नेपाली विद्यार्थीलाई पढाइन्छ, जन गण मन

काठमाडौं, ७  पुस । राजधानीमा सञ्चालित एक विद्यालयले कलिला नेपाली बालबालिकालाई भारतको राष्ट्रिय गान ‘जन गण मन’ घोकाइरहेको छ । ललितपुरको धोबीघाटस्थित डिएभी स्कुलले वर्षौंदेखि यस्तो दुष्कार्य गरिरहे पनि सम्बन्धित निकायको ध्यान पुगेको छैन ।
कक्षा २ मा पठनपाठन गरिँदै आएको ‘माई बिग बुक सोसल स्टडिज’ विषयको पाठ्यपुस्तकमा हाम्रो महान् देश भारत, राष्ट्रिय झन्डा तिरंगा, राष्ट्रिय गान जन गण मन, राष्ट्रिय जनावर बाघलगायत कुरा उल्लिखित छन् । विद्यालयमा १ देखि ४ कक्षासम्म भारतको सेन्ट्रल बोर्ड अफ सेकेन्डरी अनुसारको
पाठ्यक्रम पढाइ हुने गर्छ । ५ देखि १० कक्षासम्म भने भारत वा नेपालको पाठ्यक्रम विद्यार्थीले छान्न पाउँछन् ।
विद्यालयका शिक्षक राजेन्द्र मानन्धरले साना बालबालिकालाई म भारतीय हुँ भनेर पढाइने गरेको बताए । ‘बालबालिकालाई सानैदेखि भारतीय राष्ट्रियता अध्ययन गराइन्छ,’ उनले भने, ‘हामीले किताबमा भएको कुरा पढाउनुको विकल्प हँुदैन ।’ विद्यालयमा ३५ प्रतिशत भारतीय र बाँकी नेपाली विद्यार्थी अध्ययनरत छन् ।
यति मात्र होइन, गौतम बुद्ध ‘भारतमा जन्मिएको र लुम्बिनी भारतमा पर्ने’ सो स्कुलको पाठ्यपुस्तकमा लेखिएको छ । विद्यालयले अध्ययन गराउने कक्षा ६ को ‘इन्ट्रिगेटेड सोसियल साइन्स’ विषयको पाठ्यपुस्तकमा समाविष्ट ‘ग्रोथ अफ न्यु आइडियाज’ शीर्षक पाठमा गौतम बुद्ध भारतमा जन्मेको उल्लेख छ ।
पुस्तकको पृष्ठ ४५ मा ‘दुई हजार पाँच सय वर्षअघि भारतमा दुई महान् हस्ती गौतम बुद्ध र महावीर जन्मिएको’ भनी उल्लेख गरिएको हो । पुस्तकमा लुम्बिनी भारतमा भएको कुरा पनि प्रस्ट उल्लेख छ । शिक्षा मन्त्रालयसँग सम्बन्धन लिएर सञ्चालित विद्यालयले भारतको सेन्ट्रल बोर्ड अफ सेकेन्डरी र इन्डिया सर्टिफिकेट अफ सेकेन्डरी एजुकेसनलबाट पनि मान्यता पाएको छ ।
अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष गुणराज लोहनीले भारतीय राष्ट्रियताको पाठ्यपुस्तक नेपालमा अध्यापन गराउनु आपत्तिजनक रहेको बताए । ‘यो नेपाली राष्ट्रियतामाथिको प्रहार हो,’ उनले भने, ‘विद्यालयमा भारतीय राष्ट्रियताका पाठ्यपुस्तक अध्यापन गरी नेपालीहरूको स्वाभिमान र राष्ट्रियतामाथि सिधै धावा बोल्न खोजिएको छ ।’ उनले सरकारको लाचारीपनले गर्दा यस्तो भएको बताए । विद्यालय बन्द गर्न ५ वर्षअगाडि शिक्षा मन्त्रालयले निर्देशन पनि दिइसकेको थियो । तर, सञ्चालक अनिल केडियाले बेवास्ता गर्दै विद्यालय चलाइरहेका छन् ।

प्रतिक्रिया