मापदण्डविपरीतका घर भत्काउन सम्भव होला ?

उपत्यकामा मापदण्डविपरीतका घर प्रशस्तै छन् । नेपाल सरकारले यसबारे सम्बन्धित घरधनीलाई पनि बारम्बार अवगत गराएको छ । तर, मापदण्डविपरीत घर बन्ने क्रम रोकिएको छैन, उल्टै बढ्दै गएको छ । म महानगरपालिकाको कार्यकारी अधिकृत हुँदा मापदण्डविपरीतका घर निर्माण रोक्ने तथा बनेका घर भत्काउने अभियान अघि बढाएको थिएँ । यसबारे मैले तयार गरेको फाइल उपत्यका सहरी विकास हँुदै मन्त्रालयसम्म पुर्‍याएँ । तर, त्यो प्रक्रिया अघि बढ्न दिइएन र त्यत्तिकै रोकियो ।
हामीले त्यतिबेला मापदण्डविपरीत घरलाई मापदण्डको दायरामा आउन निश्चित समय दिने र दिएको समयमा पनि तोकिएको नियम पूरा नगरे उनीहरूकै खर्चमा भत्काउने भन्ने थियो । यसो गर्दा धेरै ठूलो पदमा रहेका मानिसको पनि घर पर्ने भएर हो वा अन्य कुनै कारण त्यो काम रोकियो । मैले थालेको अभियान रोकिए पनि अहिले आएर बाबुराम भट्टराई सरकारले त्यसलाई पूरा गर्न खोजेको छ । यो कुनै नयाँ काम होइन । यद्यपि, मैले सुरु गरेको पुरानै काम भए पनि अहिलेको सरकारले थालेको यो राम्रो र सकारात्मक काम हो । तर, पूरा गर्न निकै चुनौतीपूर्ण छ । यदि, यो चुनौतीपूर्ण काम गर्न सरकार सफल भयो भने, उपत्यकाको स्वरूप फेरिनेछ । नमुना सहरका रूपमा परिभाषित हुनेछ ।

प्रतिक्रिया