जलाइएकी किशोरीको अन्त्येष्टि

नेपालगन्ज : पेट्रोल छर्केर आगो लगाएपछि उपचारका क्रममा मृत्यु भएकी बर्दिया गुलरिया–८ की १६ वर्षीया शिवा हासमीको अन्त्येष्टि गरिएको छ ।
काठमाडौंस्थित वीर अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएका हासमीको बिहीबार गुलरियास्थित भन्सार रोडमा रहेको कर्बस्थानमा मुस्लिम परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिका लागि हासमीको पार्थिव शरीर बिहीबार बिहान ७ बजे गुलरिया ल्याइपुर्‍याइएको थियो ।
छिमेकमा डेरा गरी बस्ने भारतीय नागरिक बाबु खानले आफूसँग विवाह गर्न नमानेपछि शुक्रबार शरीरमा पेट्रोल छर्की आगो लगाएको भनिएकी हासमीलाई गम्भीर अवस्थामा भेरी अञ्चल अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो । भेरी अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि उनलाई विभिन्न संघसंस्थाको आर्थिक सहयोगमा थप उपचारका लागि सोमबार काठमाडौं लगिएको थियो । शिवालाई जलाएको अभियोगमा भारतीय नागरिक खानलाई प्रहरीले पक्राउ गरिसकेको छ भने खान निर्दोष र उक्त घटनामा परिवारकै संलग्नता रहेको दाबीसहित प्रदर्शन भएपछि उक्त घटना रहस्यमय बनेको छ ।
यसैबीच, हासमी परिवारलाई काजकिरिया खर्चका लागि जिल्ला प्रशासन कार्यालय बर्दिया र महिला सञ्जालले गरी ३० हजार रकम उपलब्ध गराएका छन् । (सौस)

प्रतिक्रिया