गुजरातमा फेरि मोदी

अहमदाबाद : गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदी पुन: अर्को कार्यकालका लागि सोही पदमा निर्वाचित भएका छन् । बिहीबार बेलुका समाचार तयार पार्दासम्मको राज्यसभा निर्वाचनको मतगणनाले मोदीलाई पुन: मुख्यमन्त्रीमा निर्वाचित गराउन पुग्ने मत उनका पक्षमा खसेको देखाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जितसँगै उनी लगातार तेस्रापटक गुजरातको मुख्यमन्त्री बन्ने पक्का भएको हो ।
४ नोभेम्बर र १७ डिसेम्बर गरी दुई चरणमा गुजरातमा राज्यसभा निर्वाचन भएको थियो । भारतको निर्वाचन आयोगलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार एक सय ८२ सिटका लागि भएको निर्वाचनमा मोदीको दल भारतीय जनता पार्टी (भाजपा)ले ७७ सिटमा विजयी हासिल गरिसकेको छ । साथै, ३९ सिटमा भाजपाले अग्रता लिएको जनाइएको छ । भारतको सत्तारुढ दल कांग्रेस आईले भने ४२ सिट जितेको छ भने आठ सिटमा मात्रै अग्रता कायम गर्न सो दल सफल भएको छ । भारतीय निर्वाचन आयोगमा गुजरातका चार करोड मतदाताको नाम दर्ता भएकामा ७१ प्रतिशतभन्दा बढी मतदाताले निर्वाचनमा मत खसालेको अनुमान गरिएको छ । गुजरातको जनसंख्या ६ करोडको हाराहारीमा छ ।
सन् २००१ यता मोदीले लगातार गुजरातको मुख्यमन्त्री पद सम्हाल्दै आएका छन् । हिन्दू–मुस्लिम दंगाले उनलाई मुख्यमन्त्री पदमा जिताएको थियो । मुस्लिमविरोधी हिन्दू भावना भड्काएर मोदीले राजनीति गरेको भन्दै उनको आलोचना हुने गरेको छ । अधिकारकर्मी र मुसलमान समुदायका मानिसले मोदीको चर्को आलोचना गर्ने गरेका छन् । तर, उनकै नेतृत्वमा गुजरातले आर्थिक क्षेत्रमा ठूलो फड्को मारेको छ ।
भारतका ‘हिन्दू राष्ट्रवादी नेता’को छवि बनाएका मोदीलाई उनका आलोचकले ‘दक्षिणपन्थी दल भाजपाका प्रतिनिधि पात्र’का रूपमा चित्रण गर्ने गरेका छन् । सन् २००२ मा उनले गुजरातमा हिन्दू–मुसलमान दंगा फैलाएको आरोप लगाइन्छ । दंगाका कारण गुजरातमा करिब दुई हजारको मृत्यु भएको थियो । (एजेन्सी)

प्रतिक्रिया