“स्थायी समितिले अधिकारक्षेत्र नाघ्यो”

काठमाडौं, २६  मंसिर । एमाले केन्द्रीय सदस्यहरूले पार्टी स्थायी समितिले आधिकारक्षेत्र नाघेर नेताहरूको कार्यविभाजन गरेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका छन् । सोमबार पार्टी मुख्यालयमा सुरु भएको केन्द्रीय कमिटीको १९औँ बैठकमा केन्द्रीय सदस्यहरूले स्थायी समितिले अधिकारक्षेत्र नाघेर लिएका निर्णय फिर्ता लिनसमेत माग गरेका छन् ।
सोमबार सुरु भएको बैठकमा स्थायी समिति र पोलिटब्युरो बैठकले गरेका निर्णय अनुमोदन गर्ने प्रस्तावमाथि नेताहरूले पार्टी नेतृत्वको आलोचना गरेका हुन् । आन्तरिक कार्यविभाजन र विभाग गठनलगायत विषयमा केन्द्रीय कमिटीसँग अनुमति नलिई स्थायी समितिले निर्णय लिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन् । यसअघि स्थायी समितिले पोलिटब्युरो सदस्य अरुण नेपाललाई पार्टी कामका लागि युरोपमै रहेका बेला युरोप इन्चार्जबाट हटाएर भीम रावललाई पठाउने निर्णय गरेको थियो । यस्तै, स्थायी समिति बैठकले राजेन्द्र पाण्डेलाई राज्यव्यवस्था विभागबाट हटाएर अष्टलक्ष्मी शाक्यलाई चयन गरेको थियो । केन्द्रीय सदस्य घनश्याम भुसाललाई अध्ययन अनुसन्धान विभाग गठन गरी त्यसको जिम्मेवारी दिइएको थियो ।
केन्द्रीय कमिटी बैठकमा नेताहरूले अधिकारक्षेत्र नाघेर स्थायी समितिले गरेका निर्णय फिर्ता गर्न माग गरेका थिए । ‘कार्यविभाजनका कतिपय विषय केन्द्रीय कमिटीले अधिकार नदिए पनि स्थायी समितिले गरेको छ, त्यो फिर्ता हुनुपर्छ भन्ने कुरा जोडदार रूपमा उठेको छ,’ केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले सौर्यसँग भने । सोमबारको बैठकमा गोकर्ण विष्ट, भानुभक्त ढकाल, राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे, ठाकुर गैरे, चूडामणि जंगली, घनश्याम भुसाल, कर्णबहादुर थापा, योगेश भट्टराई, खगराज अधिकारी, वाचस्पति देवकोटा, जितु गौतमलगायत १८ जना केन्द्रीय सदस्यले बोलेका थिए । बैठकले केन्द्रीय सदस्यहरूको मनोनयन, कार्यविभाजन, संगठन विभागको प्रतिवेदन, केन्द्रीय आयोगहरूका प्रतिवेदन, पार्टी छाडेकाहरूलाई पार्टीमा फर्कन विशेष आग्रह गर्नेलगायत ९ वटा एजेन्डा छलफलका लागि तय गरेको छ ।

प्रतिक्रिया