घरेलु हिंसाको मारमा बालिका

चितवन नारायणगढकी सीता (नाम परिवर्तन) ले गएको महिना चितवनका महिला अधिकारकर्मीको पहलमा गर्भपतन गराइन् । उनलाई कसैले ललाइफकाई वा जबरजस्ती गर्भवती बनाएका थिएनन् । १३ वर्षको उमेरमा आमाले विवाह गरिदिएपछि उनी गर्भ बोक्न बाध्य भएकी थिइन् । उनको उमेरमा बच्चा जन्माउन ज्यानकै खतरा भएपछि महिला अधिकारकर्मीहरूको सहयोगमा गर्भपतन गराइएको थियो । गर्भपतन गरेपछि आफ्नी दिदीको संरक्षणमा सीता बसिरहेकी छिन्  ।
चितवनकै भरतपुर नगरपालिकाभित्रै बस्ने मायाको पनि १३ वर्षकै उमेरमा पढ्ने चाहना निमोठियो । स्कुल पढ्दै गरेकी उनलाई स्कुल छुटाएर आमाले विवाह गरिदिइन् । उनलाई पनि आफ्नी आमाले विवाह गरेर पठाएकी हुन् । अहिले उनी पतिको घरमै बसिरहेकी छिन् । बालविवाहमा कानुनले रोक लगाएको छ । चितवनलाई देशका सहरहरूमध्ये विकसित र साक्षरता दर राम्रो भएको जिल्लाकै रूपमा पनि चिनिन्छ । तर, जिल्ला सदरमुकाम भरतपुरमै बालविवाहका घटना दिनहुँ भइरहेका छन् । सीता र मायाको विवाह बालविवाहका रूपमा समाजमा देखिएको छ अहिले । उमेर नपुगी उनीहरूको आमाको सहमतिमा विवाह भएको छ । नेपालको तथ्यांकले पनि कुल विवाहको ३४ प्रतिशत विवाह १६ वर्षभन्दा कम उमेरमा हुने गरेको देखाएको छ भने ७ प्रतिशत विवाह १० वर्ष नुपुग्दै हुने गरेको छ । पढ्ने लेख्ने उमेरमा बालिकाहरूको विवाह किन हुन्छ त ? माया र सीताकै विवाहको पछाडि गएर कारण खोज्दा अझ समाजभित्र विकराल हिंसाको रूप खोतलिँदै जान्छ ।
सीताको आमा रीता (नाम परिवर्तन) ले आफ्नै डेरा नजिकै बस्ने एक युवकसँग तीन हजार रुपियाँ सापटी लिएकी रहिछन् । लामो समयसम्म उनले उक्त रकम चुक्ता गर्न सकिनन् । नगरपालिका भित्रै बसे पनि उनको जीविकोपार्जनको आधार ज्यालामजदुरी मात्रै हो । दिनदिनैको कमाइले दिन गुजार्न समस्या भएकाले उनले ऋण तिर्ने समस्याबाट मुक्त हुन तिनै साहुलाई तीन हजार रुपियाँ ऋणको बदला छोरी जिम्मा लगाइन् । जसको फलस्वरूप विवाहको नाममा १३ वर्षकी बालिका गर्भवती बन्नुपर्‍यो । झन्डै उनको ज्यान नै जोखिममा पर्‍यो । यता, मायाकी आमाको शरीर हेर्दा अहिले नै देखिन्छ आधा भाग पोलेको छ । रक्सी खाएर दिनहुँ कुट्ने पतिले उम्लेको पानी शरीरमा खन्याएर मायाकी आमा साबित्रीको शरीरको आधा भाग पोलिदिएका हुन् । त्यही पोलिएको शरीर लिएर उनी ज्याला गर्न हिँडिरहन्छिन् । उनलाई एक्लै बस्ने रहर नभएको होइन तर आश्रयको विकल्प नहुँदा आधा पोलिएको शरीर लिएर ज्याला गरेर कमाएको रकम पतिको जिम्मा नलगाउनुको विकल्प अहिलेसम्म उनले भेटेकी छैनन् । पतिको यातनाबाट आजित उनले ‘बाउको घरमा असुरक्षित राख्नुभन्दा पतिको घरमा सुरक्षित होस्’ भन्ने सोचेर छोरी मायाको बालविवाह गर्न सहमत भइन् । अनि, एकलौटी निर्णयमा छोरीलाई एक युवकको जिम्मा लगाएर उनले पठाएकी हुन् । उनलाई यकिन छैन, सुरक्षित बनाउने चाहनामा विवाह गरेर पठाइदिएकी छोरीको जीवन बालविवाहकै कारण कतिसम्म असुरक्षित छ । न त उनले भविष्यमा हुनसक्ने यस्ता समस्याबारे चासो नै राखेकी छिन् ।
उमेर पुगेर गरिएको विवाह पति पत्नीबीच जीउने आधार हो । एक अर्कामा सहयोग र सुखदु:खको साथी बनाउने सम्बन्ध हो विवाह । तर, विवाहकै कारण धेरै महिलाले यातनाको सिकार बन्नु परेको यथार्थ नेपाली समाजमा अझै छ । आमा पटकपटक घरेलु हिंसाको सिकार भएपछि बालिका स्वत: हिंसाभित्र पर्ने गरेका घटना अझै छन् । जसले गर्दा सबैभन्दा धेरै बालिकामा असर पर्ने गरेको पाइन्छ । अधिकांश किशोरीको विवाह उमेर नपुग्दै हुने हुँदा उनीहरूमा शारीरिक एवं मानसिक हिंसा थपिँदै गएको छ । बालविवाहकै कारण किशोरीहरू अध्ययनलाई बीचमै छाड्न मात्रै होइन, प्रजननसम्बन्धी रोगबाट समेत पीडित छन् । चितवनकी महिला अधिकारकर्मी मीना खरेल भन्छिन्– ‘आमाले भोग्नुपरेको यातनाका कारण अधिकांश बालिकाको जीवन बिग्रिएका घटना थुप्रै छन् ।’ हिंसाका घटना रोक्नका लागि भनेर सरकारले घरेलु हिंसा ऐन पनि ल्याएको छ । तर, उक्त ऐनले अझ महिलालाई पीडित बनाएको यस क्षेत्रमा काम गर्ने व्यक्तिहरूको भनाइ छ । उजुरी गर्दा यातनापीडित महिलालाई राहतको सट्टा अझ पीडा बढ्छ । शायद, त्यसैको परिणाम होला, घरेलु हिंसा नियन्त्रण ऐन बनेको तीन वर्षको अवधि पूरा भइसक्दा पनि जिल्ला अदालत चितवनमा अहिलेसम्म घरेलु हिंसाका मुद्दा दर्ता भएका छैनन् । अधिकांश घरेलु हिंसाका घटना कि त सम्बन्ध विच्छेद कि अंश मुद्दाका रूपमा कानुनी निकायमा जाने गरेको अधिवक्ता फूलमाया रानाभाट बताउँछिन् । जिल्ला अदालत चितवनमा पनि गएको वर्ष परेका तीन सय १६ मुद्दामध्ये ७५ प्रतिशत सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । मुद्दाका प्रकृतिले नै पनि हिंसा सहन गर्न नसकेपछिको अन्तिम विकल्प सम्बन्ध विच्छेद हुने गरेको अधिवक्ता रानाभाटको तर्क छ ।
अहिले अन्तर्राष्ट्रिय रूपमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेको छ । घरलाई शान्ति राख्नेदेखि लिएर शून्य सहिष्णुताको समेत नारा समेटेर सहर बजारका होटलमा कार्यक्रम पनि सञ्चालन भइरहेका छन् । गैर सरकारी संघसंस्थाले अझ बढी महिलाका नाममा अन्तरक्रिया गरेर ठूलो रकम खर्चिरहेका छन् । तथ्यांकमा हिंसा बढे, घटेका संख्या पनि आइरहेका छन् । तर, हिंसा भित्रको भित्री कारण खोज्नतर्फ भने संघसंस्थाको ध्यानाकर्षण भएको देखिँदैन । तथ्यांकको आधारमा मात्रै हिंसा विरुद्धका कार्यक्रम सञ्चालन हुने कारणले गर्दा महिला हिंसा न्यूनीकरणमा सहयोग पुगेको देखिँदैन । यसको अर्थ आमा हिंसाबाट उम्किन नपाउँदै उसको परिवारकी अर्की बालिकाको लागि हिंसाको बाटो तय भइसकेको हुन्छ ।

प्रतिक्रिया