शंकाको घेरामा परिवार पनि

नेपालगन्ज २७ मंसिर : आफूसँग विवाह गर्न इन्कार गरेको भन्दै भारतीय युवकबाट जलाइएकी गुलरिया–८ बर्दियाकी १६ वर्षीया किशोरी शिवा हासमीको घटनाले नयाँ मोड लिएको छ । शिवालाई भारतीय नागरिक बाबु खानले आगो लगाएका हुन् वा परिवारकै सदस्यले भन्नेमा प्रहरी र स्थानीय बासिन्दा अन्योलमा परेका छन् ।
घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले किशोरीमाथि भएको आक्रमणका सम्बन्धमा उनको परिवारलाई पनि शंकाको घेरामा राखेको छ । स्थानीय बासिन्दाले परिवारकै सदस्यबाट किशोरीमाथि आगो लगाइएको भन्दै जिल्ला प्रशासन कार्यालय बर्दियामा ज्ञापनपत्र बुझाएका छन् ।
मुस्लिम महिला उत्थान केन्द्रको अगुवाइमा मुस्लिम महिला र स्थानीय अगुवाहरूले जिल्ला प्रशासन कार्यालयमा पुगी बाबु र शिवाबीच गहिरो प्रेम सम्बन्ध रहेको र त्यो सम्बन्ध स्वीकार गर्न नसकेपछि परिवारकै सदस्यले आगो लगाएको दाबी गरे । प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै केन्द्रकी अध्यक्ष रेखा भुसालले शिवा शरीरमा आगो लागेपछि घरभित्रबाट आत्तिँदै बाहिर निस्किएकाले बाहिरबाट गएको मान्छेले आगो लगाउने कुरै नभएको दाबी गरिन् । घटनाका बारेमा विभिन्न सञ्चारमाध्यममा अनुसन्धानविना भ्रामक समाचार सम्प्रेषण गरेकोप्रति संघको ध्यानाकर्षण भएको बताउँदै भुसालले भनिन्, ‘शिवा र प्रेमी बाबु खानबीचको प्रेम सम्बन्धलाई देख्न नसकेपछि परिवारबाटै यस्तो घटना भएका देखिन्छ, गहिरो अनुसन्धान होस् ।’
घरपरिवारलाई अनुसन्धानको दायरामा ल्याइनुपर्ने मुस्लिम महिला उत्थान संघ बर्दियाको माग गरेको छ । ज्ञापनपत्रमा परिवारबाटै भएको गल्तीलाई ढाकछोप गर्न बाबुलाई आरोप लगाएर फसाइएको दाबी गरिएको छ । स्थानीय निसार अहमद सिद्धिकीले घटनाका सम्बन्धमा सरकारले गहिरो अनुसन्धान गरी वास्तविक दोषीलाई कानुनी कठघरामा ल्याइनुपर्ने बताए ।
आगलागीपछि गम्भीर घाइते भएकी शिवा आपैँm बोल्नसक्ने अवस्थामा छैनन् । उनको अहिले काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार उनलाई पेट्रोल छर्केर आगो लगाइएको थियो । काठमाडौंमा उपचार गराइरहेकी बहिनीको हेरचाहमा रहेका दाजु तनवीर हासमीले मानवीय संवेदना बिर्सिएर आफूहरूमाथि झुठो आरोप लगाएको बताएका छन् ।
‘हामीले आगो लगाउन चाहेको भए उपचारका लागि किन अस्पतालसम्म ल्याउँथ्यौँ,’ तनवीरले भने, ‘प्रहरीलाई सोध्नुहोस्, बहिनीले बाबुले नै आगो लगाएको बयान दिएकी छन् ?’ दोषीलाई उम्कन दिने उद्देश्यले आफूहरूमाथि यस्तो आरोप लगाएको उनको दाबी छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाले पनि घटनाको वास्तविकता खोल्न चाहिरहेको छैन । बाबुलाई म्याद थप्दै अनुसन्धान गरिरहेको जिप्रका बर्दियाका डिएसपी यमुना रज्जकले बाबुले नै शिवालाई आगो लगाएको भनेर ठोकुवा गर्न नसक्ने बताए ।
‘विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको छ । पीडित किशोरीका परिवार पनि अनुसन्धानको दायरामा आउँछन्,’ रज्जकले भने, ‘दोषी जो भए पनि कारबाहीको दायरामा ल्याउँछौँ ।’

प्रतिक्रिया