रुसका प्रतिपक्षी नेता पक्राउ

मस्को : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विरोधमा प्रदर्शन गरेको आरोपमा रुसका एक वरिष्ठ विपक्षी नेतालाई शनिबार पक्राउ गरिएको छ । राजधानी मस्कोमा शनिबार पुटिनविरुद्ध प्रदर्शनमा उत्रिएका सयौँ कार्यकर्ताबीचबाट विपक्षी नेता इलिया यासिनलाई पक्राउ गरिएको हो । प्रहरीले आफूसहित अन्य केही नेतालाई हिरासतमा राखेको नेता इलियाले आफ्नो ट्विटर एकाउन्टमा लेखेको रुसी सञ्चारमाध्यमले जनाएका छन् । उनी रुसको एक चर्चित टेलिभिजनका कार्यक्रम प्रस्तोता पनि हुन् ।
साथै, रुसका टेलिभिजनले त्यहाँको वामपन्थी आन्दोलनका एक नेता सेर्गेई उदाल्तसोभ र नेता इलियालाई पक्राउ गरी प्रहरी भ्यानमा हालेका समाचार दृश्य प्रसारण गरेका थिए । निर्वाचनमा धाँधली गरेर पुटिन राष्ट्रपतिमा पुन: निर्वाचित भएको भन्दै प्रतिपक्षीहरूले गत वर्षदेखि आन्दोलन जारी राखेका छन् । यसअघि पनि सरकारले विपक्षीहरूको यस्तै प्रदर्शनमा सहभागीलाई पक्राउ गरिसकेको छ । (एएफपी)

प्रतिक्रिया