‘अम्लारी फूङ’ को शुभ–मुहूर्त


पाँचथर : लिम्बू कथानक चलचित्र ‘अम्लारी फूङ’ (प्रेमको फूल ) को बुधबार मुहूर्त गरिएको छ । पाँचथरको सुन्दर नगरी फिदिमको गणतन्त्र चोकमा बुधबार आयोजित कार्यक्रममा पाँचथर बहुमुखी क्याम्पसका प्रमुख गणेश भण्डारीले नरिवल फुटाएर चलचित्रको शुभ मुहूर्त गरे । लिम्बू कथानक चलचित्र भए पनि यसको संवाद नेपाली नै रहेको कार्यक्रममा जानकारी गराइयो । खुकुरी, मनै त हो, माटो, एउटा कथा जस्ता चलचित्र निर्देशन गरिसकेका निर्देशक किशोर सुब्बाको निर्देशनमा ‘अम्लारी फूङ’ बन्न लागेको हो । ‘अम्लारी फूङ’मा लिम्बू नारीले भोग्नुपरेको उतार–चढावलाई कथानकको रूपमा प्रस्तुत गरिने निर्देशक सुब्बाले बताए । विशेष गरी वर्तमान अवस्थामा पति विदेसिएपछि स्वदेशमा पत्नीले भोग्नु परिरहेको जल्दो–बल्दो सत्य तथ्य घटनाक्रम देखाउन खोजिएको चलचित्रमा किशोर सुब्बाको कथा, कुल्बा सुब्बा, प्रेम पन्धाकको संगीत, कमल राईको नृत्य निर्देशन रहनेछ ।
माता पाथिभरा फिल्मसको पाँचौ प्रस्तुति रहेको चलचित्रमा मित्र लिङ्देन, बबिता सुब्बा, राज लिङ्देन, शान्ति शेर्मा, मलिसा याक्थुङ्बालगायत कलाकारहरूले अभिनय गर्ने चलचित्रको निर्माण नामेन्द्र सिं आङ्बुहाङ्ले गर्न लागेका हुन् । लिम्बूहरूको बहुल्य बस्ती रहेको पाँचथर, ताप्लेजुङका विभिन्न लिम्बू संस्कृतिजन्य दृश्य तथा विषयबस्तुहरूलाई चलचित्रमा समेटिने निर्देशक सुब्बाले बताए । राष्ट्रिय–अन्तर्राष्ट्रिय चलचित्र बजारलाई लक्षित गरेर बनाउन लागिएको ‘अम्लारी फूङ’ एक महिनापछि हेर्न पाइने निर्माण पक्षले जनाएको छ । (सौस)

प्रतिक्रिया