सिडिफोर मेसिन बिग्रँदा संक्रमितले औषधि पाएनन्

नेपालगन्ज, ३ पुस । भेरी अञ्चल अस्पताल नेपालगन्जमा रहेको सिडिफोर मेसिन बिग्रिएर बन्द भएको छ । एचआइभी संक्रमितको संक्रमणसँग लड्ने क्षमता परीक्षण गर्ने मेसिन बिग्रिएपछि संक्रमित समस्यामा परेका छन् । सिडिफोर मेसिन बन्द भएपछि एचआइभी संक्रमितले रोगसँग लड्ने क्षमता बढाउने एआरटी औषधि खान पाएका छैनन् ।

सिडिफोर परीक्षणपछि मात्र एचआइभी संक्रमितलाई एआरटी औषधि दिइन्छ । तर, मेसिन बिग्रिएर सिडिफोर परीक्षण नै गर्न नपाएपछि अञ्चल अस्पतालको एआरटी युनिटले संक्रमितलाई औषधि वितरण गर्न सकिरहेको छैन ।
२९ भदौमा छतबाट चुहिएको पानी परेपछि मेसिन बिग्रिएर बन्द भएको हो । मेसिन बनाइदिनका लागि राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रलाई अञ्चल अस्पतालले पटकपटक लिखित र मौखिक आग्रह गरे पनि कुनै चासो दिइएको छैन ।
‘सिडिफोर मेसिन बनाइदिनुहोस् भनेर अस्पताल प्रमुख र मैले पनि पटक–पटक आग्रह गरिसकेँ,’ अञ्चल अस्पताल एआरटी युनिटका इन्चार्ज रामकोठारी थारूले भने, ‘अहिलेसम्म सुनुवाइ भएको छैन ।’ मेसिन नबन्दा सिडिफोर परीक्षण गराउन आउने एचआइभी संक्रमितलाई फर्काइएको उनले बताए । भेरी अस्पतालको एआरटी युनिटमार्फत २ सय ५० ले एआरटी औषधि खाइरहेका छन् । तर, सिडिफोर परीक्षण नगरिएकाले एआरटी औषधिलाई निरन्तरता दिने कि नदिने भनेर संक्रमित अन्योलमा छन् । सिडिफोर परीक्षण गरेर एआरटी औषधि खानुपर्ने नयाँले पनि औषधि खान पाइरहेका छैनन् ।
‘मेरो सिडिफोर कति छ, परीक्षण गरिदिनुहोस् भनेर नयाँ संक्रमित आइरहेका छन् । मेसिन बिग्रिएपछि उनीहरूलाई परीक्षण नै नगरेर घर फर्काइदिएका छौँ,’ थारूले भने । मेसिन नबनेर एचआइभी संक्रमित गर्भवती महिलाको सिडिफोर परीक्षण नहुँदा उनीबाट जन्मिने बच्चाको अवस्था पनि पत्ता लाग्न सकेको छैन ।
एआरटी युनिटका इन्चार्ज थारूका अनुसार कुनै एचआइभी संक्रमितको सिडिफोर ३ सय ५० भन्दा कम भए उसलाई एआरटी दिइन्छ । ‘सिडिफोरको अवस्था ३ सय ५० भन्दा कम भए रोगसँग लड्न सक्ने क्षमता ज्यादै कम मानिन्छ र संक्रमितलाई एआरटी दिइन्छ,’ थारूले भने ।
सुर्खेत र कैलालीमा पनि सिडिफोर परीक्षण गर्ने मेसिन भए पनि नेपालगन्जमा मध्य र सुदूरपश्चिमका विभिन्न जिल्लाबाट सिडिफोर परीक्षण गर्न आउने गरेका छन् । नेपालगन्जमा मेसिन बिग्रिएपछि उनीहरू आएका छैनन् । यहाँको मेसिन बिग्रिएपछि बाँके र बर्दियाका संक्रमित सबैभन्दा बढी समस्यामा परेका छन् । एचआइभी संक्रमितका लागि एआरटी औषधि जीवनबुटी जस्तै हो । तर, सिडिफोर परीक्षणविना खान नमिल्ने र नेपालगन्जमा तीन महिनादेखि सिडिफोर परीक्षण गर्न नपाइएकाले एआरटी औषधि खानबाट आफूहरू वञ्चित भएको एचआइभी एड्स महासंघ क्षेत्रीय समिति नेपालगन्जका अध्यक्ष बासु रानाले बताए ।
‘एचआइभी संक्रमितको जीवनसँग जोडिएका विषयमा हेलचेक्रयाइँ गरिएको छ,’ रानाले भने, ‘औषधि खान नपाएकै कारण कुनै संक्रमितको ज्यान गए त्यसको जिम्मा कसले लिने ?’ रानाले संक्रमितको जीवनमरणसँग जोडिएकाले तत्काल मेसिन बनाउन माग गरे ।
अञ्चल अस्पताल एआरटी युनिटका इन्चार्ज थारूले तत्काल मेसिन बन्नेमा शंका गरे । ‘भारतको बिंडी ºयाक्ट्री कम्पनीले राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रलाई मेसिन दिएको हो । अब सोही कम्पनीले नै मेसिन बनाउने जानकारी पाएको छु,’ थारूले भने ।
तर, केन्द्र र कम्पनीबीचको सम्झौता सकिएकाले कम्पनीका इन्जिनियर कहिले आएर बनाउँछन् भन्न नसकिने थारूको भनाइ छ । ‘हामीले स्थानीय इन्जिनियरबाटै बनाउने प्रयास गरेका हौँ तर बनेन,’ उनले भने, ‘कहिले भारतबाट इन्जिनियर आउँछन् र बनाउँछन्, थाहा छैन ।’

प्रतिक्रिया