घ्यू र मह बोकेर घरमै आए

कलाकारितामा लागेर के के पाइस् भनेर मलाई कसैले प्रश्न राख्यो भने मेरो एउटै उत्तर हुन्छ– फ्यान । कलाकारितामा सीताराम कट्टेल अर्थात् मलाई धुर्मुस, नेता केपी ओली, खड्काजी जस्ता आफूले अभिनयको सिलसिलमा निर्बाह गरेका उपनामले चर्चित हुन पनि केबल फ्यानकै कारणले सम्भव भएको हो । त्यसैले मेरा फ्यानहरू मेरालागि महान् छन् । उनीहरूकै कारणले म स्वदेशमा मात्र होइन विदेशमा पनि चिनिएको छु ।
टेलिश्रृंखला ‘मेरी बास्सै’ मा अभिनय गरेदेखि नै मैले धेरै फ्यान पाएको छु । उक्त श्रृंखला गरिब–दु:खीप्रति बढी समर्पित भएको र मेरो पनि भूमिका त्यस्तै भएकाले पनि मेरा धेरै फ्यान पहाडतिरका छन् । त्यस श्रृंखलामा अभिनय गर्ने सिलसिलामा पहाडी यात्राका क्रममा पनि मेरा फ्यान बढेका छन् । ती फ्यानहरूमा मप्रतिको चासो र सकारात्मक सोच भएको पाउँदा म आफूलाई संसारकै भाग्यमानी कलाकार भएको महसुस गर्छु । ती पहाडी जिल्लामा कार्यक्रममा जाँदा बालकदेखि वृद्धसम्मका मेरा फ्यान मलाई भेट्न र प्रत्यक्ष हेर्नका लागि मात्रै भनेर दुई दिनको बाटोसम्म हिँडेर आउने गरेका छन् । ती फ्यानले मलाई हेर्न र भेट्न गरेको दु:ख सम्झदा स्वयंभित्र कलाकारिताको अझ हलक्क महत्त्व बढेर आएको अनुभूत हुन्छ ।
केही दिन पहिले धनगढी महोत्सव जाने अवसर पाएँ । उक्त महोत्सवमा करिब ४५–५० हजारजना थिए । ती सबै दर्शक हाम्रो मायाले नै आएका थिए । म र सुन्तलीको कन्सर्ट प्रस्तुति हेर्न दर्शक ओइरिएको आयोजकबाट सुनेपछि झन् मप्रति फ्यानहरूको माया अतुलनीय नै भएको मैले महसुस गरे । फ्यानको कुरा गर्नुपर्दा मलाई याद आउने धेरै ठाउँका कार्यक्रममध्ये बैतडी महोत्सव पनि एक हो ।
त्यसो त मेरो वास्तविक नाम एउटा छ र कलाकारितामा मैले धेरै पात्रका भूमिका निर्वाह गरेको छु । ती भूमिका अनुसारका बेग्ला बेग्लै फ्यान छन् । कतिले मेरो धुर्मुस क्यारेक्टरलाई मन पराउँछन् भने कतिले नेता केपी ओली र खड्काजीलगायतको भूमिका रुचाउँछन् । त्यसैले मेरा फ्यान पनि ती क्यारेक्टर अनुसारकै छन् । मेरा अधिकांश फ्यान युवाहरू नै हुन् । ती फ्यान कतिले मलाई हग गरौँ भन्छन् भने कतिले हातमा र कतिले गालामा अटोग्राफ लेखाउँछन् ।
विवाह हुनुभन्दा पहिले त मलाई मनपराउने युवती फ्यानहरू धेरै थिए । अझ मेरो विवाह नभइ मलाई मनपराउने फ्यानहरू धेरै थिए । प्रेमपत्र कोरेर मेरोबारे प्रशंसा गर्ने फ्यानहरू धेरै थिए । भेट्यो कि, विवाहको प्रपोज राख्ने फ्यानहरू गल्लीगल्लीमा भेटिन्थ्यो । मेरो विवाह भएपछि त्यस्ता फ्यानचाहिँ बिस्तारै कमी भएर गए । मेरो यो मानेमा फ्यानहरू घटे भन्नेचाहिँ होइन । विवाह पछि पनि मैले धेरै केटी फ्यानहरू पाएको छु । म (श्रीमती ) सुन्तलीकै अगाडि केटी फ्यानहरूलाई हग (अंकमाल) गर्छु । फ्यानसँगको संगतले मैले एउटा कुरा भने बुझेको छु, त्यो के हो भने फ्यानहरूसँग नजिक हुन कलाकारमा बढी स्टारडम हुनहँुदैन ।
मेरा केही क्रेजी फ्यान पनि छन्, जसकाकारणले म आज यहाँसम्म आइपुग्न सफल भएको हो । ती फ्यान मैले कलाकारिता सुरु गर्दा देखि नै मसित छन् । ती फ्यानले मलाई राति अबेरसम्म बिभिन्न क्यारिकेचर गर्न लगाएर मलाई हौसला प्रदान गरिरहन्थे । सधैँजसो यो क्रम चलेपछि मलाई फ्यानहरूले गिल्ला गरे भन्ने लाग्यो । त्यसपछि मोवाइलको स्विच अफ गरेर राख्न थालेँे । मेरो मोबाइल अफ हुन थाले पनि फेरि खोलेको समयमा क्यारिकेचर गर्न लगाएर मलाई उडाउने फ्यानले फोन नै गरेर माफी पनि मागे ।
कैलालीका एक फ्यान मलाई अक्सर याद आइरहन्छन् । उनी मलाई एक माना घ्यू र मह पुर्‍याउन लामोबाटो हिँडेर आपैँm आएका थिए । यस्तैयस्तै अन्य धेरै फ्यान पनि मैले पाएको छु । एकदिन मैले चौधरी थरको एक फ्यान भेटेँ । उनले पहेलो टिसर्ट लगाउने गर्थें, मैले उनलाई बोलाउनु पर्दा पनि ‘पहँेलो टिसर्ट’ भनेर बोलाउने गर्थें । ती फ्यानले नवलपरासीमा हुने जुनै महोत्सवमा पनि मलाई बोलाउन छुटाउँदैनन् । त्यति मात्र कहाँ हो र, कहिलेकाहीँ मलाई फोन गरेर उनी मेरो अभिनयको समीक्षा पनि गर्छन् । ती फ्यानको नम्बर सेभ गर्दा मैले पहेँलो टिसर्ट भन्ने नाममा सेभ गरको छु । समग्रमा भन्नु पर्दा, मलाई अहिले कलाकारिताको यो स्थानसम्म ल्याउने पनि मेरा फ्यान नै हुन् । ती फ्यानहरूकै जिम्मामा मैले आफ्नो कलाकारिता जीवन सुम्पेको छु र यसैगरि अगाडि बढिरहेको छु ।
प्रस्तुति : विशाल राई

प्रतिक्रिया