सेनाको दबाबपछि हच्किए राष्ट्रपति

कायरो : विपक्षीले आरम्भ गरेको आन्दोलन मत्थर पार्न इजिप्टका राष्ट्रपति मुर्सीले आफूमा निहित अधिकार कटौती गरे पनि यसबाट विपक्षीहरू सन्तुष्ट बन्न सकेका छैनन् । गत महिना आफ्ना काममाथि न्यायालयले समेत अंकुश लगाउन नसक्ने नियम लागू गरेका मुर्सीले सो विवादास्पद नियम खारेज गर्ने घोषणा गरे पनि यसले विपक्षीलाई रिझाउन सकेको छैन । इजिप्टको संविधानसभाले तयार पारेको नयाँ संविधानको मस्यौदामाथि जनमतसंग्रह गराउन राष्ट्रपतिले गरेको घोषणा फिर्ता नभएसम्म आन्दोलन जारी रहने विपक्षीहरूले जनाएका छन् । कार्यपालिकाबाट न्यायपालिकालाई उन्मुक्त राखेर सम्पूर्ण राजकीय शक्ति आफूमा सीमित गर्ने प्रयासबाट मुर्सी हच्किएका भए पनि जनमतसंग्रह गराउने घोषणा भने उनले फिर्ता लिएका छैनन् ।
मुर्सीको दल मुस्लिम ब्रदरहुडको आधिपत्य रहेको जनमतसंग्रहले केही साताअघि नयाँ संविधानको मस्यौदा पारित गरेपछि इजिप्टमा आन्दोलन चर्किएको थियो । मस्यौदामा प्रेस स्वतन्त्रता, न्यायिक सर्वोच्चता र शक्ति विकेन्द्रीकरणको अवधाणारलाई लत्याइएको र मुर्सीलाई तानाशाही बनाउने उद्देश्यका साथ संविधानको मस्यौदामाथि जनमसंग्रह गराउने षड्यन्त्र रचिएको आरोप विपक्षीहरूले लगाएका छन् ।
विपक्षी गठबन्धन नेसनल सेल्भेसन फ्रन्टले राष्ट्रपतिले गरेका काममाथि न्यायालयमा पुनर्विचार गर्न नपाउने प्रावधान अन्त्य गर्न मुर्सी सहमत भए पनि आन्दोलन रोक्ने पर्याप्त आधार अझै तयार भइनसकेको जनाएको छ । साथै, उसले आफ्ना समर्थकसँग सरकारविरोधी कार्यक्रम जारी राख्न आह्वान गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार निर्धारित मितिमा जनमतसंग्रह गराउने संकल्पबाट राष्ट्रपति मुर्सी अझै पछि हटेका छैनन् । गत साता राष्ट्रपति मुर्सीले डिसेम्बर १५ मा जनमतसंग्रह गराउने घोषणा गरेका थिए । घोषणालगत्तै कानुन व्यवसायी, सञ्चारकर्मी र विपक्षी दलले जनमतसंग्रह बहिष्कार गर्न देशवासीसमक्ष आह्वान गरेका थिए ।
मुर्सीको नयाँ घोषणालगत्तै नोबेल शान्ति पुरस्कार विजेतासमेत रहेका विपक्षी नेता मोहम्मद इल बरादीले ‘जनताको हक र स्वतन्त्रता कुण्ठित गर्ने संविधान भत्काइछाडिने’ बताएका छन् । इस्लामिक कट्टरपन्थीको दबदबा रहेको मुर्सीको दलले भने मुर्सीको समर्थनमा र्‍याली निकाल्दै आएको छ । विशेषगरी धर्मनिरेपेक्षताको वकालत गर्ने र क्रिस्चियन समुदायका मानिसले मुर्सीको विरोध गर्दै आएका छन् ।
गत बुधबार मुर्सीका समर्थक र विरोधीबीच राष्ट्रपति निवासअघि झडप हुँदा सातको मृत्यु भएको थियो भने ६ सय घाइते भएका थिए । स्थिति नियन्त्रणबाहिर गए इजिप्टमा भीषण रक्तपात मच्चिने देखिए पछि स्थिति नियन्त्रणमा लिन इजिप्टको सेना अग्रसर भएको थियो । वार्तामार्फत राजनीतिक विवाद समाधान गर्न सेनाले दलहरूलाई दबाब दिएपछि राष्ट्रपति मुर्सी हच्किएको विश्लेषण गरिएको छ ।
के भनेको थियो सेनाले ?
राजनीतिक विवादकै कारण मुलुक ‘अँध्यारो गुफा’ तर्फ उन्मुख हुने सम्भावना देखिए मुलुकको रक्षाका लागि हस्तक्षेप गर्ने चेतावनी सेनाले दिएको थियो । वार्तामार्फत विवाद नसुल्झाए खराब परिणाम निम्तिनेतर्फ सचेत रहन सेनाले राजनीतिक दलहरूलाई सजग गराएको थियो । सैनिक प्रवक्ताले भनेका थिए, ‘इजिप्टको सैन्य बलले मुलुकका मुख्य स्वार्थ तथा रुचीको रक्षा गर्नुपर्ने आफ्नो दायित्व बुझेको छ । साथै मुलुकका महत्त्वपूर्ण केन्द्र, सार्वजनिक संस्था र निमुखा जनताको स्वार्थ रक्षा गर्न पनि सैन्य बल कटिबद्ध छ ।’ अहिले सहमतिमा पुग्ने एकमात्र उपाय वार्ता रहेको उल्लेख गर्दै उनले सहमतिको विपरीत दिशापट्टि राजनीति उन्मुख भएमा मुलुक अँध्यारो गोरेटोतर्फ डोहोरिने र यसको नतिजा विध्वंसात्मक हुने भएकाले यस्तो अवस्था आउन नदिन सेना प्रतिबद्ध रहेको जनाएका थिए । संकट समाधान नभए हस्तक्षेप गर्ने चेतावनी सेनाले दिएपछि विपक्षीका माग पूरा गर्नेतर्फ राष्ट्रपति मुर्सी नरम बनेको विश्लेषण गरिएको छ । (एजेन्सी)

प्रतिक्रिया