कर्मचारी तथा प्रहरीबाटै लिलाम सकार

रौतहट, २९  मंसिर । भारतबाट चोरी गरी ल्याइएका तथा नक्कली कागजपत्रका आधारमा गुडेको आरोपमा सुरक्षाकर्मीले भन्सार बुझाएका विभिन्न २० थान मोटरसाइकलको लिलामी प्रक्रियामा व्यापक अनियमितता भएको खुलासा भएको छ ।
जिल्लाको विभिन्न स्थानमा सुरक्षाकर्मीले चेकजाँच गर्दा कागजात नभएको तथा नक्कली नेपाली नम्बर राखेर चलाइरहेको अवस्थामा ती मोटरसाइकल बरामद गरी आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको थियो । सुरक्षाकर्मीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएर गौर भन्सार कार्यालयमा बुझाएका मोटरसाइकल भन्सारको जिम्मा लगाएका व्यक्तिहरूले नै लिलाम सकार गरेका छन् ।
कुनै पनि सवारीसाधनको लिलामी गर्दा सो सवारीसाधन सम्बन्धित कार्यालयले सबैले देख्ने ठाउँमा राख्नुपर्ने प्रावधान रहे पनि गौर भन्सार कार्यालयले व्यक्तिको घरमा राखिएको मोटरसाइकलको लिलाम प्रक्रिया भने कार्यालयबाट पूरा गरेको छ । मुद्दा नं. ५८ रहेको होन्डा साइन मोटरसाइकल लिलामको बखत कार्यालयमा नभएको भन्दै लिलाम सकार गर्न आउने व्यक्तिहरूले विरोध गरेपछि मात्र सो मोटरसाइकल कार्यालयमा ल्याइएको स्थानीय राजेश ठाकुरले बताए । भन्सार कर्मचारीको मिलेमतोमा राम्रो अवस्थामा रहेका मोटरसाइकल लुकाएर लिलामी गरेको स्थानीयको आरोप छ ।
यसैगरी, सशस्त्र प्रहरीका केही उच्च अधिकारीहरूले पनि आफूले रोजेका मोटरसाइकल सशस्त्र प्रहरीको गौर बिओपीमा राखेर भन्सार कार्यालयबाट लिलाम गराएको रहस्य पनि खुलेको छ । मुद्दा नम्बर ७२ र ८५ रहेको पल्सर मोटरसाइकल सशस्त्र प्रहरीका अधिकारीले नै लिलाम स्विकारेको भन्सार कार्यालयको कागजातले देखाएको छ । राम्रो अवस्थामा रहेको पल्सर मोटरसाइकल बिओवी गौरका इन्चार्ज इन्स्पेक्टर उदयराज न्यौपानेले आफ्नै एक जवानको नामबाट लिलाम सकारेका हुन् ।
यसैगरी, मोटरसाइकलको इन्जिन र चेसिसबाहेक अरू कुनै पार्ट नभएको सिडी डिलक्स मोटरसाइकल पनि भन्सार कर्मचारीले नै लिलाम सकार गरेका छन् । मोटरसाइकलको धेरैजसो पार्टपुर्जा खोलेर आफँैले भन्सार बुझाएको मोटरसाइकल २१ हजार रुपियाँमा भन्सार कर्मचारी प्रमोद मिश्रले आफन्तको नाममा लिलाम सकार गरेका हुन् ।
गौर भन्सार कार्यालयका प्रमुख राजेन्द्रकुमार हमालले भने परम्परालाई निरन्तरता दिएको बताउँदै पार्टपुर्जा खोलिएको मोटरसाइकललाई कबाडीको मूल्यांकन नगरी त्यसै लिलाम गर्ने भनी प्राविधिक टोलीबीच सहमति भएपछि मात्र लिलाम गरिएको बताएका छन् ।

प्रतिक्रिया