‘निकासका लागि पहल गर्नुस्’

काठमाडौं, १ पुस । राष्ट्रपति डा. रामवरण यादवले छिट्टै सहमतीय सरकार गठनको सहमतिमा पुग्न प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सुझाव दिएका छन् । शनिबार शीतलनिवास पुगेका प्रधानमन्त्रीसँगको भेटमा राष्ट्रपति यादवले चौथोपटकको समय–सीमाभित्र दलीय सहमति जुटाउन सुझाव दिएका हुन् ।

राष्ट्रपतिले प्रधानमन्त्रीका हैसियतले मुलुकको निकासका लागि पहल गर्न प्रधानमन्त्री भट्टराईलाई सुझाव दिए । वैशाखभित्रै चुनाव गराउन तत्काल सहमतिको विकल्प नभएको भन्दै राष्ट्रपतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
‘प्रधानमन्त्रीको हैसियतले तपाईंले मुलुकलाई निकास दिनुपर्छ,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘छिटो गर्नुस्, वैशाखभित्र जसरी पनि नयाँ निर्वाचन गराउनुपर्छ ।’ जवाफमा प्रधानमन्त्री भट्टराईले दलीय सहमति जुटाउन आफूले पहल गरिरहेको बताए । दलहरूबीच सहमति बनेको खण्डमा आफू बाधक नबन्ने उनले प्रस्ट पारे ।
प्रधानमन्त्रीले चुनावको मिति तय गर्नुपर्ने संवैधानिक निकासपछि मात्रै कांग्रेसलाई प्रधानमन्त्री दिनुपर्ने अडान राख्दै आएका छन् । साथै, प्रधानमन्त्रीले बाधा–अड्काउ फुकाउबाट संविधान संशोधन गरेपछि मात्रै सत्ता छाड्ने मनसाय राख्दै आएका छन् ।
प्रधानमन्त्रीको दल एमाओवादीले संविधान बन्ने र वैशाखमै चुनाव हुने सर्तमा मात्रै सत्ता छाड्न सकिने अडान लिँदै आएको छ । चुनाव हुने निश्चित नभई कांग्रेसलाई प्रधानमन्त्री दिँदा राष्ट्रपति र कांग्रेसले मिलेर देशलाई संकटतर्फ धकेल्ने भन्दै सहमतिविना कांग्रेसलाई नेतृत्व दिन नसकिने एमाओवादी नेताहरूले बताउँदै आएका छन् ।

दाहालनिवास पुगेर सघाउन आग्रह
काठमाडौं : नयाँ प्रधानमन्त्रीका रूपमा आफूलाई समर्थन गर्न आग्रह गर्दै कांग्रेस सभापति सुशील कोइरालाले शनिबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन् । राष्ट्रपतिले चौथोपटक थप गरेको समयसीमा दुई दिन मात्र बाँकी रहँदा सहयोग माग्दै सभापति कोइराला शनिबार दाहालनिवास पुगेका हुन् ।
कोइराला अघि कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले अध्यक्ष दाहाललाई भेटेका थिए । एमाओवादीले कांग्रेस नेतृत्व स्वीकार गर्न संविधानका विवादित विषयमा प्याकेजमै सहमति खोज्नुपर्ने अडान लिँदै आएको छ । संविधानसभाले सहमति जुटाएका विषयलाई कायम राख्दै नयाँ संविधानसभाले आफ्नो कार्य अघि बढाउनुपर्ने अडानसमेत एमाओवादीको छ । शनिबार पनि एमाओवादीले कोइरालासमक्ष सोही अडान दोहोर्‍याएको थियो । तैपनि, दुई नेताबीच राष्ट्रपतिले दिएको समयसीमाभित्रै सहमति जुटाउने विषयमा छलफल भएको थियो । विपक्षी दल भने सरकारको बहिर्गमनलाई पहिलो सर्त बनाएका छन् ।
प्रचण्डसँगको भेटपछि कोइरालाले वैशाखमा निर्वाचन गर्न दलहरू सहमत रहे पनि सरकार गठन र अरू विषय अझै छलफल जारी रहेको बताए । (सौस)
मुनद्वारा चिन्ता व्यक्त
काठमाडौं : नेपालको राजनीतिक गतिरोध अन्त्य हुन नसकेको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । राष्ट्रसंघका महासचिव वान की मुनले विज्ञप्ति जारी गरी यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
राजनीतिक निकासका लागि नेपालका राजनीतिक दलहरू एक हुनुपर्नेमा जोड दिँदै मुनले विज्ञप्तिमार्फत दलहरूलाई एक हुन आग्रह गरेका छन् । जारी विज्ञप्तिमा राजनीतिक निकासका लागि ढिला नगरी सहमतीय सरकार गठनका लागि पनि आग्रह गरेका छन् । उनले दलका शीर्ष नेताहरूलाई ‘राष्ट्रिय स्वार्थका लागि दलीय मतभेद अन्त्य’ गर्न भनेका छन् ।
विज्ञप्तिमा बृहत् शान्ति–सम्झौतासँगै जनताले पाएका उपलब्धिलाई गुम्न नदिन दलहरू प्रतिबद्ध हुनुपर्नेमा जोड दिइएको छ । (सौस)

प्रतिक्रिया