सहमति खोज्ने जिम्मेवारी शीर्ष नेतृत्वमा

काठमाडौं, ७ पुस । एकीकृत माओवादीले सहमतीय सरकार बनाउँन वार्ता र सम्वादको जिम्मेवारी पार्टीका प्रमुख चार नेतालाई दिएको छ ।
काठमाडौंमा आज बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले सहमतीय सरकार बनाउन पहल गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ तथा सचिव पोष्टबहादुर बोगटीलाई दिएको हो । उनीहरुले विपक्षी दलहरुसँग परामर्श थाल्ने छन् ।
बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता अग्नि सापकोटाले सहमतीय सरकार बनाउन वार्ता र सम्वाद गर्ने निर्णय भएको जानकारी दिए । उनले वार्ता र सम्वादका कुराकानीका बारेमा जथाभावी नबोल्ने निर्णय भएको पनि बताए ।
बैठकले वर्तमान सरकारलाई नै सहमतीय बनाउन पहल गर्ने छ । ‘बाबुराम भट्टराई नेतृत्वको सरकारमा सहमति जुट्न नसके गठबन्धनबाटै विकल्प तयार गर्ने सहमति भएको छ,’ एक सदस्यले भने, ‘त्यसमा पनि सहमति नभए उपलब्धि रक्षा गर्ने शर्तमा अरुको नेतृत्वमा सरकार बनाउन पनि सकिने छ ।’
कांग्रेस नेतृत्वमा सरकार बनाउने तयारी भई रहेका समयमा एमाओवादीले वर्तमान सरकारलाई निरन्तरता दिन पहल गर्ने निष्कर्ष सार्वजनिक गरेको छ । एमाओवादीको निर्णयलाई कांग्रेस र एमालेले प्रतिक्षा गरेर बसेका छन् ।

प्रतिक्रिया