३० देखि ३५ उमेरका जुवाडे धेरै

काठमाडौं, ८ पुस । जुवाडेमा ३० देखि ३५ वर्ष उमेर समूहका व्यक्ति ज्यादा रहेको पाइएको छ । क्यासिनोको खालमा पक्राउ परेका जुवाडेको उमेर समूहलाई विश्लेषण गर्दा प्रहरीले यो तथ्य फेला परेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले नौ महिनाभित्र राजधानीका क्यासिनोमा पक्राउ गरेका ३ सय ६० मध्ये १ सय ८४ जनामाथि विश्लेषण गर्दा ३२ प्रतिशत ३० देखि ३५ वर्षका भेटिए । त्यसपछि क्यासिनो धाउनेमा २५ देखि ३० वर्ष उमेर समूहका धेरै छन् । तथ्यांकअनुसार क्यासिनो धाउने १८.४७ प्रतिशत यस उमेर समूहका छन् ।
क्यासिनोमा भेटिएकामध्ये १३ प्रतिशत २० देखि २५ वर्ष उमेर समूहका युवा पाइए । यस्तै, ३५ देखि ४० वर्ष उमेर समूहका व्यक्ति चौथो स्थानमा आउँछन् । ११.९५ प्रतिशत जुवाडे यस उमेर समूहका छन् । क्यासिनो जानेमध्ये सबैभन्दा न्यून १५ देखि २० वर्ष उमेर समूहका छन् । क्यासिनोको खालमा पक्राउ परेकामध्ये ०.५६ प्रतिशत मात्रै यस उमेर समूहका थिए ।
प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी जयबहादुर चन्दका अनुसार बढ्दो महत्त्वाकांक्षाले ३० देखि ३५ उमेर समूहका धेरैलाई क्यासिनो पुर्‍याउँछ । एसएसपी चन्दले भने, ‘यस उमेरका मानिस घरजम बसाउने क्रममा हुन्छन्, धेरथोर पैसा पनि कमाएका हुन्छन् र अभिभावकको नियन्त्रणमा पनि रहन्नन् । उनीहरू मोजमस्तीमा रमाउन चाहन्छन् ।’
पैसा उडाउने नभई कमाउने मनसायले पनि यस उमेरका मानिस क्यासिनो जाने गरेको एसएसपी चन्दको भनाइ छ । ७० वर्ष उमेर पुगेका वृद्ध पनि क्यासिनोका खालमा भेटिने गरेको तथ्य उल्लेख गर्दै एसएसपी चन्दले भने, ‘कतिपय मानिस एडिक्ट भइसकेका हुन्छन्, उमेरको उत्तराद्र्धमा पनि क्यासिनोको खालमा पक्राउ पर्छन् ।’
क्यासिनोमा जुवा खेल्न जाने जुवाडेमध्ये सबैभन्दा धेरै काठमाडौंका बासिन्दा रहेको पाइएको छ । क्यासिनोको खालमा पक्राउ परेका ३ सय ६० मध्ये २ सय जुवाडेका स्थायी वतन काठमाडौं हो । काठमाडौंपछि नुवाकोट, धादिङ, ललितपुर, काभ्रे, भक्तपुरलगायत आसपासका जिल्ला छन् ।
काठमाडांैका बासिन्दा क्यासिनोमा धेरै भेटिनु स्वाभाविक ठान्छन्, एसएसपी चन्द । उनी भन्छन्, ‘क्यासिनोमा जाने भनेकै पैसावाला मान्छे हो, धेरै पैसा हुने भनेका राजधानीका बासिन्दा नै हुन्, क्यासिनोमा उनीहरू भेटिनु स्वाभाविक हो ।’
जातिगत आधारमा सबैभन्दा धेरै बाहुन–क्षत्री समुदायका मानिस जुवाडे भएको भेटिएको छ । प्रहरीले क्यासिनोमा पक्राउ गरेका तीन सय ६० मध्ये दुई सय जुवाडेलाई जातीय आधारमा विश्लेषण गर्दा ४८.५ प्रतिशत क्षत्री–बाहुन समुदायका पाइए । त्यसपछि जनजाति समुदायका मानिस धेरै जुवाडे रहेको देखिन्छ । ४६ प्रतिशत जुवाडे जनजाति समुदायका छन् ।
एसएसपी चन्दका अनुसार क्यासिनोमा क्षत्री–बाहुन समुदायका मानिस धेरै भेटिनुमा मजबुत आर्थिक अवस्था नै प्रमुख कारण हो । उनी भन्छन्, ‘क्षत्री–बाहुनको आर्थिक अवस्था अरूको भन्दा राम्रो हुन्छ, त्यसैले उनीहरू क्यासिनोमा भेटिनु स्वाभाविक हो । पछिल्ला दिनमा जनजाति समुदायका मानिस पनि क्यासिनोमा उल्लेख्य भेटिने गरेका छन् । लाहुरे संस्कृति र वैदेशिक रोजगारले यस्तो भएको हो ।

प्रतिक्रिया