मस्को : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विदेशीबाट रकम लिएर रुसमा राजनीति गर्ने छुट कसैलाई नभएको बताएका छन् । बाहिरबाट रुसमा कसैले प्रजातन्त्र ‘लाद्न’ नसक्नेतर्फ सचेत रहन उनले चेतावनीसमेत दिएका छन् ।
राष्ट्रपति पदमा तेस्रोपटक निर्वाचित भएको एक वर्ष पूरा भएको अवसरमा बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले यस्तो भनाइ राखेका हुन् । ‘प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा हाम्रो आन्तरिक राजनीतिक प्रणालीमा हस्तक्षेप गर्ने कार्य कुनै पनि हालतमा हामीलाई स्वीकार्य छैन,’ पुटिनले भने ।
मुलुकभित्र राजनीति गर्न विदेशीसँग पैसा लिएर केही तथाकथित राजनीतिज्ञले विदेशीको सेवा गरिरहेको आरोपसमेत उनले लगाएका छन् । साथै, उनले विदेशी बैंकमा खाता खोल्ने र विदेशी सेयर खरिद गर्ने सरकारी अधिकारी र राजनीतिज्ञको अधिकारलाई सीमित गर्ने कानुन व्यवस्थापिकाले ल्याउनुपर्नेमा समेत उनले जोड दिएका छन् ।
स्मरण रहोस्, प्रजातन्त्र सम्वद्र्धनका नाममा सञ्चालन हुने परियोजनामा सहयोग गर्ने निहुँमा रुस छिरेको अमेरिकी विकास नियोग युएसएआइडीका कामकारबाहीमाथि रुसले गत वर्ष प्रतिबन्ध लगाएको थियो । रुसको आन्तरिक मामिलामा युएसएआइडीबाट हस्तक्षेप भएको आरोप लगाउँदै रुसले यसको कार्यालय उठाउन निर्देशन दिएको थियो ।
भाषणका क्रममा पुटिनले जनसंख्या बढाउनु रुसका लागि अपरिहार्य रहेकोसमेत जिकिर गरेका छन् । रुसको जनसंख्या वृद्धि दर घट्दो अवस्थामा रहेकाले तीनवटा बच्चा जन्माउन उनले सबै परिवारसँग आह्वान गरेका छन् । सोभियत संघको पतनपश्चात् जानसंख्यिक गिरावटको सामना गर्ने दिशामा रुसले सफलता हासिल गरिरहेको जिकिर गर्दै उनले तीनवटा सन्तान पाउने प्रवृत्तिलाई रुसी परिवारले मानक बनाउनुपर्ने बताएका छन् । (एजेन्सी)
प्रतिक्रिया