बलात्कारको विरोध गर्नेलाई पानीको फोहोरा

नयाँदिल्ली : गुडिरहेको सवारी साधनमै एक २३ वर्षीय छात्रामाथि सामूहिक बलात्कार भएपछि घटनाको विरोधमा उत्रिएका माथि भारतीय राजधानी नयाँदिल्लीमा प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ । केटा साथीसँग बसमा हिँडिरहेकी छात्रामाथि आइतबार राति दिल्लीको दक्षिणी भागमा बसभित्रै सामूहिक बलात्कार भएको थियो । बलात्कारपछि छात्रालाई बसबाहिर फ्याँकिएको थियो । बलात्कृत छात्रको अस्पतालमा उपचार भइरहेको र उनको अवस्था अझै चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ ।
राजधानी नयाँदिल्लीका विभिन्न स्थानमा बुधबार घटनाको विरोधमा प्रदर्शन भए । नयाँदिल्लीकी मुख्यमन्त्री शिला दीक्षितको घरअगाडि भेला भएर प्रदर्शनकारीले नाराबाजी गरे । प्रदर्शनकारीले सडकका रेलिङ तोडफोड गर्न थालेपछि प्रहरीले उनीहरूमाथि पानीको फोहोरा प्रहार गरेको थियो । प्रदर्शनकारीमध्ये अधिकांश क्याम्पसका विद्यार्थी छन् । प्रदर्शनकारीले महिलाको सुरक्षा सुनिश्चित गर्न मुख्मन्त्री दीक्षितसँग माग गरेका थिए । अधिकांश प्रदर्शनकारीले ‘हामी महिलाका लागि बराबर हक माग गर्छौँ’ लेखिएको ब्यानर बोकेका थिए । प्रदर्शनकारीलाई विपक्षी सांसद, विद्यार्थी र महिला अधिकारवादीले समर्थन गरेका छन् ।
बुधबारै विपक्षी भारतीय जनता पार्टीका महिला सांसदले संसद् भवनअगाडि प्रदर्शन गरे । साथै, सयौँ विद्यार्थीले नयाँदिल्लीस्थित प्रहरी मुख्यालयबाहिर बलात्कारको विरोधमा नाराबाजी गरे ।
बसचालकसहित बलात्कारमा संलग्न भएको आरोपमा चारलाई पक्राउ गरिएको छ । पक्राउ परेकामध्ये तीनलाई बुधबारै अदालतमा हाजिर गराई हिरासतमा लिइएको छ । घटनाका पाँचाँै दोषीलाई प्रहरीले बिहारमा पक्राउ गरेको छ । मुद्दा चलाउन उनलाई नयाँदिल्ली ल्याउँदै गरिएको समाचारमा जनाइएको छ ।
घटनाले ठूलो विवाद निम्त्याएपछि भारतको सत्तारुढ कांग्रेस आई अध्यक्ष सोनिया गान्धीले मंगलबार बलात्कृत छात्रा उपचाररत अस्पतालमा पुगेर उनको स्वास्थ्यस्थिति बुझेकी थिइन् । यस्ता घट्ना रोक्न ‘हरसम्भव सशक्त कदम’ चालिनुपर्ने उनले बताएकी थिइन् । मुख्यमन्त्री दीक्षितलाई पत्र लेखेर उनले ‘यस्ता हिंसा तथा अपराधको भत्र्सना मात्र गरेर नपुग्ने र यसविरुद्ध संघर्ष गर्नुपर्ने’ बताएकी थिइन् । घटनापछि सरकारको चौतर्फी आलोचना हुन थालेपछि गृहमन्त्री सुशीलकुमार सिन्धेले सिसामा रङ लगाएका वा पर्दा राखिएका बसमाथि छानबिन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
भारतीय प्रधानमन्त्री मनमोहन सिंहसहित उनको दलले घटनाको भत्र्सना गरेको छ । बलिउड अभिनेता अमिताभ बच्चनले ‘प्रहरी, सैनिक तथा कमान्डर बनेर यस्ता गम्भीर अपराध रोक्न बल तथा दृढताका साथ लागिपर्न’ फेसबुकमार्फत आग्रह गरेका छन् ।
भारतमा महिलामाथि पटकपटक हिंसा हुने गरेको छ । गत वर्ष भारतमा भएका दुई लाख ५६ हजार तीन सय २९ हिंसामध्ये दुई लाख २८ हजार ६ सय ५० हिंसा महिलामाथि भएका थिए । सन् १९९० को तुलनामा सन् २००८ मा भारतमा बलात्कार घटना दोब्बर भएको छ ।
छात्राको उपचारमा संलग्न एक चिकित्सकले उनको शरीरमा लागेको चोट ‘शब्दले बयान गर्न नसकिने खालको भएको’ बताएका छन् । छात्रालाई बसको पछाडि ल्याएर कुटपिट गरी बलात्कार गरिएको थियो ।
केटासाथीसँग सिनेमा हेरी फर्कंदै गरेको अवस्थामा छात्रामाथि ४० मिनेटसम्म सामूहिक बलात्कार भएको थियो । छात्रालाई बचाउन उनका केटा साथीले संघर्ष गर्दा उनलाई बलात्कारीहरूले फलामको छडले प्रहार गरेका थिए ।
भारतमा बलात्कारका लागि अधिकतम १० वर्षको काराबास सजायको व्यवस्था छ । नयाँदिल्लीका प्रहरी प्रमुखले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया