आगलागीले आतंक

रसुवा, ६ पुस । रसुवाको उत्तरी टिमुरे र लाङटाङ आसपासको जंगलमा आगलागी भएको छ । बिहीबार बिहान दश बजेतिर आगोको मुस्लो सदरमुकामबाट देखेपछि जिल्लामा आगलागी थाहा भएको हो । आगोको मुस्लो देखिएपछि ज्वालामुखी विस्फोटको आशंका भए पनि कुनै धक्का तथा विस्फोटको आवाज भने नआएको स्थानीयले बताए ।
राजधानीबाट सेनाको हेलिकोप्टरले आगो निरीक्षण गरेर फर्केको थियो । मानव बस्तीभन्दा टाढा भएकाले प्रहरी घटनास्थलमा पुग्न सकेको छैन । सदरमुकामबाट पैदल हिँडेर तीन दिन लाग्ने स्थानमा सेनाको हेलिकोप्टर पुगेर फर्के पनि कसरी आगलागी भयो भन्नेबारे खुलेको छैन । डिसेम्बर २१ मा संसार समाप्त हुने हल्लासँगै रसुवामा धुँवाको मुस्लो देखिएपछि ज्वालामुखी विस्फोट भएको हल्लाले बिहीबार दिनभर आतंक नै मच्चाएको थियो । टिमुरे र वृद्धिमको लेक दूधकुण्ड मार्ग र पाङसाङ खर्कमाथिको जंगलमा वनमा भीषण आगलागी भएको स्थानीय दावा तामाङले बताए ।

प्रतिक्रिया