ट्रमा सेन्टर सञ्चालन लम्बेतान

काठमाडौं, ८ पुस । निर्माण सम्पन्न भएको पाँच वर्षसम्म पनि सञ्चालनमा आउन नसकेको इमर्जेन्सी तथा ट्रमा सेन्टर रहेको जग्गा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)कै नाममा रहने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताल परिसरको ट्रमा सेन्टर रहेको ‘जग्गा न्याम्सकै रहने’ भनी पत्र पठाएपछि पुन: जग्गा विवादका कारण सञ्चालनमा लम्बेतान हुने देखिएको छ ।

लामो समयदेखि जग्गा र राजनीतिक समस्याका कारण ट्रमा सेन्टर सञ्चालनमा आउन सकेको छैन । न्याम्सको जग्गामा रहेको ट्रमा सेन्टर सरकारले सञ्चालन गर्ने निर्णयलगत्तै सुरु जग्गा विवाद मन्त्रालयले २५ मंसिरमा ‘ट्रमाका नाममा तत्काल जग्गा दिन नमिल्ने’ पत्र पठाएपछि बढेको हो । गत २१ वैशाखमा ट्रमालाई न्याम्सअन्तर्गत नभई सरकारले नै केन्द्रीय स्वास्थ्य संस्थाका रूपमा सञ्चालन गर्ने निर्णय गरेपछि सरकार र न्याम्सबीच जग्गा विवाद भएको थियो ।
विवादका कारण ट्रमा सञ्चालनमा बाधा आएपछि ट्रमाका निर्देशक डा. अशोक बज्राचार्यले मन्त्रालयलाई २८ असोजमा ट्रमाको भवन रहेको जग्गा र नक्सा ट्रमाकै नाममा नामसारी गर्न पत्र पठाएका थिए । सोही पत्रका आधारमा मन्त्रालयले २५ मंसिरमा ट्रमा सेन्टरका लागि जग्गा र भवनको स्वामित्व अधिकरण गर्न कानुनी रूपमा नमिल्ने भन्दै पत्र पठाएको हो । मन्त्रालयको सो पत्रले ट्रमा सञ्चालनमा पुन: अवरोध उत्पन्न गरेको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
निर्माण सम्पन्न भएदेखि नै ट्रमा सेन्टर कसको स्वामित्वमा रहने भन्ने विवादका कारण सञ्चालनमा आउन नसकेकोमा पुन: जग्गा विवादले ढिलाइ बनाउने मन्त्रालयको चिकित्सा महाशाखा प्रमुख डा. तीर्थराज बुर्लाकोटीको भनाइ छ । ‘ट्रमा सरकारले चलाउने भनिएको छ तर ट्रमा भने न्याम्सको जग्गामा छ,’ डा. बुर्लाकोटीले भने, ‘यही कारण फेरि केही समय ट्रमा सञ्चालनमा अवरोध हुने देखिएको छ ।’ उनका अनुसार ट्रमालाई गत पुसदेखि नै सञ्चालनमा ल्याउने भनिए पनि न्याम्स कि मन्त्रालयअन्तर्गत भन्ने विवाद भएपछि ढिलाइ भएको छ ।
मन्त्रालयका उच्च तहका कर्मचारीले ट्रमा सञ्चालनमा समस्या आउनुमा न्याम्सबाट छुट्टयाउनु नै प्रमुख कारण रहेको बताउँदै आएका छन् । ‘पहिला भारत सरकारले हस्तान्तरणमा ढिलाइ गर्दा सञ्चालनमा ढिलाइ भएको थियो,’ एक कर्मचारीले भने, ‘पछि ट्रमालाई न्याम्सबाट छुट्टयाउनाले समस्या बढ्यो ।’
सुरुमा ट्रमा सेन्टर न्याम्सअन्तर्गत सञ्चालन गर्ने तयारी थियो । न्याम्सले पनि ०६८ पुसदेखि नै ट्रमा सेन्टर सञ्चालनका लागि प्रक्रिया पूरा गरिसकेको थियो । न्याम्सले ट्रमाका लागि पहिलो चरणमा १४ डाक्टर र १५ नर्सलाई तालिम लिन भारत पठाउन भनेर मन्त्रालयमा कात्तिकमा नामावली पठाएको थियो । त्यस्तै, संस्थाले ५ सय ९८ कर्मचारीमध्ये सुरुमा २ सय ६० जना भर्ना गर्न आवश्यक तयारीसमेत गरिसकेको थियो । तर, मन्त्रालयले सेन्टरको स्वामित्व टुंगो नलागेको भन्दै २८ मंसिरमा पहिलोपटक र २० पुसमा दोस्रोपटक पत्र पठाएर कुनै पनि नियुक्ति नगर्न निर्देशन दिएपछि काम रोकिएको न्याम्सका उपकुलपति डा. दामोदर पोखरेलले जानकारी दिए ।
‘पहिला त न्याम्सले सुरु गरेको कामै रोकियो,’ उपकुलपति डा. पोखरेलले भने, ‘पछि त झन् न्याम्सबाटै ट्रमालाई छुट्टयाइएपछि यसको भविष्य अन्धकार भएको हो ।’ उनले ट्रमा न्याम्सअन्तर्गत नै सञ्चालन गर्न दिने हो भने न्याम्सले तत्काल सञ्चालनमा ल्याउन सक्ने बताए ।
ट्रमा सेन्टर सञ्चालनका लागि ०६६ सालदेखि सरकारले १५ करोड रुपियाँ छुट्टयाउँदै आएको छ । हरेक आर्थिक वर्षमा ट्रमा सेन्टरका लागि छुट्टयाइएको करोडौँ रकम फ्रिज हुने गरेको छ । स्वास्थ्यसचिव डा. प्रवीण मिश्र पछिल्लो समय ट्रमा सेन्टर सञ्चालनका लागि प्रगति हुन नसकेको बताउँछन् । ‘ट्रमा सेन्टर सञ्चालनको तयारी भने भइरहेको छ, भारत सरकारले हस्तान्तरण गर्नेबित्तिकै सञ्चालनमा आउँछ,’ उनको भनाइ छ ।

प्रतिक्रिया