राष्ट्रिय विभूतिको बहस

आवाल ब्रह्मचारी षडानन्द अधिकारीलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग नेपालको बौद्धिक जगत्ले गरेको छ । गत सोमबार काठमाडौंमा भएको आवाल ब्रह्मचारी षडानन्दको १७८औँ जन्मजयन्तीका अवसरमा प्राज्ञहरूले षडानन्दलाई राज्यले सम्मान गर्न पनि राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गरेको खबर प्रचारप्रसार भएको छ । विद्व्त व्यक्तित्वहरू र जनताले षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेपनि राज्य आपैंm अग्रसर नभएसम्म राष्ट्रिय विभूति घोषणा हुनसक्ने अवस्था रहँदैन । कस्ता व्यक्तित्व र कुन तहको काम गरेकालाई राष्ट्रिय विभूति घोषणा गर्ने भन्ने मापदण्ड अहिलेसम्म कहिँकतै तयार भएको छैन । समाजमा आमूल परिवर्तन ल्याउन ऐतिहासिक कार्य गर्ने विशिष्ट व्यक्तिलाई राष्ट्रिय विभूति घोषणा गर्ने प्रचलन रहेको पाइन्छ । तर, हाम्रो मुलुकमा मनमौजी ढंगले राज्यले राष्ट्रिय विभूति घोषणा गरेर केही उज्ज्वल नक्षत्रलाई भने ओझेलमा पारेको आवाज पनि उठ्ने गरेको छ । अहिले बौद्धिक जगत्ले राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको व्यक्तित्व आवाल ब्रह्मचारी षडानन्द अधिकारीका बारेमा पनि पछिल्लो पुस्ता अनविज्ञ रहेको पाइन्छ र नेपाल सरकारले पनि यस्ता विषयमा चासो राखेको पाइदैन । यो नै सबैभन्दा दु:खद पक्ष हो ।
षडानन्दको जन्म १८९२ मा भोजपुर जिल्लाको दिङ्लामा भएको थियो । त्यसताका नेपालमा राणाशासनको जगजगी थियो । विद्यालय कतै थिएन । सर्वसाधारणका छोराछोरी पढाउन नपाउने अलिखित नियम नै थियो । त्यो अवस्थामा आवाल ब्रह्मचारी षडानन्दले राणाहरूलाई समेत जनताका छोराछोरीले पढ्ने वातावरण निर्माण गर्न दिङ्लामा विद्यालय खोल्न स्वीकृतिका लागि बाध्य पारेका थिए । त्यहाँ गुरु षडानन्दले मठमन्दिर, विद्यालय, छात्रावास, बगैँचा, सामुदायिक वन र वृक्षरोपणको कार्य गरेका थिए । सर्वसाधारण जनतालाई सहज जीवनयापनका लागि बजार (हटिया) को व्यवस्था, मानव स्वास्थ्यमा लाभदायक हुने औषधिजन्य जडिबुटी रोप्ने काम, सतीप्रथाको विरोध, रूढीवादी र समाजमा हानी पुर्‍याउने परम्पराको खारेजी र सबै मानव बराबर हुन् भन्ने मान्यता स्थापित गरेका थिए । नेपालको शैक्षिक क्षेत्रका नक्षत्रका रूपमा षडानन्दलाई इतिहासले मान्यता दिएको छ । त्यसताका विद्या आर्जन गर्न नेपालका अधिकांश भाग र भारतका विभिन्न स्थानबाट जनताका छोराछोरी दिङ्ला जाने गरेको अभिलेख पाइन्छ । सबैका गुरु, समाजका अगुवा, राष्ट्रका गहना, शिक्षाको जग बसाल्ने व्यक्तित्वलाई अहिलेसम्म ओझेलमा राख्नु राष्ट्र, जनता र इतिहासप्रति नै अवहेलना गर्नु हो । तसर्थ, गुरु षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्न अब राज्यले ढिला गर्नु हुँदैन ।
गत मंसिर १ गतेदेखि २० गतेभित्र षडानन्दको गाउँ दिङ्लामा २० करोड रुपियाँको रुद्राक्ष बिक्री भयो भन्ने खबर सार्वजनिक भएको छ । त्यहाँका जनताका लागि आर्थिक रूपले सम्पन्न बनाउने यो रुद्राक्ष षडानन्दले दिङ्ला प्रवेश गराएका हुन् । इतिहास बोल्छ, उनले १००८ प्रकारका औषधिजन्य बिरुवा रोपेर जगेडाको वन स्थापित गरेका थिए । सबैका लागि शिक्षा भन्ने महान उद्देश्य गुरुले लिएका थिए । समाज सुधार, शिक्षाको प्रचार, गुठीको व्यवस्था, सामुदायिक भावनाको विकास, वन वनस्पतिको संरक्षण, बाटो, पुल पुलेसा निर्माण गर्नुपर्छ भन्ने सोचको विकास र सबै शिक्षित भए देश समृद्ध बन्छ भन्ने षडानन्दको विचार रहेको पाइन्छ । त्यो निरंकुश र अति पिछडिएको समाजमा आफ्नो उज्ज्वल विचार स्थापित गर्न गुरुले ठूलो संघर्ष गरेको इतिहास अहिले पनि जीवित नै छ । आर्थिक, सामाजिक, भौतिक, शैक्षिक र वातावरणीय क्षेत्रमा समेत ठूलो योगदान दिने दूरदर्शी षडानन्दप्रति राज्यले सम्मान व्यक्त गर्न सक्नुपर्छ । उनी राष्ट्रका गहना थिए । समाज सुधारका लागि ठूलो योगदान दिए । तसर्थ उनलाई राष्ट्रिय विभूति घोषणा गर्न राज्यले कन्जुस्याइँ गर्नु हुँदैन । षडानन्दको देनको कदर गर्न राज्यले उनलाई राष्ट्रिय विभूति घोषणा गर्नैपर्छ ।

प्रतिक्रिया