन्सीसँगको कुराकानीमा यस्तो बताएका हुन् । सिरियाबाट हवाई हमला हुनसक्ने भन्दै टर्कीले आत्मरक्षाका लागि आºनो हवाई सैन्य क्षमता सुधार्न अपरिहार्य रहेको जनाएको थियो । यसका लागि उसले नेटोसँग सहयोग माग्दा क्षेप्यास्त्रनिरोधी अस्त्र उपलब्ध गराउन केही साताअघि नेटोले सहमत जनाएको थियो । नेटो र टर्कीबीच भएको यस्तो सहमतिप्रति आपत्ति जनाउँदै इरानले शनिबार सहयोग ग्रहण गरे टर्कीको सुरक्षा जोखिम थप बढ्ने चेतावनी दिएको हो ।
‘टर्कीमा स्थापना गरिने क्षेप्यास्त्रले कुनै पनि कोणबाट टर्कीको सुरक्षामा सुधार ल्याउने देखिँदैन, बरु यसले टर्कीलाई उल्टै हानि पुर्‍याउनेछ,’ इरानी समाचार एजेन्सी आइएसएनएसँगको कुराकानीमा इरानी प्रतिरक्षामन्त्री अहमद भाहिदीले भने । पश्चिमी जगत्ले यस क्षेत्रमा आफ्नो स्वार्थ रक्षा गर्न सदैव प्रयत्न गर्ने गरेको उल्लेख गर्दै उनले यस क्षेत्रका राष्ट्रबीचको सम्बन्धमा पश्चिमी राष्ट्रको संलग्ताको विरोध गर्ने नीतिप्रति इरान अटल
रहेको दोहोर्‍याए ।
सिरियासँग सीमा जोडिएको मुलुक टर्कीले सिरियाली राष्ट्रपति बसर अल असदविरुद्ध संघर्ष गरिरहेका सशस्त्र विद्रोहीको पक्ष लिँदै आएको छ । तर, इरानले भने सिरियामा विदेशी घुसपैठ भएको भन्दै असदको पक्ष लिँदै आएको छ । टर्की मध्यपूर्वमा पश्चिमी राष्ट्रको दरिलो सैन्य साझेदार हो । अमेरिकालगायत पश्चिमी राष्ट्रले इजरायल र टर्कीमार्फत मध्यपूर्वमा गतिविधि सञ्चालन गर्दै आएका छन् । अमेरिका, युरोपेली राष्ट्र, साउदी अरब, कतारलगायत मुलुकले टर्कीमार्फत सिरियाका विद्रोहीलाई सैन्य सहयोग उपलब्ध गराउने गरेको भन्दै सिरियाली सरकारले पटक–पटक यसको आलोचना गरिसकेको छ । इरानी अधिकारीले पनि यस्तै भनाइ पटक–पटक दोहोर्‍याइसकेका छन् । सिरियामाथि हमला गरेर गल्ती नगर्न इरानले टर्कीलगायत उसका साझेदार मुलुकलाई सचेत गराइसकेको छ ।
टर्कीमा क्षेप्यास्त्रनिरोधी प्रणाली स्थापना गर्ने नेटोको प्रयासलाई विदेशमन्त्री भाहिदीले ‘क्षेत्रीय मामिलामा पश्चिमी राष्ट्रको हस्तक्षेप’को संज्ञा दिएको छ । आफूहरूको विरोधका बाबजुत टर्कीमा क्षेप्यास्त्र प्रणाली तैनाथ गरिए विश्वयुद्ध आरम्भ हुन सक्ने चेतावनी इरानले यसअघि दिइसकेको छ । सिरियाविरुद्ध आक्रमण भए इरान र लेबनानको सशस्त्र समूह हिजबुल्लाहले सिरियाका पक्षमा युद्ध लड्ने अनौपचारिक रूपमा यसअघि जनाइसकेका छन् ।
विद्रोहीविरुद्ध संघर्षरत सिरियाली सेनालाई इरानले तालिम दिएको भन्ने आरोपको समेत प्रतिरक्षामन्त्री भाहिदीले खण्डन गरे । ‘सिरियासँग आºनै बलियो सेना छ । यस्तोमा हामीले सिरियाली सैनिकलाई तालिम दिने प्रश्नै आउँदैन । फेरि सिरियालाई यसको आवश्यकता नै छैन किनकि उसको सेना यहुदीवादविरुद्ध लड्न सदैव तत्पर छ,’ उनले भने ।
केही साताअघि सिरिया र टर्कीबीचको सीमाक्षेत्रमा गोली हानाहान भएको थियो । सिरियाली भूमिबाट आफ्नो भूमिमा भीषण गोलाबारी भएको आरोप लगाउँदै प्रत्याक्रमण गर्ने चेतावनी टर्कीले दिएको थियो । त्यतिबेला समेत इरानले सिरियामाथि आक्रमण गर्ने बहाना नेटोले खोजिरहेको आरोप लगाएको थियो । टर्की, सिरिया र यस क्षेत्रमा अन्य राष्ट्रलाई विवादमा अल्झाएर इस्लामिक पुनर्जागरणलाई ओझेलमा पार्ने षड्यन्त्र पश्चिमी जगत्ले रचेको आरोप लगाउँदै इरानले यसप्रति टर्की चनाखो बन्नुपर्ने आँैल्याएको थियो । (एजेन्सी)

प्रतिक्रिया