क्षेत्रीय समस्या समाधान गर्ने भारतको क्षमतामा प्रश्न

नयाँदिल्ली : भारत शक्तिशाली मुलुक हो । उसका सहयोगी पश्चिमी मुलुकले त भारतलाई विश्वशक्तिकै संज्ञा दिइसकेका छन् । तर, सीमा जोडिएका राष्ट्रमा भारतीय प्रभावको सीमा तथा कूटनीति कमजोर देखिएको भन्दै विश्लेषकहरूले भारतको क्षमताप्रति प्रश्न उठाएका छन् ।
ऐतिहासिक रूपमा भारतका पक्षमा रहेको हिंसाग्रस्त छिमेकी राष्ट्रहरूमा केही सातायता भारतको प्रभाव खस्कँदो देखिएको छ । यसको उदाहरण हो – तीन लाख जनसंख्या भएको सानो मुलुक माल्दिभ्स ।
यस महिनाको आरम्भमा माल्दिभ्सले भारतीय कम्पनी जिएमआरलाई दिने भनिएको ५१ करोड १० लाख अमेरिकी डलर बराबरको विमानस्थल सञ्चालन सम्झौता रद्द गर्ने निर्णय गर्‍यो । जवाफमा भारतले माल्दिभ्सलाई दिँदै आएको सहयोग रोक्ने चेतावनी दियो । माल्दिभ्सले सम्झौता रद्द गरेकै आधारमा भारतको क्षमतामा ह्रास आएको विश्लेषण गर्न त नसकिएला तर यसलाई एउटा प्रतिनिधि घटनाको रूपमा भने लिन सकिन्छ । यसले यस क्षेत्रमा आफ्ना आर्थिक अभिरुचिका विषयको संरक्षण गर्ने भारतको क्षमता कमजोर भएको देखाएको नयाँदिल्लीमा केन्द्रीय कार्यालय रहेको ‘अब्जरभर रिसर्च फाउन्डेसन’का विल्सन जोनको भनाइ छ ।
माल्दिभ्सका राष्ट्रपति मोहम्मद वाहिदसँग जस्तै अर्को छिमेकी मुलुक श्रीलंकाको राष्ट्रपति महिन्दा राजापाक्षेसँगको भारतको सम्बन्ध पनि खटपटपूर्ण छ । राष्ट्रपति राजापाक्षेले श्रीलंकाको तमिल जातिप्रति गरेको व्यवहार र श्रीलंकाली नौसैनिकले अनाधिकृत रूपमा श्रीलंकाको जलक्षेत्रमा प्रवेश गर्ने भारतीय माझीलाई पक्राउ गर्ने गरेको घटनाले दुई मुलुकबीच तनाव बढाएको छ । तमिल समुदायको भारतमा ठूलो उपस्थिति भएकाले तमिल कट्टरपन्थी सफाया अभियानमा राजापाक्षेले हासिल गरेको सफलतालाई भारतमा धेरैले रुचाउन सकेका छैनन् ।
भारतीय गाडी आयातमा श्रीलंकाले भन्सार लगाएपछि नयाँदिल्ली थप क्रुद्ध बनेको छ । भारतीय व्यापारिक समूह सिआइआईले श्रीलंकामा भारतीय गाडीमाथि दुई सय प्रतिशत भन्सार लाग्दा भारतको कार निर्यात १५ प्रतिशतले कमी आउने अनुमान गरेको छ ।
माल्दिभ्स तथा श्रीलंकाको भारतसँगको सम्बन्ध बिग्रनुमा केहीले चीनको हात रहेको देख्न थालेका छन् । चीनले कोलम्बो तथा मालेसँग सम्बन्ध विस्तार गरेको छ र उसले यी मुलुकलाई भारतको तुलनामा बढी सहयोगात्मक लगानी तथा आधारभूत संरचनाको कोष उपलब्ध गराउन खोजेको छ । भारतका नयाँ विदेशमन्त्री सलमान खुर्सिदले गत साता नयाँदिल्लीले आफ्नो मात्र खेलक्षेत्र ठानेको धेरै क्षेत्रमा भारतले अब चीनको उपस्थितिको वास्तविकतालाई स्वीकार गर्नुपर्ने बताएका थिए । यसबाट उनले आफ्ना पूववर्ती विदेशमन्त्री एसएम कृष्णा तथा भारतको सुरक्षा व्यवस्था हेर्ने अधिकारीका तुलनामा कूटनीतिको व्यावहारिक बाटो समाउन खोजेको देखिएको छ । भारतीय सुरक्षा अधिकारीले चीनको नौसैनिक क्षमतामा देखिएको बढोत्तरी र हिन्द महासागरमा उसले बढाएको उपस्थितिप्रति आपत्ति जनाइरहेका बेला विदेशमन्त्री खुर्सिदले नयाँ वास्तविकताका रूपमा यसलाई स्वीकार गर्नुपर्ने बताएका थिए ।
भारतीय विदेशमन्त्रालयका प्रवक्ता सयद अक्वरुद्दिनले यस क्षेत्रमा अन्य मुलुकसँगको विवाद कसरी समाधान गर्ने भन्ने विषयमा भारतलाई राम्रो जानकारी भएको बताए । मन्द गतिमा परिस्थिति सही दिशातर्फ डोहोरिइरहेको जिकिर उनले गरे । यस्ता समस्या समाधान गर्न सैनिक पठाउन नमिल्नेसमेत उनले उल्लेख गरे ।
भारतको उत्तरपूर्वी छिमेकी म्यानमारमा सैनिक शासकले लगानीका क्षेत्र खुला गर्दा म्यानमारमा लगानी गर्ने सवालमा चीनभन्दा भारत निकै पछि परेको देखिएको छ । आलोचकहरूले म्यानमारमा भएको प्रजातान्त्रिक सुधारप्रति भारतको प्रतिक्रियासुस्त रहेको आरोप लगाएका छन् । नयाँदिल्लीस्थित ‘जामिया मिलिया इस्लामिया विश्वविद्यालय’का अन्तर्राष्ट्रिय द्वन्द्व अध्ययनसम्बन्धी प्राध्यापक सुजित दत्तका अनुसार म्यानमारलाई कसरी हेर्ने भन्नेमा भारत प्रस्ट छैन । ‘एक स्तरमा भारतले म्यानमारसँग व्यापार गर्न भारतले चाहेको छ तर अर्कोतिर उसले सैनिक शासकसँग सम्बन्ध विस्तार गर्न असजिलो महसुस पनि गरिरहेको छ,’ उनले भने । म्यानमारकी प्रतिपक्षी नेत्री आङ सान सुकीले गत महिना नयाँदिल्लीमा भारत र म्यानमारका सैनिक शासकबीच विद्यमान दूरीबाट आफू दु:खी भएको बताएकी थिइन् ।
अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले कुनै बखत भारतका छरछिमेक विश्वको सबैभन्दा खतरनाक स्थान भएको बताएका थिए । हाल भारतको बंगलादेशसँगको सम्बन्ध केही सुध्रिएको देखिएको छ । तर, अन्यत्र स्थानका अवस्था आशालाग्दा छैनन् ।
चिरप्रतिद्वन्द्वी पाकिस्तानसँगको भारतको शान्तिवार्ताले निकै कम प्रगतिको संकेत देखाएको छ । यी दुई मुलुकबीच सम्बन्ध सुधार भएको बताइए पनि इस्लामावाद भ्रमणका लागि दिएको निमन्त्रणा भारतीय प्रधानमन्त्री मनमोहन सिंहले अस्वीकार गरेको घटनाले भारत–पाकिस्तान सम्बन्ध अझै सामान्य हुन नसकेको देखिएको छ ।
एएफपीका समाचारमा नेपालको सत्ताधारी दल एमाओवादी सैद्धान्तिक रूपमा चीनसँग नजिक देखिएको र उसमा भारतविरोधी भावना रहेको उल्लेख छ । यसैगरी भुटानले पनि चीनसँगको नजिकको सम्बन्धमा फाइदा देख्न थालेको छ ।
विश्लेषक जोन भारतका साना छिमेकी राष्ट्रहरूले भारतले आफूहरूप्रति हेपाहा दृष्टि राख्ने गरेको महसुस गरेको बताउँछन् । यी मुलुकको आन्तरिक मामिलामा चीनले खुला हस्तक्षेप नगर्ने भएकाले यस क्षेत्रका भारतइतरका मुलुकले चीनलाई मन पाउने गरेको उनको भनाइ छ । यद्यपि, यी मुलुक चीनसँग ढल्किएको यथार्थलाई भने नकार्न नसकिने उनको तर्क छ ।
दक्षिण एसियामा कूटनीति सञ्चालन गर्न अनेक अप्ठेरो बेहोरिरहेका बेला भारतले दक्षिणपूर्वी एसियाली मुलुकतर्फ व्यापारिक तथा कूटनीतिक पाइला अगाडि बढाउन चाहेको बताइएको छ । भारतको यस्तो आकांक्षालाई अमेरिका तथा अन्य पश्चिमी मुलुकले अभिप्रेरित गरेका छन् । उनीहरूले यस क्षेत्रमा चीनको प्रतिद्वन्द्वीका रूपमा प्रजातान्त्रिक मुलुक भारतको उपस्थिति बढाउन चाहन्छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २०१० मा भारत भ्रमण गर्दा विश्वशक्तिका रूपमा भारतको उदय भइसकेको बताएका थिए । तैपनि, विश्वमामिलामा प्रभाव पार्नसक्ने भारतको क्षमतामा भने आशंका गर्ने प्रशस्तै ठाउँ रहेको विश्लेषकहरूको ठहर छ ।
(एएफपीको सहयोगमा)

प्रतिक्रिया