‘राष्ट्रपतिले भट्टराई सरकार बर्खास्त गर्नुपर्छ’

कैलाली, ३ पुस । एमालेका नेता भीम रावलले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारलाई वर्खास्त गरेर राष्ट्रपतिले अविलम्व सहमतिको सरकार गठन गर्नुपर्ने बताएका छन् ।
धनगढीमा आज विहान पत्रकारसँग कुरा गर्दै नेता रावलले प्रधानमन्त्री भट्टराईले एकलौटी र स्वेच्छाकारी ढंगले काम गरेर देशलाई मुडभेडको अवस्थामा पुराएको आरोप लगाए । ‘बाबुराम भट्टराईका कारण मुलुक जटिलता तर्फ उन्मुख भएको छ,’ उनले भने, ‘राष्ट्रपतिले दलहरुलाई साथमा लिएर सहमतिको राष्ट्रिय सरकार गठन गर्नुपर्छ ।’
उनले प्रधानमन्त्री भट्टराईले आफ्नै पार्टी अध्यक्षको कुरा नमानेर एकलौटी रुपमा शासन गर्न खोजेको उल्लेख गरे । भट्टराईकै कारण दलहरुबीच भएको सहमति कार्यान्वयन हुन नसकेको नेता रावलको भनाई थियो ।
वैशाखमा चुनाव हुन नसक्ने बताउँदै नेता रावलले जेठ वा कात्तिकमा चुनाव गर्ने गरी पूर्व प्रधानन्यायधीशको नेतृत्वमा ६ महिनाका लागि चुनावी सरकार गठन गर्न सकिने उल्लेख गरे ।

प्रतिक्रिया